उदयपुरको पूर्वी पहाडी गाविस मैनामैनी जातीय छुवाछुतमुक्त घोषित

बिदुर कटुवाल/उदयपुर, जेठ ३१,विभेद बिरुद्ध अभियान  । उदयपुरको पूर्वी पहाडी गाविस मैनामैनी जातीय छुवाछुतमुक्त गाविस घोषित भएको छ । दलित एकता समाज मैनामैनीको अगुवाईमा गाविसलाई जिल्लाकै पहिलो छुवाछुतमुक्त गाविस घोषित गरिएको हो ।
गाविस कार्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि तथा जातीय मुक्ति समाजका केन्द्रीय सदस्य गिरीलाल परियारले मैनामैनी गाविस छुवाछुतमुक्त घोषित गरे । कार्यक्रममा परियारले सामाजिक अपराधको जरा गाडेर रहेको छुवाछुतजस्तो कुप्रथालाई हटाउन दलित अगुवा मात्र नभएर सबै समुदाय एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

अधिकांश जनसंख्या राई समुदाय, विश्वकर्मा तथा परियार जातिको बसोबास रहेको मैनामैनी यो कदमबाट जिल्लाकै पहिलो जातीय छुवाछुतमुक्त घोषित गाविस बन्न पुगेकोे स्थानीय सुरेन्द्र राईले बताए ।
उनका अनुसार विगत एकवर्षयता गाविसलाई छुवाछुतमुक्त घोषणा गर्न दलित एकता समाजले बिभिन्न संघसंस्था र गाविससँगको साझेदारीमा अभियान चलाउँदै आएको थियो ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत गाविसका अधिकांश बासिन्दाको बाक्लो सहभागिता रहेको आयोजक समाजका अध्यक्ष गगन विश्वकर्माले बताईन् । गाविसको दलित लक्षित वर्गअन्तरगत बिनियोजित बजेटबाट सञ्चालित अभियानको अन्त्यस्वरुप गरिएको कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्दै दीगो र स्थायी बनाउदै लान आगामी दिनमा निरन्तर अनुगमन गर्ने गाविस सचिव लोकेन्द्र कार्कीले बताएका छन् ।
२०२१ सालको मुलुकी ऐनमै जातिको आधारमा कसैलाई छुवाछुत गर्न नपाइने कानुनी व्यवस्था भएको नेपालमा २०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ । सो दिनको स्मरण गराउँदै देशव्यापी छुवाछुतमुक्त कार्यक्रम गर्ने सिलसिलामा मैनामैनीलाई छुवाछुतमुक्त गाविस घोषणा गरिएको हो ।

No comments:

Post a Comment