अम्बर गुरुङः अन्तरजातीय बिहेका कारण परिवारबाट विस्थापित थिए

२६ जेठ, काठमाडौं- विभेद बिरुद्ध अभियान   । बरिष्ठ संगीतकार स्व.अम्बर गुरुङ अन्तरजातीय विवाहका कारण परिवारबाट टाढिएको र त्यही क्रममा दार्जीलिङ छाडेर नेपाल प्रवासमा आएको एकजना लेखकले दाबी गरेका छन् ।
भारतबाट प्रकाशित हिमाल दर्पणमा बुधबार दिवाकर प्रधान(काशी)ले लेखेका छन्- ‘परिवारको आग्रहविरुद्ध बिहा गर्नुभएको हुनाले बा-आमादेखि टाढा बस्दाबस्दै उहाँ नेपाल प्रवासमा लाग्नुभएको कुरा उहाँका पुराना दाैंतरीहरुले भन्नुभएबाट थाहा लाग्दछ ।’
बरिष्ठ संगीतकार गुरुङले रणजीत गजमेरकी दिदी नातापर्ने बीना गजमेरसँग प्रेम विवाह गरेका थिए । त्यसबेलाको समयमा गुरुङले गरेको यस्तो सहासिक अन्तरजातीय विवाह एउटा ठूलो विद्रोह थियो ।
गुरुङको परिवार शिक्षित थियो, बुबा पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । आमा संगीतकी प्रेरणा थिइन् । तर, शिक्षित परिवार हुँदाहुँदै पनि अम्बरको अन्तरजातीय विवाहलाई सुरुमा परिवारले स्वीकृति दिएन ।
भारतीय मूलका नेपाली
स्व.गुरुङ सन् १९६९ मा भारतीय नागरिकबाट नेपाली नागरिक बनेको प्रधानले हिमालयन दर्पणमा लेखेका छन् । गुरुङको नागरिकताबारे प्रधान लेख्छन्- ‘१९६२-१९६५ सम्म दार्जीलिङमा पश्चिम बंगाल सरकारको लोक मनोरञ्जन शाखाका प्रमुख संरक्षक रहनुभयो । १९६९ मा भने भारतीयदेखि नेपाली बन्नुभयो । हाम्रा प्रसिद्ध प्रवासी भारतीयमध्ये उहाँ पहिल्यै परिगणित हुने प्रतिभा हुनुहन्छ । यसरी उहाँ भारतीय नेपाली हुनुभयो । भारतीय मूलका नेपाली ।’
‘अम्बरको ख्यातीसँग दार्जीलिङ जोडिएको छ’
यसैवीच अम्बर गुरुङको निधनले दाजीलिङ, सिक्किम र सिलिगुडी लगायतका स्थानमा रहेका भारतीय नेपालीभाषीहरु समेत शोकमग्न बनेका छन् ।
दार्जीलिङका गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङले शोक वक्तव्य जारी गर्दै भनेका छन्- महान् संगीतकार अम्बर गुरुङ नेपाली ससारबाट अस्ताउनु भनेको समग्र नेपाली संगीत जगतलाई सूर्यग्रहण लाग्नुजत्तिकै हो । नौलाख तारा, सम्हालेर राख लगायत सैयौं चर्चित अनि कालजयी गीतहरुमा धून भर्ने उनी महान् संगीतकारमात्रै थिएनन्, तर सफल गायक, गीतकार, चित्रकार अनि साहित्यकार पनि थिए । उनको बहु आयामिक प्रतिभाले नै महान् कलाकारहरुको पंक्तिमा उभ्याएको छ, जसको श्रद्धामा समग्र नेपालीहरुको शीर झुक्ने गर्दछ ।’
विमलले आफ्नो शोक वक्तव्यमा भनेका छन्-‘भौतिक शरीर नष्ट भएता पनि नेपाली समाजमा छरिराखेको उनको कीर्ति सदैव अमर रहिरहनेछ ।

अम्बर गुरुङको निधनप्रति दार्जीलिङबासीले मात्रै होइन, सिलिगुडीमा रहेका नेपाली भाषी एवं साहित्यकारहरुले पनि शोक वक्तव्य जारी गरेका छन् । भारतबाट प्रकाशित हु्ने नेपालीभाषाको पत्रिका हिमालय दर्पणले लेखेको – उनको ख्याती प्राप्तिसित दार्जीलिङ गाँसिएको छ ।
अनलाइन खबर बाट

No comments:

Post a Comment