मृत्युसँग लडिरहेका गायक छत्र परियारको जीवनरक्षाको अनुरोध

पेट चिरेर बनाइएको अस्थायी मलद्वार
उदय जीएम, काठमाडौं ,बैसाख ३० - विभेद बिरुद्ध अभियान । गायक तथा सञ्चारकर्मी छत्र परियार यतिबेला भक्तपुर क्यान्सर अस्पतालमा मृत्युसँग लडिरहेका छन् । जिल्लाको अत्यन्त विकट र पिछडिएको राजपुर– ९ भौवानाकाका स्थायी वासिन्दा गायक छत्र परियार चरम आर्थिक संकटमा पनि अस्पतालको बेडमा जीवन खोजिरहेका छन् र मृत्युलाई जित्ने साहस सँगाल्दै छन् । आर्थिक विपन्नतासँग लडिरहेका उनैलाई “जो होंचो उसको मुखमा घोंचो” भनेझैं मृत्युले पनि पछ्याउन थालेपछि उनले सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका दानी मनका धनीहरुलाई आग्रह गरेका छन् ।
नाका क्षेत्रबाट प्रकाशित हुने “नाका आवाज” द्वैमासिकका सम्वाददाता र गायक छत्र परियारलाई बीपी मेमोरियल क्यान्सर अस्पताल चितवनमा रोगको पहिचानका लागि २ पटकसम्म बायोस्पी गरिएको थियो । दुईपटकसम्म पनि रोगको पहिचान हुन नसकेपछि बैशाखको पहिलो सातामा तेस्रोपटक गरिएको बायोस्पी रिपोर्टबाट उनलाई क्यासर भएको पत्ता लागेको थियो । अस्पतालका डा. गंगा सापकोटाको टिमले केमो थेरापी र रेडियो थेरापी सँगसँगै गर्नुपर्ने बताएको र चितवनमा रेडियो थेरापी मेसिन बिग्रिएकाले उनलाई भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गर्नुपर्ने डाक्टरहरुको सल्लाहअनुसार त्यहाँ भर्ना गरिएको हो ।
 यही बैशाख १७ गते भक्तपुर क्यान्सर अस्पतालमा भएका गायक छत्रलाई बैशाख २२ गते पहिलो केमो चढाइएको थियो । प्रत्येकपटक केमो चढाउँदा १६ हजार ८ सय ९३ रुपैयाँ खर्च हुने र प्रत्येक १५ दिनमा केमो चढाउनुपर्ने अवस्था रहेको अस्पतालका डा. सुदीप श्रेष्ठले बताए । भक्तपुर अस्पतालमा डाक्टर सुदीप श्रेष्ठ र डा. रोशन श्रेष्ठको टिमले गायक परियारको उपचार प्रक्रिया हेरिरहेको छ ।
उनको उपचारमा अहिलेसम्म करीव २ लाख भन्दा बढी खर्च भइसकेको उपचारमा खटिएका नाका आवाज द्वैमासिकका शान्तकुमार बुढामगरले जानकारी दिए । बुढामगरका अनुसार यतिबेलासम्म आफन्त र शुभचिन्तकहरुको सहयोगले उपचार चलिरहेको छ । अहिलेसम्म जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दिएको सहयोग १ लाख रुपैयाँले उपचार खर्च चलिरहेको छ । उनको उपचारका लागि करिब २० लाख भन्दा बढी लाग्ने डाक्टरहरुको अनुमान छ । १२ वटा केमोको मात्रै २ लाख खर्च हुने र रेडियो थेरापी र पटकपटक अपरेशन समेत गर्नुपर्ने डा. श्रेष्ठले बताए । कमजोर आर्थिक अवस्थाका कारण बीचमैमा उपचार रोकिने त होइन भन्ने चिन्ता परिवारमा छाएको छ ।
“झर्छन् आँसु बल्झिन्छ मनको घाउ

तिम्रो याद मेटाउन कहाँ जाऊँ ?
मठमन्दिरमा गछ्र्यौ भाकल
लाखौं कोसिस गर्दा नि तिम्लाई भुल्न सकिन
निरमाया तिम्ले भुल्दा भाछु पागल”

यस्ता कर्णप्रिय गीतमा आवाज दिएका गायक तथा सञ्चारकर्मी छत्र परियारको जीवन रक्षाका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि सबैमा आव्हान गरेको छ । त्यस्तै स्वदेश तथा विदेशमा रहेका दानवीरहरुले पनि सहयोग गर्ने क्रम जारी रहेको छ । “झर्छ आँसु बल्झिन्छ मनको घाउ” बोलको भावुक गीत पनि गाएका छत्रले भने, “गीत गीतै हो तर कहिलेकाहिँ आफैमाथि गीतका शव्दहरु बर्सिने रैछन् । अझै पनि मृत्युसँग लडिरहेको छु । आश मारेको छैन किनकि सहयोगी मनका धनीहरु थपिदै जानु भएको छ ।”
हुन पनि हो । आफ्नो लागि त जनावर र पशुपंक्षी पनि बाँचेकै हुन्छन् । अरुको लागि जिउनु पो जिन्दगी ! “एक थुकी सुकी, सय थुकी नदी” भन्ने त उखानै छ । मृत्युको मुखैमा रहेका गायक एवम् सञ्चारकर्मी छत्र परियारलाई जीवन दिने कि ?
पहिलो पेज बाट

No comments:

Post a Comment