बाटोमुनिको फूल २’ले उठाएको बहस :-गणेशकुमार राई

बैशाख २२,विभेद बिरुद्ध अभियान- नेपाली फिल्ममा बहस चलिरहेको छ, ‘अफ बिट’ र तथाकथित ‘मूलधार’बीचको । यसै मेसोमा बनेको एउटा फिल्मको विम्बात्मक र काव्यिक नाम हो, ‘बाटोमुनिको फूल २’ ।
माथिको बहसमा ‘बाटोमुनिको फूल २ लाई कुन धारको फिल्म मान्ने ?’ यस सन्दर्भमा सापेक्षित दृष्टिकोणको अपरिहार्यता छ । ‘अफ बिट’ र ‘मूलधार’को सन्दर्भमा फिल्म निर्देशक नवीन सुब्बाले दिने गरेको तर्कअनुसार भन्ने हो भने बाटो मुनिको फूल ‘अफ बिट’को फिल्म हो । कारण, फिल्मी बजारले जुन धारलाई ‘मूलधार’ भनिरहेको छ, नेपालको सन्दर्भमा त्यो अफ ट्र्याकमा हिँडिरहेको छ । किनभने फिल्ममा उठान गर्नुपर्ने विषयवस्तु, त्यसको कथ्य संरचना इत्यादि यहाँको जीवनशैली वा यहाँ बसोवास गर्ने आम समुदायको जीवनदर्शन वा विश्वदृष्टिकोण वा दलित सौन्दर्य विपरीत छ । वर्तमानको टड्कारो विषयलाई उठान गरिए पनि ‘बाटोमुनिको फूल २’ पुरानै फम्र्याटमा बनेको फिल्म हो ।
दलित शब्दप्रति वितृष्णा
फिल्ममा ‘दलित’माथि भइरहेका सामाजिक भेदभावलाई उठान गरिएको छ, जो अति सम्माननीय छ । तर, स्वयं ‘दलित’ शब्दसँग असहमति प्रकट गरिएको छ । फिल्मको एक पात्रले भन्छ, ‘मलाई दलित नभन, मलाई मान्छे भन, मान्छे ।’ 
‘जात–जातको कुरा नगरौं’ भन्ने भावना सैद्धान्तिक रुपले मानिए पनि नेपालको मौलिक धरातलमा उभिएर हेर्ने हो जातीय समस्या विकराल छ ।
‘दलित’ शब्द अन्यायविरुद्धको आन्दोलनबाट विकसित शब्द हो । दलितको अर्थ अन्यायको विरुद्धमा आवाज बुलन्द गर्नु वा हामीमाथि अन्याय भएको छ भनेर विद्रोह गर्नु हो, र यो साझा परिचय पनि हो । यस शब्दलाई लिएर फिल्ममा आफूहरुलाई ‘दलित हौं’ भनेर दाबी गर्नुपर्ने हो, अझै हेपिनुपर्छ भनेर होइन, आफ्नो अधिकारको लागि विद्रोह गर्ने अर्थमा ।
उक्त पात्रले दलित शब्दसँग अपमानबोध गर्नु भनेको अहिले दलितहरुले गरिरहेको मुक्ति आन्दोलनसँगको असहमति पनि हो । जो समयको संघर्षमय गतिबाट पछि हट्ने कदम हो । मान्छे नभई दलित हुँदैन, त्यसैले आफ्नो पहिचान जोगाउने र समानताका लागि आन्दोलन वा विद्रोह गर्ने हो भने ‘दलित’ शब्दमाथि दाबी गर्न सक्नुपर्दछ, जो सधैँ हेपिनु वा हेपिएरै रहने अर्थमा नभई मुक्ति र मौलिक पहिचानको पक्षमा उभिन्छ ।
यु टर्न चरित्र
चर्चित मुक्ति ब्याण्डका मुख्य गायक सुरेश (यशकुमार)ले गीत गाउन छोडेपछि रेडियो जक्की प्रकृति (आशिष्मा नकर्मी)लाई कार्यक्रम प्रस्तुतिमा व्यवधान खडा हुन्छ र बाध्यताले सुरेशलाई खोज्न निस्कनुपर्ने हुन्छ ।
सुरेश नेपाल बाको नाति हो, जो नेपाल बाको छोरा राम (दिलिप रायमाझी) र दलित महिला जुनेली (ऋचा शर्मा)को कोखबाट जन्मन्छ । राम छुवाछूतविरुद्ध आफ्नै परिवारमा विद्रोह गर्ने तथाकथित उच्च जातको युवा हो । दलित आमाको कोखबाट जन्मिएकाले गाउँबाट टाढा लगेर हुर्काउने नेपाल बाको आदेशअनुसार सुरेशलाई काभ्रेमा हुर्काइन्छ र ऊ मुक्ति ब्याण्डका घगडान गायक बनेर निस्कन्छ । उक्त ब्याण्डका अर्का गायक बाबु बोगटी हुन् ।
फिल्ममा रामले परिवारसँग विद्रोह गरेर दलित महिलासँग अन्तर्जातीय विवाह गर्छ । तर, उसले यस सन्दर्भमा लैंगिक विभेदप्रति पनि ध्यान दिएको भए अझ सुन्दरता थपिने थियो ।
जीवनमा समाज परिवर्तनका गीत गाउँदा गाउँदा थाकेका सुरेशलाई प्रकृतिले काभ्रेमै भिक्षुको रुपमा फेला पार्छे । प्रकृतिको ध्येय सुरेशलाई पुनः गायन क्षेत्रमा सक्रिय तुल्याउनु रहे पनि भिक्षु सुरेश आफ्नो बाटो मोड्ने पक्षमा देखिँदैन ।
तर, स्तुपामा तपस्या गरिरहेको बेला आफ्नै अगाडि विदेशी महिला पर्यटकसँग केही युवाले प्रकट गरेको अभद्रताले सुरेशलाई केवल मूर्ति भइरहन दिँदैन र ती युवाहरुसँगको टक्करले सुरेश पुनः रगतको खेल खेल्नसम्म तयार हुन्छ । भिक्षु बनेको सुरेश फेरि रगतको खेल खेल्न तयार हुनु यु टर्न नै हो ।
कोरा राष्ट्रवादको गन्ध
फिल्ममा समानताको कुरा गरिएको छ । तर, समानताको नाममा राजा महेन्द्रको राष्ट्रवादलाई नै निरन्तरता दिइएको छ । ‘हिमाल पहाड तराई, कोही छैन पराई’को भाव प्रस्तुत गरिएको फिल्मले पहिचानको मुद्दालाई ‘इग्नोर’ गरेको छ । आफ्नै आँगनमा इनार बनाउने हिम्मतलाई यसले क्षीण बनाइदिन्छ ।
अनेक विषय ‘बाटोमुनिको फूल २’ले बहसका लागि उठाएको छ । एउटा फिल्म अनेक प्रश्न उठाउन र बहस गराउन सफल हुनु कम महत्वपूर्ण पक्कै होइन ।
उत्पीडित समुदायको मुद्दालाई फिल्ममार्फत अझ मजबुत बनाउनुको साटो यसले कमजोर तुल्याएको छ । ‘जात–जातको कुरा नगरौं’ भन्ने भावना सैद्धान्तिक रुपले मानिए पनि नेपालको मौलिक धरातलमा उभिएर हेर्ने हो जातीय समस्या विकराल छ । यस अर्थमा जातीय मुक्तिको मुद्दालाई मध्यनजर गर्दै केवल मान्छे हुनु र नहुनुको अर्थ रहँदैन ।
धार्मिक–लैंगिक उत्पीडन

फिल्ममा हिन्दु धर्मप्रति चिन्ता व्यक्त गरिएको छ । हिन्दु धर्मलाई अवलम्बन गर्नु वा नगर्नु कुनै पनि व्यक्तिको नैसर्गिक अधिकार हो, तर फिल्मको दृश्यले हिन्दु धर्म मासिँदै गएकोमा चिन्ता व्यक्त गरिनुले दलित समुदायमाथिको उत्पीडनलाई निरन्तरता दिनुपर्छ भन्ने आशय प्रस्तुत गर्दछ । किनभने हिन्दु धर्ममा रहेको वर्णव्यवस्थाकै कारण दलितहरु उत्पीडनमा परेको तथ्यलाई बिर्सनु हुँदैन ।
फिल्ममा रामले परिवारसँग विद्रोह गरेर दलित महिलासँग अन्तर्जातीय विवाह गर्छ । तर, उसले यस सन्दर्भमा लैंगिक विभेदप्रति पनि ध्यान दिएको भए अझ सुन्दरता थपिने थियो । मन्दिरको पूजारीले रामको बिहे दलित महिलासँग गराइदिन अस्वीकार गरेपछि राम आफैले जुनेलीलाई सिन्दुर हालिदिन्छ । त्यसपछि जुनेलीले घोप्टिएर कालो बुट लगाएको रामको खुट्टा ढोग्छ । यसबेला राम निस्फिक्री खुट्टा ढोगाइरहन्छ जसले लैंगिक विभेदलाई उदार भावले हेरिएको भान हुन्छ ।
यस्ता अनेक विषय ‘बाटोमुनिको फूल २’ले बहसका लागि उठाएको छ । एउटा फिल्म अनेक प्रश्न उठाउन र बहस गराउन सफल हुनु कम महत्वपूर्ण पक्कै होइन ।

इसमता बाट 

No comments:

Post a Comment