मुस्लिम तथा दलित समुदायमा परिवार नियोजन गर्नुपर्छ भन्ने चेतना बढ्दै

विभेद बिरुद्ध अभियान, जेठ ५ , गौर: मुस्लिम समुदायका महिलाहरू पछिल्लो समय परिवार नियोजनका बारेमा खुलेर कुरा गर्न थालेका छन्। 
 सखुवाधमौरा गाविसका डोम, पासवान, मुसहर जातिका दलित तथा मुस्लिम समुदायका महिलाले परिवार नियोजनका स्थायी तथा अस्थायी साधन प्रयोग गर्न थालेका छन्। सोही गाविसकी मली डोमले २४ वर्ष नपुग्दै तीन सन्तान जन्माएपछि सल्लाह अनुसार स्थायी बन्ध्याकरण गरिन्। गरिबीका कारण सार्वजनिक जमिनमा झुपडी बनाएर बस्दै आएकी उनले परिवार नियोजन गरेपछि गाउँका अन्य महिलाले पनि परिवार नियोजन गर्न थालेको उनको भनाइ छ। रैजीका ४० वर्षीय सुरेन्द्र मली डोमले धेरै छोराछोरी जन्माउँदा पालनपोषण गर्न समस्या हुने भएकाले श्रीमतीलाई परिवार नियोजन गर्न लगाएको बताए।
उनीजस्तै गाउँकै पाँच सन्तानकी आमा ४० वर्षीया मेघिया मली डोम र अर्की पाँच सन्तान की ३५ वर्षीया सीता मली डोमले पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न थालेका छन् । सीताले भनिन्, 'पहिले हामीलाई परिवार नियोजन गर्नु हुँदैन, रोग लाग्छ भन्ने भ्रम थियो, पछि सबै कुरा बुझेपछि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने गरेकी छु।'
धमौरास्थित पासवान टोलमा ५० घरभन्दा बढी पासवान जातिको बसोवास छ। टोलका अधिकांश महिलाले स्थायी तथा अस्थायी परिवार नियोजनका साधन प्रयोग गरेको सरस्वती महिला समूहकी अध्यक्ष पार्वतीदेवी पासवानले जानकारी दिइन्।
मुस्लिम समुदायमा पनि यस्को असर प्रत्यक्ष परेको छ। यहाँका महिलाले भने, 'छोराछोरी बढीमा तीन, नभए दुई भए पुग्छ।' टोलकी सहिदा खातुनले अस्थायी साधन प्रयोग गर्दै आएकी छन्। ३० जना मुस्लिम महिला सहभागी रहेको समूहकी अध्यक्ष रोक्सना खातुनले भनिन्, 'परिवार नियोजनका बारेमा गाउँमा हामी खुलेर कुरा गर्छौ, पहिलेजस्तो अवस्था छैन।'
दलित तथा मुस्लिम समुदायका महिलालाई प्रजनन स्वास्थ्य र परिवार नियोजनका बारेमा जानकारी दिएपछि परिवार नियोजन गर्ने महिला बढ्दै गएको साहस नेपालकी गुडुकुमारी चौधरीले बताइन्। तराई-मधेसमा पछिल्ला वर्षहरूमा मुस्लिम तथा दलित समुदायमा परिवार नियोजन गर्नुपर्छ भन्ने चेतना बढेको छ।
परिवार नियोजनका बारेमा श्रीमान्हरूले पनि समर्थन र सहयोग गर्न थालेको चाँदतारा महिला समूहकी कोषाध्यक्ष हसिमा खातुनले बताइन्। छलफल केन्द्रबाट परिवार नियोजनका फाइदा जानेपछि श्रीमान्लाई सम्झाउन सजिलो भएको महिलाहरूको भनाइ छ।
साहस नेपालले रौतहटको सखुवाधमौरा, वि श्रामपुर, वसन्तपुरलगायतका गाविसका दलित तथा मुस्लिम टोलमा महिला सचेतनाका लागि ३६ वटा छलफल केन्द्रमा ६ सयभन्दा बढी महिलालाई सहभागी गराई बाल संरक्षण, प्रजन्न स्वास्थ्य, परिवार नियोजन, गुणस्तरीय शिक्षाका विषयमा हरेक दिन छलफल हुने गरेका छन्।
दलित तथा मुस्लिम समुदायका महिलाले केही वर्षअघि ५ देखि १० सन्तान जन्माउने गरेका भए पनि पछिल्ला समयमा धेरै परिवर्तन आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

अन्नपूर्ण बाट 

No comments:

Post a Comment