दलित समुदायका युवाहरु पत्रकारितामा अबसर खोज्दै

धरान, विभेद विरुद्ध अभियान ,जेष्ठ -९, सञ्चारद्वारा जातीय विभेद मुक्त समाज निर्माण गर्ने उद्देश्यसहित आवाज मिडिया ग्रुपले जेठ ६ देखि ८ गतेसम्म धरानमा पत्रकारिता तालिम सम्पन्न गरेको खवर  महाप्रतिवादमा प्रकाशित भएको छ । 
    कोशी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक पवन प्रसाद खरेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सो तालिम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मिन विश्वकर्माबाट सांसद कोष तथा जिल्ला विकास समिति सुनसरीको सहयोगमा आयोजना गरिएको आवाज मिडिया ग्रुपका सचिव गणेश परियारले जानकारी दिएका छन् ।  
 तालिममा ४० जना दलित युवाहरुलाई लक्षित गरी आयोजना   गरिए पनि ४५ जना सहभागि भएका छन् । आफुमाथि भएको जातीय विभेदको अन्त्य गर्न सञ्चार माध्यमबाट धेरै सहज हुने भन्दै पत्रकारिताप्रति आफुहरुले भविष्य खोजीरहेको सहभागिहरुले बताएका छन् । तालिममा धरान,    चतरा, बराहक्षेत्र, इटहरी लगायतका क्षेत्रबाट युवायुवतीहरु सहभागि भएका हुन् । तालिममा केही आदिवासी जनजाती युवायुवतीहरुको पनि सहभागिता रहेको थियो । उनीहरु पत्रकारिताका विषयमा बुझ्न र काम गर्न समेत इच्छुक रहेको भन्दै तालिम उपलब्धी मुलक भएका बताएका छन् । 
 तालिमको पहिलो दिन उद्घाटन पछिको सम्पूर्ण भाग पत्रकार तारा लामगादेले लिएका थिए । दलित कसरी बनाइयो ?, अधिकार प्राप्तिको बाटो के हुनसक्छ ?, संविधानबाट प्राप्त अधिकारलाई कसरी उपयोग गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिँदै शुरु भएको तालिममा सञ्चारको विकासक्रम, पत्रकारिताको इतिहास र महत्व, समाचार संकलन र लेखन जस्ता विषयमा प्रशिक्षार्थीहरुलाई सिकाएका थिए । 
 त्यसैगरी दोस्रो दिन आवाज मिडिया ग्रुपका अध्यक्ष विजय अछामीले मानव अधिकार र पत्रकारिता, मर्निङ टाइम्सका पत्रकार दिनेश गजमेरले    रेडियो पत्रकारिता, दन्तकाली एफएमका समाचार वाचक तिर्थ कार्कीले प्रभावकारी समाचार वाचनका विषयमा प्रशिक्षण दिएका थिए । 
 तेस्रो दिन वरिष्ठ पत्रकार हर्ष सुब्बाले पत्रकारिता र अनुभव, कृति टेलिभिजनका संवाददाता मोहन श्रेष्ठले टेलिभिजन पत्रकारिताका विषयमा प्रशिक्षण दिएका थिए । 
      लक्षित समुदाय दलितहरुका समस्या सञ्चार माध्यमसम्म आउन नसकेको र समाधानको बाटो खोज्नसमेत समस्या परेकाले सोही समुदायमा लक्षित कार्यक्रम गर्न पाएकोमा खुशी लागेको सांसद मिन विश्वकर्माले जनाएका छन् । कार्यक्रम सम्पन्न गर्न विशेष भूमिका निर्वाह   गरेका अखिल नेपाल फुटबल संघ      (एन्फा)का उपाध्यक्ष तथा नेपाली कंग्रेस धरानका पूर्व सभापति किशोर राईले आदिवासी जनजातिहरुको पहिचानको मुद्दालाई सहयोग गर्न दलित समुदायले समेत आफ्नो पहिचान खोजी गर्न सहज बनोस् भन्ने उद्देश्य राखिएको बताए । दलित हुँ भनेर आत्माग्लानी र हिनताबोधलाई त्यागेर गर्वका साथ जिउनु पर्छ भन्ने चेतनाको विकास गर्न तालिम गरिएको बताए ।

No comments:

Post a Comment