जनयुद्धका जगतबहादुर विश्वकर्मा कतारको भूमिमा पसिना बगाउदै

जेठ १२, कतार । जनयुद्धमा लडेर देश परिवर्तनका लागि बलिदान गरेका जगतबहादुर विश्वकर्मा अहिले कतारको भूमिमा पसिना बगाइरहेका छन् ।
मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय उनी अहिले चर्को गर्मीमा रगत समानका पसिना बगाइरहेका छन् ।
बाग्लुङ नपा–९, बाग्लुङका विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए ।अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तातो फलामको काम गर्दै विगतलाई सम्झने उनका क्रान्तिका सपना मरुभूमिमा छरिएका छन् ।
विश्वकर्मा जनयुद्धकै क्रममा बाग्लुङमा दुई महिना हिरासतमा रहँदा प्रहरीकोे यातना भोगेर कष्टकर जीवनबाट बाँचे पनि युद्धमा लागेर सहिद र बेपत्ता परिवारको सपना तुहिएकोमा निकै दुखित छन्।४७ वर्षे विश्वकर्मा पार्टी सरकारमा गयो, अवसर टाठाबाठाकै लागि भयो तर हामी अशिक्षित र वृद्धका लागि कुनै योजना नल्याएकोमा दुखेसो गरे ।
बालबच्चाको लालनपालन र शिक्षा दिनका लागि भए पनि १४ वर्षदेखि प्रवासमा सङ्घर्ष गरेको उनले बताए ।युद्धको समयमा उनी विशेषतः हतियार, बन्दुकलाई गन्तव्यमा पुर्याउने, कार्यकर्तालाई सेल्टर दिने, खान–बस्नको व्यवस्था गर्ने र छापामारलाई जेलमा रहेका र निस्किएकालाई भगाउन अहोरात्र खटिन्थे ।
त्यसैले, उनी पटक पटक प्रहरीको निसानामा रहिरहन्थे र परिवारले समेत यातनाको सिकार भए ।कतार प्रवेशसँगै उनी पार्टी आस्थावान् निकट रहेर जनप्रगतिशील मञ्चको स्थापनामा समेत सक्रिय रहेका थिए ।
हाल मुटुसम्बन्धी विमारले च्याप्दै जाँदा उनी महिनाभरिको कमाई आफैँलाई औषधि उपचार गर्दा ठिक्क भएको भन्दै भक्कानिए ।दलितको अधिकार प्राप्ति हुनेछ भन्ने लागेर नै मनमा ठूलो आशा पलाएको थियो त्यो बेला, तर आज नेताहरु नै तितर बितर हुँदा पार्टीले जनभावना बुझ्न नसकेकोमा आफू निराश भएको उनले बताए ।

No comments:

Post a Comment