दलित भएकै कारण विचल्लीमा परेकी विभुति,न्यायका लागि भौतारिदै

०७३ जेठ ५, विभेद बिरुद्ध अभियान ।रुपन्देही जिल्लाकी विभुति विश्वकर्माले  १० वर्षअघि प्रमोद अग्रहरीसँग अन्तर्जातीय विवाह गरिन् । तर अहिले आएर  उनले मेरी श्रीमती होइनन् भनेपछि विभुति विचल्लीमा परेकी छन् । आफूहरूले मुम्बईको मन्दिरमा विहे गरेको उनी बताउँछिन्, तर  प्रमोदले यो कुरा अस्वीकार गर्दै आएका छन् । विभुतिले आफू दलित भएकै कारण प्रमोदको परिवारले आफूलाई नस्वीकारेको र प्रमोदले नभित्र्याएको आरोप लगाएकी छिन् । प्रमोदले भने  विभुतीसँग आफ्नो साथीको मात्र सम्बन्ध रहेको जिकिर गर्दै आएका छन् । विभुति आफू अन्यायमा परेको भन्दै न्यायका लागि बिभिन्न निकायमा धाइरहेकी छिन् । उनले राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमानेको उनी बताउँछिन् । जिल्ला प्रहरी प्रमुख नवलपरासीका राजेन्द्रप्रसाद चौधरीले पाँच वर्षअघि विभुतिले काठमाडौं जिल्ला प्रशासन कार्यलय र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेको र सो उजुरीको आधारमा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनमा यो मुद्दा अदालती प्रकृयामा जान भनेकोले उजुरी नलिएको दावी गर्छन् ।  उनले भने ‘यो अब प्रकृयागत रुपमा अदालत जानुपर्ने भएकोले उजुरी नलिएको हो ।’  प्रहरी उपरिक्षक चौधरीले उनीहरूबीच छुवाछुतको नभइ केटाले स्वीकार नगर्दा विवाद भएको बताउँछन् । 
मलाई घात भयोः विभुति विश्वकर्मा
 ‘सम्बन्ध विश्वासले अडेको हुन्छ । मैले मेरो प्रेमलाई विश्वास गरें उनले घात ।’ मैले एकोहोरो चोखो माया गरिरहे उनले मलाई आफ्नो फाइदाका लागि प्रयोग गरिरहे । मैले यसको सुँइकोसम्म पाइनँ । एसएलसी दिएर परिवारसहित भारतको दिल्लीमा बसेको मेरो परिवार । नेपालमा व्यक्तिगत काम लिएर आएका बेला म्युजिक भिडियोमा खेल्न आएको प्रस्तावलाई अवसरको रुपमा स्वीकारेँ, खेलेँ पनि । यहि म्युजिक भिडियो खेल्ने क्रममा सहकर्मीको रुपमा प्रमोद अग्रहरीसँग मेरोे भेट भएको हो । सँगै म्यूजिक भिडियो खेल्ने क्रममा भेट भएपछि उनले २ वर्षपछि राखेको प्रेम प्रस्ताव परिवारको सल्लाह लिएरै स्वीकारेकी थिएँ ।
म सानो जातको भए कै कारण उनले विहे गरेर मलाइ लान सकेनन् । उनको परिवारले मलाई स्वीकारेन । वर्षौँ विहे गर्ने प्रलोभनमा पारेर मेरो आर्थिक, यौन शोषण गरिरहे । उनले मेरो परिवारलाई विश्वास दिलाउन आफ्नी माइली भाउजु पनि दलित नै भएको कुरा बताए  । यही विश्वासमा परी मेरो उनको दिल्लीमै इन्गेजमेन्ट भयो । त्यो इन्गेजमेन्टले पनि मेरो आमा बुवालाई ढुक्क हुन दिएन । पटक पटक मेरो परिवारले गरेको विहेको प्रस्तावलाई उनले घर परिवारलाई मनाएर डोलीमा राखेर भित्र्याउने  भन्दै आलटाल गरिरहे । घर परिवारलाई मनाउने प्रयास गरिरहेको छु भनिरहे  । तैपनि मेरो आमाबुवाले हाम्रो विवाहको कुरा गर्न छोड्नुभएन । त्यसपछि उनले हामी मन्दिरमा विहे गरौं । पछि  घरबाटै विहे गरौँला भनेपछि हामीले मुम्बईको एक मन्दिरमा विहे गर्यौ सँगै बस्यौँ । यसअघि पनि हामी मेरो परिवारसँगै प्रमोद दिल्लीमा बस्ने गर्थे । हामी त्यहा बस्दा पनि नाटक खेल्थ्यौं । हामीले दिल्लीमा पटक पटक सँगै नाटकमा राधाकृष्णको रोल गरेका छौँ । मलाई भित्रयाउन अनुरोध गर्दा उनले नेपालमा आफ्नो घर नभएकै कारण समस्या भएको बताए । अनि हामीले घर सल्लाह गरेर नेपालमा घर बनाउने निर्णय गर्यौं ।  घर बनाउने सम्पुर्ण जिम्मेवारी प्रमोदलाई दिने भयौँ । त्यसका लागि मेरो आमाबुवा प्रमोदसँगै नेपाल आउनुभयो । म र मेरो दुईटा भाई भारत मै थियौँ ।
रुपन्देहीको देवद नगरपालिका वडा नम्बर ८ मा हाम्रो घर बनाउन शुरु भयो । यो सबै प्रमोद कै सहयोगमा भईरहेको थियो । यसबीच प्रमोदलाई ‘उमा’ चलचित्रमा अभिनय गर्न प्रस्ताव आयो । प्रमोद चलचित्रको सुटिङमा हिडेें । घर बनिसकेको थिएनँ । अहिलेपनि घर लथालिँग छ । बस्नलाई त्यहीँ बस्छौँ । पानीपर्दा चुहिन्छ । खर्च के कत्ति भयो थाह छैन । प्रमोदले खर्चको विवरण दिएनन् । घर बनाउनका लागि उनलाई करिब १७ लाख रुपैयाँ जत्ति दिएका छौँ । तर त्यो प्रमाण हामीसँग  छैन । हामीले उनलाई विश्वास गरेको कारण कागज गरेर पैसा दिनुपर्छ भन्ने सोचेनौँ । भाईले कतारबाट प्रमोदको नाममा पठाएको ४ लाख रुपैयाँको मात्रै बिल छ । उमा चलचित्रमा भुमिका पाएपछि उनले मलाई बेवास्ता गर्न थाले  । मैले लाख कोशिश गर्दा पनि उसँग सम्पर्क गर्न नसकेपछि उमा चलचित्रकी नायिका रिचा शर्माको सहयोगमा काठमाडौंको सिभिल मलमा प्रमोदलाई भेटेँ । रिचाले प्रमोदलाई धेरै सम्झाएपछि त्यो दिन उनले मलाई होटेलमा लगेर राखे । होटेलमा पुगेपछि उनको बुवाले मेरो जात कै कारण नस्वीकारेको र घरमा भित्र्याउन नसक्ने भन्दै रुँदै माफी मागे । मैले म तिमीबिना बाँच्न सक्दिन भनेपछि उनले फकाउँदै माइतीमा बस म फेरि मेरो परिवारलाई सम्झाउँछु र तिमीलाई भित्र्याउँछु भने । यति भनिसकेपछि म फर्केर गएँ । फेरी उनी सम्पर्कविहीन भएे ।  म उनलाई खोज्दै फेरी काठमाडौं आँए । बल्ल बल्ल उनको कोठा चाबहिलमा पत्ता लगाएँ । त्यसपछि म उनकै कोठामा जबरजस्ती बस्न थालेँ । उनले मलाई छोडेर जान भन्दे धेरै शारीरिक तथा मानसिक यातना दिन थाले ।
उनले सुटिङमा जानुछ भनेर अर्कै कोठा लिएर बसेछन् । यो कुरा मैले करिव २ महिनापछि थाहा पाएँ । म चाबहिलको कोठा छोडेर जान सकिनँ । ३ महिनाको भाडा तिर्न बाँकी थियो । मसँग खानेसमेत पैसा थिएन । घरबेटीले घरभाडा मागे । मसँग उपाय थिएन । त्यतिकै बसिरहेँ । भएको लत्ताकपडा त्यहीँ छोडेर प्रमोदको अर्को  कोठामा गएँ । त्यहाँ पनि उनले मलाई  छोड्न  धेरै भने ।  म बसिरहेँ । मैले त्यहीँ बस्दा अत्याचार सहन नसकेर प्रहरीलाई गुहार मागें । प्रहरीले उनलाई एक रात लगेर थुन्यो । अब केही नगर्ने सर्तमा छोड्यो ।  फिल्मको सुटिङ छ भनेर उनी छोडेर गए । केही सिप नलागेपछि म प्रमोदको नवलपरासी घरमै गएँ । म त्यही बस्न थालेँ । त्यहाँ उनको दाई गेष्ट हाउस सन्चालन गरेर बसेका छन् । उनको दाईले मलाई गेष्टहाउसमा गएर बस म प्रमोदलाई बोलाउँछु अनि भित्र्याउला भनेर म त्यहा गएकी हुँ । त्यहाँ बस्दा मैले सबै काम गर्थे । भाडाँ माझने, सफा गर्ने । म तीन महिना म कामदार जस्तै भएर बसेँ । तरपनि दाईले प्रमोदलाई बोलाएनन् । मैले प्रमोदलाई बोलाउन भन्दा उ सुटिङमा व्यस्त छ भनेर टारे ।  फेरि मैले प्रहरीमा उजुरी गरेँ । त्यसपछि म आफ्नो घरमा गएर बस्ने सक्ने अवस्था पनि भएन । म प्रहरीकै पुनस्थापना गृहमा गएर बसेँ । १५ दिन पछाडी प्रहरीले तपाँई जानुपर्छ भनेपछि म माइत आएर बस्न थाँले ।  मैले राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी गरेँ । मानव अधिकार आयोगले नवलपरासीको मानव अधिकार आयोग र प्रहरी प्रशासनसँग समन्वय गरेर मिल्ने सर्त राखेर हामी मिल्यौँ । प्रमोद र मेरो सम्बन्धको कारण मेरो बुवा मुुटु रोगी हुनु भएको छ ।
मैले न्याय पाउने कि नपाउने ? मलाई प्रमोदले मेरो श्रीमती होे भन्नेमात्र स्वीकारे हुन्छ । अरु मलाई केही चाहेको होइन  । बस मैले उसको साथ मात्र खोजेको हो । मैले स‌ंगीत विषयमा भारतमै स्नातक गरेकी हुँ ।  याे कारणले मेराे भविष्य लथालिङ्ग भयाे ।

मेरो प्रेम उनीसँग भएकै हैन : प्रमोद अग्रहरी
 ‘जो सँग प्रेम हुन्छ उसँग बेइमानी गर्दा विश्वासघात हुन्छ । हामीबिच प्रेम नै थिएन, म कसरी विश्वासघाती भएँ ?’ थाह छैन विभुतीले मेरो किन यत्ति धेरै पिछा गरिरहेकी छन् । हो उसँग मेरो साथीको सम्बन्ध धेरै लामो समयसम्म रह्यो । हामी एकअर्काका कुरा साट्थ्यौँ केवल साथीको नाताले । हामी म्युजिक भिडियोमा सँगै काम गर्दा पहिला भेट भएको थियो । उ इन्डियामा बस्थ्यो । म नेपालमा अभिनय क्षेत्रमा संघर्ष गर्दै थिएँ । उ  पासपोर्ट बनाउन नेपाल आउँदा फेरि हाम्रो भेट भयो । त्यसबेलादेखि हाम्रो सम्बन्ध अलि नजिक भएको हो । उनी इन्डिया फर्केको केही समयपछि मलाई फोन गरेर नाटक खेल्न मन भए यहाँ आउ अवसर छ, हामी एउटा नाटक गर्दैछौं भनेर बोलाइन् । म गएँ । नाटकमा  सँगै काम गर्‍यौं । म उनैको घरमा उनको परिवारसँगै बसें । म ७, ८ वर्ष आउने जाने गर्थें । इन्डिया आउने जाने क्रममा म विभुतीको घरमा नै बस्ने गर्थें । हामी साथीको रुपमा नै एकअर्कालाई लिन्थ्यौं । यसबिचमा विभुतिको अफेयर पनि चलिरहेको थियो ।
एक जना काठमाडौं कै नविन भन्ने केटा थियो । मलाई नविनसँग विभुतिले नै परिचय गराएकी थिइन् । विभुति त्यतिबेला नविनसँगै बस्ने गर्थिन् । पछि उसँग उसको ब्रेकअप भएको पनि उनी आफैँले मलाई बताएकी थिइन् । उनले हरेक कुरा मसँग नलुकाएर साथीको रुपमा भन्थिन् । मैले उनलाई र उनले मलाई परेको बेला सहयोग गर्ने  गथ्र्यौं । मैले यसलाई सामान्य रुपमा लिएँ । साथी भनेको नै यस्तै हो भन्ने लाग्यो । उनको घर बनाउँदा पनि मैले सहयोग गरेको हुँ । मिस्त्री खोज्ने, बालुवा, ईटाँ झार्दिने काममा सहयोग गरिदिएको हुँ। उमा चलचित्रबाट अभिनयका लागि मलाई अफर आएपछि सघाउन नभ्याएको हो । मैले उहाँहरूको एक रुपैयाँ पनि खाएको छैन । उनको भाईले घर बनाउने पैसा पठाउँदा मेरो नाममा चार लाख रुपैयाँ पठाएको हो । त्यो पैसा मैले उनका बुवालाई दिएँ । तर, एक्कासी आएर म तिमीसँग बस्छु भन्दै उनी आइन् । उनी मसँग जवर्जस्ती बस्न अाइन । त्याेबेला मैले यहाँ नबस जाउमात्र भनेको हुँ । अरु केहि यातना दिएकाे छैन । मैले हामीविच प्रेम नै नभइ कसरी विवाह गर्ने भन्दै आएको छु । मानव अधिकार आयोग र प्रहरीसँग बसेर छलफल भएर मिलिसकेको मुद्दा हो यो । खै किन हो उनले फेरी यो मुद्दा ल्याउँदैछिन् । उनीसँग मिलेर बस्न त सम्भवै छैन ।

महिला खबर बाट

No comments:

Post a Comment