२७ बैशाख २०७३,विभेद बिरुद्ध अभियान हामी एक्काइसौं शताब्दिको आधुनिक सभ्य मानव हौँ भनी नाक त फुलाइरहेछौँ तर यस धर्तीको पहिलो मानव (वैदिक सनातन धर्मानुसार) “मनु” को जति मानवीय संवेदना पनि आज हामी भित्र पाइदैँन। यस पृथ्वीमा उपलब्ध सम्पूर्ण मान्छेहरुको भौतिक तथा रासायनिक बनावटमा रतिभर पनि फरक छैन। मानवीय संवेदना, बुद्धि, बल जस्ता कुराहरु पनि कुनै एक जात विशेषको अधीनस्थ छैन। बुद्धिमानी, बलिष्ठ या मुर्खता जुनसुकै जातमा पनि हुनसक्छ। तर हामी यो जात सानो उ जात ठूलो भनी किन वर्गीकरण गरिरहेछौँ ? के एउटा सार्कीको रगत अर्को ब्राह्मणको शरीरमा मेल खाँदैन र ? मेल खान सक्छ, यदि रक्त समूह एकै प्रकारको भएमा; त्यो त स्वाभाविक रुपमा एकै प्रकारका रक्त समूह भएका मानिसहरु हुन सक्छन् तर त्यहाँ जातले फरक पार्दैन। एउटा ब्राह्मणलाई चोट लाग्दा पीडा हुन्छ भने अर्को दमाईलाई पनि त्यस्तै पीडा महसुस हुन्छ । शारीरिक रुपले, मानसिक रुपले या भावनात्मक रुपले हामी एकै प्रकारका छौँ भने स्वाभाविक रुपमा हामी सम्पूर्ण मानवको जात एउटै हो”मानव”। त्यसैले त सनातन वैदिक शास्त्रमा उस समयमा नै स्पष्ट भनिएको छ; जन्मना जायते शुद्र, कर्मणा द्विज उच्चते।।
अर्थात जन्मिदा सबै शुद्र भएर जन्मन्छ,पछि उसको कर्मको आधारमा चाहिँ ब्राह्मण ( द्विज ) उच्च वर्ण ( जात ) प्राप्त गर्दछ। द्विज= एकै जन्ममा दुई पटक जन्मेको (संस्कारको आधारमा ) अर्थात् आमाको गर्भबाट प्राकृतिक रुपमा एकपटक जन्म लिएपछि उसले धारण गरेको ब्राह्मण कर्मलाई शास्त्रानुसार संस्कारित ( पुन जन्म ) गरेपछि उ द्विज अर्थात उच्च वर्गको ब्राह्मण हुन्छ। शास्त्रानुसार जन्मदैंमा उसको वर्ण निर्धारित हुँदैन पछि उसले गर्ने कर्मानुसार शुद्र, क्षेत्री, वैश्य वा ब्राह्मण जो पनि हुन सक्छ। तसर्थ उच्चस्तरको ब्राह्मण बन्न उसको वंशको जातले फरक पार्दैन । अझ सबैले बुझिने भाषामा भन्नुपर्दा एउटा कामी, सार्की, दमै, नेवार, क्षेत्रीको कुलमा जन्मेर ब्राह्मण ( द्विज ) बन्नसक्छ,यदि उसले ब्राह्मण बन्ने कर्म गर्दछ भने त्यसरी नै ब्राह्मण बन्ने कर्म गर्दैन भने ब्रह्माणको छोरो भए तापनि उसको कर्मानुसार क्षेत्री, वैश्य,शुद्र हुन सक्छ। उपरोक्त कुराहरुलाई मनुस्मृतिको निम्न श्लोकले अझ प्रष्ट्याएको छ।
।।शुद्रो,ब्रह्मान्दतामेती,ब्रम्हान्सचैती शुद्रतम।।
।।क्षेत्रीयजज्जात्मेवन्तु विद्यदं विस्यत्तथैवच।।
(मनुस्मृति १०:६५)
हो, हाम्रो समाजमा विद्यमान ब्राह्मण ( पुरोहित ) हरुले शास्त्रमा बताइएको भन्दै धर्मको नाममा विभिन्न प्रकारका कुरीति,अन्धविश्वासहरु सदियौँदेखि यजमानहरुमाथि थाेपरिरहेका छन्। उनीहरु गलत नहोलान् जे सिकाइयो, जे बुझाइयो त्यसलाई नै सत्य मानेर मानिसहरुलाई स्वर्गको लोभ नरकको त्रास देखाइरहेका छन्।आज हाम्रो सनातन समाजमा अन्धविश्वास र कुरीतिले जरा गाडेर अति भइसकेको छ। तर यथार्थमा यस्ता मानव अहितकारी अतिवाद सनातन धर्मको मूल सूत्रमा छैनन्।यद्यपि कतिपय अतिवाद समर्थकहरुले बुझेर या नबुझेर सत्य मानी स्वीकारिरहेको अवस्थालाई पनि नकार्न सकिन्न। त्यसो त यस्ता मानव अहितकारी या एउटा वर्गको पक्षपोषण गरी तयार गरिएका सूत्रहरु प्रशस्त पाइन्छ।हो,यहाँ बुझ्नुपर्ने यसको कारण पक्कै छ।
भनिन्छ, अति प्राचीन समयमा वैदिक सनातन धर्मसूत्रको प्रादुर्भाव भएको हो। महर्षि व्यासको समयलाई मात्र आधार मान्दा पनि लगभग छ हजार बर्षभन्दा बढी बितिसक्यो। यति लामो समयको अन्तरालमा विभिन्न कालखण्डमा टाठाबाठा वर्गहरुले सधैं आफू शासक बनिरहन आफू अनुकूल सूत्रहरु तयार गरिएको हुन सक्छ। कालान्तरमा त्यही सूत्रहरु नै धार्मिक नियम बनेको हुन सक्छ,अन्यथा सनातन धर्मशास्त्रको मूलधारलाइ पकड्दा त्यहाँ त केवल मानव कल्याणकारी सूत्रहरु मात्र प्राप्त हुन्छ र त शास्त्रमा भनिएको छ,”मनुर्भव” अर्थात मनुष्य बन।
एक्काइसौ शताब्दिको सभ्य मानव;जीवदेखि वनष्पतिसम्मको अधिकार सुरक्षित गर्न अन्तर्राष्ट्रियस्तरमा वकालत गरिरहेको समय हो। कल्पना गरौँ त एउटा पशु कुकुरलाई हामी आफ्नो चुलोदेखि ओछ्यानसम्म जाने अधिकार दिन्छौँ तर त्यही मानिसले आफू जस्तै मानिसलाई अछूत मान्नु के यो धर्म हुन सक्छ त ? जसलाई अछूत भनियो, उसको मनोभावनामा हामीले कति ठूलो चोट पुर्यायौँ होला ? यो सबै केवल बकवास हुन, यो कदापि धर्म होइन, यो मानवीय व्यवहार होइन। सायद समयको कुनै कालखण्डमा सनातन धर्म सिद्धान्तलाई गलत सिद्ध गर्न रचिएको प्रपंच हुन सक्छ । जसलाई कुनै वर्ग हितको स्वार्थमा जानाजानी स्वीकार गर्दै शासक बनेको हुनसक्छ । कालान्तरमा त्यही अहितकारी कुरीतिहरुले सनातन धर्मको मूल सिद्धान्तलाई ओझेलमा पारिदियो; परिणाम वर्तमानमा यस्ता कुरीति र अन्धविश्वास नै सनातन धर्म फैलावटमा बाधक बनेर खडा भइरहेको छ।
हो, अब ढिला भइसकेको छ,कथित छुवाछुत र कुरीतिहरुलाई सनातन धर्म अनुरुप शुद्धीकरण गर्नु आजको आवश्यकता हो। यस्ता मानव अहितकारी कुरीति र अन्धविश्वासलाइ निर्मुल पार्न समाजले विश्वास गरिएका सनातन धर्म गुरु ब्राह्मणहरु नै अग्रसर हुनु पर्दछ। तसर्थ, सनातन परम्परामा स्वीकारी आएका मानव अहितकारी सूत्रहरुलाई त्यागी शास्त्रमा बताइएका मानव कल्याणकारी सूत्रहरुको व्यापक उपयोग गरी सम्पूर्ण हिन्दु समाजमा नयाँ युगको स्थापनार्थ क्रान्तिकारी छलाङ्ग मार्न हाम्रा पुजनीय गुरु आचार्य ( ब्राह्मण ) हरुले नै साहस जुटाउनु पर्ने अपरिहार्य भइसकेको छ। नमन।
ओमकार दर्पण बाट
No comments:
Post a Comment