चलचित्र ‘बाटोमुनीको फूल २’लाई बुटवलमा सम्मान

रूपन्देही, २७ बैशाख,विभेद बिरुद अभियान । जातीय छुवाछुतलाई मुख्य विषय बनाई निर्माण गरिएको चलचित्र ‘बाटोमुनीको फूल २’का निर्माता, नायक एवम् गायक यशकुमार बुटवलमा सम्मानित भएका छन् ।
आईतबार रुपन्देहीका विभिन्न संघसंस्थाले बुटवलको भ्यू सिनेमामा चलचित्रको विशेष प्रदर्शनीसहित चलचित्र निर्माता यशकुमार सहित नायिका अशिष्मा नकर्मीलाई सम्मान गरिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले सम्मानपत्र र दोसल्ला ओढाएर बाटो मुनीको फूल २ र निर्माता यशकुमारलाई सम्मान गरेका हुन् ।
समाजमा वषौंदेखि जरा गाडेको जातीय छुवाछुतको विषयलाई ठूलो पर्दामा उतार्नु निकै चुनौतीपूर्ण रहेको भन्दै कलाकारलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै निर्माता एवम् गायक यशकुमारले कुनैबेला आफु एक्लै भएको महसुस गरेपनि अहिले धेरै नेपालीको साथ रहेको बताए । उनले समाज परिवर्तनका लागि काम गर्ने हरेकलाई सम्मान गर्नुपर्ने बताए । कोही पनि जातको आधारमा ठूलो सानो नहुने बताउँदै निर्माता यशले मानव भएर बाँच्न चाहेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सेन्चुरीले अझै पनि जातीय छुवाछुत रहेको भन्दै त्यसको कथा यशकुमारले बाटोमुनीको फूलमा उतारेको भन्दै अब विभेदको सामना डटेर गर्ने बेला आएको बताए ।
कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य जोगलाल विश्वकर्मा, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले चलचित्रले हाम्रै समाजको कथा समेटेको भन्दै कलाकारको प्रोत्साहनका लागि सम्मान कार्यक्रम गर्नु निकै राम्रो भएको बताए ।
सुनचाँदी व्यवसायी संघ बुटवल शाखा अध्यक्ष दीपक कुमार विश्वकर्माले कलाकारलाई समाज परिवर्तन गर्ने विषयमा चलचित्र निर्माण गर्न प्रोत्साहन मिलोस भनेर बुटवलका दलित समुदाय आबद्ध व्यवसायिक र सामाजिक संघसंस्थाहरु मिलेर सम्मान गरिएको बताए ।
सुनचाँदी व्यवसायी संघ बुटवल शाखा मुल आयोजक तथा सुनचाँदी व्यवसायी महिला समाज बुटवल, विश्वकर्मा महिला समाज, एस.के समाज रुपन्देही, परियार सेवा समाज रुपन्देही, नेपाल स्वतन्त्र सिलाई व्यवसायी समिति, दलित पत्रकार संघ नेपाल, दलित महिला संघ बागेश्वरी संगीतालय बुटवल सहआयोजनामा कार्यक्रम गरिएको हो ।

No comments:

Post a Comment