विभेद बिरुद अभियान , जेठ १ – यकिनका साथ भन्न नसके पनि पत्रकारिता गर्छु भन्ने अठोटका साथ कदम बढाएको पनि आधा दशकभन्दा बढी भइसकेछ । यो समयमा संघर्षरत मानवजातिसँग गसिप बनेका उनीहरुका मनभित्रका अन्तरंगलाई पानामा उतारेको पनि छु । कतिका दबिएका समस्यालाई उजागर गरेर हाईहाई पाएको छु भने कसैकसैले मेरो डटेर लेखेका कलमका मसिसँग जुध्न नसकेर जिन्दगीनै अन्त्य गरिदिन्छु भनेका पनि छन् । जो साथी आज हामीसँगै छन् देखेमा आँखासम्म जुधाउन सक्दैनन् ।
संयोग म व्यक्ति विशेषमा कलम चलाउन प¥यो भने उसको केही समय भए पनि आफ्नै तरिकाले अध्ययन गर्छु । जसले गर्दा पाठकले खोजेका कुराहरु पस्किन सक्छु कि भन्ने मेरो ध्यान हुन्छ । कसैले भने भन्दैमा त्यसलाई हुबहु आफनो लेखनकला बनाउन चाहन्न । सायद ममा आफ्नै लिँढेढिपी होला कि ?
एक हप्ताभन्दा लामो समयसम्म नै घोत्लिन बाध्य बनायो मलाई उनले कोरियामा गरेका महत्वपूर्ण काम जसले नेपाली र नेपाललाई चिनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिएका ती पथहरुलाई पछ्याउनका लागि । भर्खर ३२ बसन्त पार गरेकी ती चेली आज नेपालमा जन्मिएर त्यही स्नातकोत्तरसम्म अध्ययन गरी शिक्षण पेशालाई जबजस्त लात हानी किन कोरियालाई कर्म घर बनाउन आईन ? उत्तर खोज्नु थियो । अनि उनका संघर्षरत जिन्दगीका पाठहरुले कोरियामा आत्महत्या गर्न तम्सिनेलाई ज्ञान अनि आत्महत्या गरेका आत्मलाई पश्चाताप हुने अपेक्षाका साथ म उनीसँग अन्तर्वार्ताका लागि तम्तयार भएर आफ्ना प्रश्नको भारी उनीमाथी बजारिरहें ।
अहिले म उनको नाम लिएर उनको बारेमा सबैलाई चिनाउन चाहन्न । जो गोप्यतामा नै रहोस् यो उनको अनुरोध भनौं या बाध्यता । किनकी उनी भाबुक हुँदै भन्छिन्– हिजोको त्यो घटनाक्रम कसैले सम्झाई दिए पनि मलाई असहज महशुस हुन्छ ।
छ वर्षसम्म प्रेम गरें मैले उसँग निस्वार्थ भावका साथ । मेरो माईतीको थर परियार थियो मैले ढाँटिन । उ पनि मलाई जातीयताको नजरले हेर्दैनथ्यो । मैले बारम्बार उसलाई सम्झाईरहन्थें । भोलि मेरो कारणबाट तिमी तिम्रो परिवार अनि समाजसँग जुध्न सक्दछौ भने मात्र मलाई स्विकार गर नत्र नगर भनेर । अहँ उ म बिना बाँच्न सक्दिन भन्दथ्यो भने जस्तोसुकै समस्यासँग नी जुध्न तयार छु उसका कथन थिए । मैले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छु । उ पढाईमा म भन्दा अली पछाडि थियो । जे भए पनि उ मेरो जिन्दगीको असली हिरो थियो । म उसलाई कहाँ छोड्न सक्थें र ? त्यही पनि म अवसर भने दिइरहन्थें कतै मेरो कारणबाट तिमीमा केही समस्या छ भने भन । अहँ उ मान्न तयार थिएन । मैले यहि समाजमा जिउँन अझ सहज होस् भन्ने अभिप्रायले दुबै जना अष्ट्रेलिया जाने योजनासहित अघि बढें । प्रक्रिया पूरा भए जाने पक्का भयो ।
उफ् ! छोड्दिनुस् आखिर सात समुन्द्रपारी मैले कर्मघर बनाईछाडे अब विगत खोतलेर के होला ? उनी भावुक भईन । मैले ढाड्स दिँदै भने असहज केका लागि ? एकछिन्को मौनतासँगै उनले भनिन् सबै प्रक्रिया पुरा गरेर अष्ट्रेलिया जाने समयमा उसलार्ई परिवारबाट दबाद आयो रे । मसँग जिन्दगी बिताउने योजना रहेमा घरपरिवारमा आमाले आत्महत्या गर्छु भन्नुभयो रे । सरि तिमी र ममा जे थियो र जे भयो ति सबै भुलि देऊ कति सजिलै भन्यो उसले !
हुन त म मेरो रहरले परियार थरमा जन्मिएकी पनि होईन । मेरो शरीरको रगत रातो नभएको पनि होईन । आफूलाई उच्च जातको मान्नेहरुभन्दा पढाई कमि पनि थिएन । तर पनि मलाई छुवाछुत र जातीय कारणले बनाइएको हिनताबोधले मैले सिकाउने शिक्षा पनि छुवाछुत होला भन्ठानेर शिक्षण पेशा त्यागें, भौतारिएँ आफूलाई चोख्याउँन तर मैले ढाँटिन । त्यै पनि मैले सकिन छुवाछुतको दुरि हटाउन । जसले गर्दा मलाई कोरिया ल्याईपु-यायो त्यो चोटले । म चाहन्छु केही गरुँ । गरेकी पनि छु सबैले भन्दछन् । यहाँ नेपालकी छोरी मलाई गर्व पनि छ तर पश्ताचाप म मा धेरै के छ भने त्यहि भूमिमा छोरी बुहारी बन्ने शौभाग्य मिलेन । मलाई अटाउने ठाउँ दिएन समाजले ।
खोई मैले केही सोध्नै सकिन मन पनि ढक्क फुल्यो । म छु हजुरका लागि अबका दिनमा यदि सहयोग चाहिएमा मैले गर्न सक्ने म गर्न तयार छु भन्नु शिवाय । तर म आफुलाई आफैंबाट हिनताबोध भयो ।
कोठामा आएँ, फेसबुकबाट उनको प्रोफाईल हेरे । म आफू उच्चजातको कहलिनेका तस्बिर भन्दा उनकै राम्रा थिए । म स्नातकसम्म अध्ययन गरेको छु उनी स्नातकोत्तर अध्ययन गरेकी छन् । अहिले कोरियामा धेरै उनले गरेका सिर्जनात्मक कामको प्रशंसा हुन्छ । हाम्रो हुँदैन ।
झलझली सम्झिरहेको छु उनको संघर्षको ब्यथा ओकलेको अनुहारलाई । आखिर अवसर लिएर छाड्ने त्यो उच्च जातको दानवलाई भेट्न पाए हुन्थ्यो नी मनमा कताकता खुलदुली बढिरहेको छ । त्यो रातभरि निदाउँन पनि सकिनँ । हुन त मैले नेपाल गएको मौका पारी पोखरामा रहेको मेरो घरमा आउनका लागि निमन्त्रणा पठाएको छु । आज हरपल भाईबर खोलेर हेर्छु कतै उनैले त मेरो प्र्रस्तावलाई स्विकार गरेर त म्यासेज पठाईनन् । अनलाईन देख्छु तर प्रश्न गर्न सक्दिन ।
No comments:
Post a Comment