जेठ १ – यूएई । १९ महिनाअघि यूएई आएकी गौरादह झापाकी विपना नेपालीसँग अनेक सपना थिए । तर, शुक्रबार उनी स्वदेश फर्किँदैछिन् तीनै सपनाहरुको लाशमा टेक्दै ।
सारजहाको एक क्लिनिङ कम्पनीमा काम गरिहेकी विपना तीन महिनादेखि बेरोजगार छिन् । त्यसो त राम्र्रै काम गरिरहेकी थिइन् । एकाएक आमा बिरामी भएको खबर आयो । आफ्नो आठ वर्षीय छोराको पालनपोषण र रेखदेख गरिरहेकी उनकी आमा बिरामी भएपछि उनले व्यवहार मिलाउन घर जानैपर्ने भयो ।
उनले कम्पनी व्यवस्थापनसँग १० दिनको छुट्टी मागिन् । तर, कामदारको अभाव देखाउँदै छुटटी दिन मानेन । लाख बिन्ती गर्दा पनि छुट्टी मिलेन । कम्पनीलाई काम प्यारो, विपनालाई आमा ।
आमा बिरामी भएको अवस्था, छोराको बिजोग, आफू परदेशमा बन्दीसरह भइन् । तनावै तनावबीच ड्यूटी जान छाडेपछि विपनालाई कम्पनीको व्यवस्थापनले वेवास्ता गर्यो ।
दमकी रोगी विपनाकी आमा नेपालमै दिनदिनै थलिँदै गइन् भने यूएईमा रहेकी विपना पीडाले सुक्दै गइन् । कम्पनीले न त घर जानलाई पासपोर्ट दिन्छ न त काम दिन्छ ।
स्मरण रहोस्, स्थानीय र श्रम कानुनले कामदारलाई राहदानी (पासपोर्ट) आफैसँग राख्ने अधिकार दिए पनि ९५ प्रतिशत कामदार त्यो सुविधाबाट वञ्चित छन् । अधिकांश कामदारहरुको पासपोर्ट कम्पनीमा रहेका कारण भनेको समयमा कामदार आफ्नो मुलुक र्फकन पाउँदैनन् भने अन्य अवसरहरु समेत प्राप्त गर्न सक्दैनन् ।
काममा नगएपछि विपना एकाएक बेरोजगार बनिन् । कोठामै बसेर पीडादायी दिनहरु बिताउन थालिन् । सामान्य कामदारको कम्पनी म्यानेजमेन्टसँग सिधा सम्पर्क हुन्न । अन्योल, डर र आर्थिक अभावका कारण कम्पनीको कार्यालयसम्म धेरै कामदारहरु पुग्न सक्दैनन् । त्यस्तै भयो विपनालाई पनि ।
दिन, हप्ता र महिना गर्दागर्दै करिब ३ महिना काम र दामको अभावमा नेपाल जाने एक सुत्रीय मागका साथ विपना कोठामै बसिन् । धोर निराशा, पैसाको अभाव, बिरानो मुलुक, जताततै असहयोग, आमा र छोराको बिजोक सम्झँदै एउटा कोठामा बस्न विवश विपना डिप्रेसनको सिकार बनिन् । विकल्प केही नहुँदा आत्महत्या गर्नेसम्मका विचारहरु पलाए । तर, नाबालक टुहुरो छोराको अनुहार सम्झिदा आत्महत्या गर्न नसकेको विपनाले बताइन् ।
विवाहपछिको भुक्तमान
विपत्मा रहेका बेला उनले आफ्नो विगत सम्झिइरहेकी छिन् । १३ वर्षको उमेरमा नै कथित उच्च जात दाहाल थरका स्थानीय युवकको मायाजालमा परी विवाह गरेकी थिइन् । जाँडरक्सी खाएर श्रीमानले शारीरिक यातना दिन्थे । दिनमै चार-पाँच हजार कमाउने श्रीमानले सबै पैसा रक्सीमा सक्थे ।
बिहे गरेको चार वर्षपछि छोरा जन्मिएको र छोराकै उज्ज्वल भविष्यका लागि श्रीमानलाई बिदेश जान सुझाइन् उनले । तर, श्रीमानले आफ्नो कुरा नसुनेपछि आफै विदेश जाने योजना बुनिन् । श्रीमान्ले आफू पनि विदेश नजाने र उनलाई पनि जान नदिने अडान कसे ।
अन्ततः श्रीमान्को सहमति नभए पनि छोरालाई बोर्डिङ स्कुलमा पढाइलेखाइ गरी ठूलो मान्छे बनाउने सपना बुन्दै विपनाले विदेश जान तयार भइन् ।
विदेश जानलाई राहदानी बनाउन नागरिकता चाहिन्छ भन्ने सुनेपछि उनले श्रीमानलाई नागरिकता बनाइदिन आग्रह गरिन् । श्रीमान्ले विदेश जाने भए नागरिकता पनि नबनाइदिने बताए ।
उनले माइतीको सहयोगमा ‘अविवाहित’ को रुपमा नै नागरिकता हात पारिन् । यसका लागि करिब २ महिनासम्म पाएको सास्ती पनि कम छैनन् । नागरिकता पाएपछि राहदानी बनाइन् र उनी लागिन् घरेलु कामदारका रुपमा कुवेत ।
आठ महिनाको छोरो माइतमा छाडेर उनी कुवेत उडेको एक महिनापछि उनका श्रीमान्ले आत्महत्या गरेको सुनिन् । श्रीमान्को मृत्युको खबरले केही समय बिछिप्त बनिन् । नचाहँदा नचाहँदै आँसु बगे । तिनै आँशुहरुसँगै श्रीमान्का सबै दुर्गुणहरु बगे । समय बित्ने क्रममा यादहरु पनि बगे । अन्ततः उनी सामान्य जीवनमा फर्किन् ।
चार वर्ष कुवेत बस्दा कुनै समस्या भएन । चार वर्षमा एउटा घर बनाउन मिल्ने १० धुर जग्गा झापामा किन्न सकेको उनले बताइन् । कुवेतमा आफैं बिरामी परेपछि नेपाल फर्किएकी विपना फेरि १९ महिनाअघि यूएईको एक कम्पनीमा आएकी थिइन् । तर, उनले यूएईमा यसरी समस्यामा परिएला भन्ने कहिल्लै सोचेकी थिइनन् ।
ह्वाट्सएपले जुटायो सहयोग
विपतमा परेपछि कसैले सहयोग गरिदेलान् कि भन्ने आशा सबैलाई हुन्छ । तर, सहयोगी व्यक्तित्व र सामाजिक संस्थाहरुको सम्पर्कमा नरहेकी विपना एक्लै रुँदै बसिरहेकी थिइन् ।
यस्तै अन्योलतामा रुमल्लिरहेका बेला एक जना पश्चिम नेपालतिरका दाजु पर्ने व्यक्तिले विपनालाई यूएईमा रहेको झापाली समाजको सम्पर्कमा जान भनी सुझाए । उनले केही राहत होला भनी टेकबहादुर अधिकारीलाई आफ्नो समस्या रुँदै बताइन् ।
झापाली समाज, दुवई क्षेत्रीय कमिटीका उपाध्यक्ष अधिकारीले विपनाको समस्यालाई समितिमा राखे । त्यसपछि वास्तविकताको सोधखोज भयो । विपनाको समस्या समाजको आधिकारिक हृवाटसएप ग्रुपमा राखियो । सोही ग्रुपमा रहेका समाजका पदाधिकारीहरु, पत्रकार, व्यावसायी तथा सर्वसाधारण झापालीहरुबीच यो समस्यालाई कसरी समाधान गर्ने भनी छलफल चल्यो ।
समाजका प्रवक्ता राम ढुंगेलले सोही समयमा उनको समस्यालाई नेपाली दूतावासकी श्रम सहचरी हिरा यादवसमक्ष राखे । यादवले कम्पनीको सम्पर्क नम्बर माग्दै सक्दो सहयोग गर्ने बाचा गरिन् । प्रवक्ता ढुंगेलले उक्त समस्यालाई एनआरएए एनसीसी महिला संयोजक कल्पना राईसमक्ष पुर्याए । महिलाको मुद्दालाई गम्भीरतापूर्वक लिने राईले पनि कम्पनी मात्र नभएर नेपालको म्यानपावरसम्मै विपनाको मुक्तिका लागि पहल गरिन् ।
झापाली समाजका पदाधिकारीको सम्पर्कमा रहेकी विपनालाई सारजहामा बसोबास गरेका कारण क्षेत्रीय समिति सारजहाका अध्यक्ष रामकुमार राउत, उपाध्यक्ष विनिता विमली र सचिव रोहित भण्डारीले पनि विपनाको आत्मबल बढाउँदै लगे । गत ६ मेमा सारजहा क्षेत्रीय समितिले आयोजना गरेको भलिबल प्रतियोगितामा विपना उपस्थित भएर आफ्ना समस्या राखिन् । त्यसदिन झापाली समाजको तर्फबाट केही आर्थिक सहयोग पनि मिल्यो ।
एनआरएन र झापाली समाजको सहकार्यले गर्दा अन्ततः कम्पनी सहमतिमा आउन बाध्य भयो । उनलाई सारहजा क्षेत्रीय सचिव भण्डारीले हवाइ टिकट खरिदमा सहयोग गरे । आजीवन सदस्य मिना शर्मा, तारा खनाल लगायतले पनि सहयोग गरे । सारजहा क्षेत्रीय सचिव भण्डारीको आयोजनामा १२ मेमा भएको एक पार्टीमा सहभागीहरुले उनलाई आर्थिक सहयोग गरेको क्षेत्रीय कोषाध्यक्ष भरत बुढाथोकीले बताए । अन्ततः उनी यही १५ मे आइतबार बिहानै एयरअरेबियाको जहाजबाट अधुरा सपनाहरुमा टेक्दै नेपाल फर्कदैछिन् ।
थाहा छैन उनलाई छोरा कसरी पढाउने ? नेपालमा के गर्ने त्यो पनि सोच्न सकेकी छ्रैनन् । २६ वर्ष लागेकी उनी बाँकी जीवन कसरी बिताउने भन्ने अन्योल त छँदैछ । एकल महिलाले पाउने सामाजिक सुरक्षाभत्ता समेत पाउने उनको आधारहरु छैनन् । श्रीमान्को घरबाट उनले पाउने अंशको त नामनिशानै छैन । पढाइलेखाई छैन । आफ्ना मान्छे ठूलो ठाउँमा छैनन् । कुनै राजनीतिक पार्टीका झोला नबोकेकी विपनाले राजनीतिक लाभको कुनै पद वा राहत पाउने सम्भावना शून्य छ ।
केही महिनापछि विपना कुनै खाडी मुलुक जानका लागि नेपालकै कुनै म्यानपावर धाइरहेको भेटिइन् भने आश्चर्य नमाने हुन्छ ।
No comments:
Post a Comment