पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘संविधानसभामा दलित मुद्दा’ नामक कृति सार्वजनिक

काठमाडौँ, २४ वैशाख,विभेद बिरुद्ध अभियान - पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘संविधानसभामा दलित मुद्दा’ नामक कृति सार्वजनिक गरिएको छ । समता फाउण्डेसन र जागरण मिडिया सेन्टरले आयोजना गरेको कार्यक्रममा सभामुख ओनसरी घर्तीले पत्रकार दर्नालको कृति सार्वजनिक गर्नुभयो । रेडियो हिमालय र नेपाल क्रियटिभ हाउसले प्रकाशन गरेको पुस्तकमा पहिलो र दोस्रो संविधानसभामा उठेका दलितका मुद्दा, मिडियामा दलित मुद्दा र दलित आन्दोलनको इतिहासबारे समावेश गरिएको छ ।  
त्यसैगरी पुस्तकमा विभिन्न राजनीतिक दलसँग दलित समुदायसँग सम्बन्धित विषयमा केन्द्रीत अन्तवार्तालाई समेत समावेश गरिएको छ । पुस्तकलाई एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य विश्वभक्त दुलाल ‘आहुती’ र आदिवासी जनजाति अधिकारकर्मी युवराज राईले सम्पादन गर्नुभएको हो ।  सभामुख घर्तीले दलित समुदायको बारे अहिलेसम्म प्राप्त उपलब्धिलाई कार्यान्वयन र संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) का नेता छविलाल विश्वकर्माले दलित समुदायको बारेमा उपलब्धि नै भएको छैन भन्ने होइन, तर उपलब्धिलाई जोगाउनु मुख्य चुनौती हो भन्नुभयो । दलित आन्दोलनका अगुवा पदम सुन्दासले पुस्तकले बहसमा आएका दलित मुद्दा, संविधानले सुनिश्चित् गरेको र नगरेका पहललाई समेत समेटेको बताउनुभयो ।

No comments:

Post a Comment