२७ बैशाख २०७३,विभेद बिरुद्ध अभियान -
दलित समाजमा चेतना पैदा गरेर समाजमा परिवर्तन ल्याउने कैयौँ उपाय वा मार्ग देखिन्छन् । तर, यदि दिशा सही नभएको खण्डमा कैयौँ कोस अघि बढे पनि लक्ष्य हासिल हुनेमा कुनै ग्यारेन्टी हुँदैन । मध्यकालीन भारतमा अधिकांश सुफी सन्त तथा भक्त कविहरूले सबै मानिस भगवान्का सन्तान हुन् भने मानिस–मानिसमा यस्तो भेदभाव किन भनेर समानताको बिगुल बजाए । यस अभियानमा तुकराम, कबिरदास, रहिम, रामानन्द, गुरु घासीदास, रविदास आदि महापुरुषले मायाप्रेमको सन्देश फैलाउने कोसिस गरे । यसबाट समाजमा दबिएका, किचिएका, हेपिएका र होच्याइएका वर्गमा विश्वास पैदा भयो ।
जो गैरदलित थिए, उनीहरूमा जातपात एवं छुवाछुत मानव निर्मित हो भन्ने चेतना पैदा गर्नु जरुरी थियो । जो दलित समुदाय गाउँको किनारामा बस्थ्यो, उनीहरूलाई ‘उच्च वर्ग’ भनिने समुदायका मानिस छुनसम्म चाहन्नथे । साथमा बसेर खानपिन गर्नु त टाढाकै कुरो भयो । मध्यकालीन सन्त तथा कविको आन्दोलनबाट परिवर्तन आयो र मानिस कमसेकम प्रवचनको समयमा सँगसँगै बस्नसम्म लागे । सन्त कबिरदासका विचार अरूको तुलनामा क्रान्तिकारी थिए, तर उनले कुनै सांगठनिक व्यवस्था गरेनन्, जसले उनका विचारलाई समाजमा फैलाउन सकोस् । गुरु नानक देवले व्यावहारिक काम गरे । उनले आफ्नो विचारलाई संस्था तथा सेवकका रूपमा परिवर्तित गरे र सिख धर्मको जन्म भयो । किन्तु दलितहरूको शासनसत्तामा सहभागिता कहिल्यै प्राप्त भएन ।
मानवतावादी धारामा स्वामी दयानन्द, स्वामी विवेकानन्द, महात्मा गान्धी, लाल डेजस्ता महापुरुष आए । उनीहरूले छुवाछुत समाप्त गर्ने सन्देश दिए । दयानन्द सरस्वतीले सबै जाति आर्य भएको बताए । उनको भनाइबाट प्रभावित भएर अधिकांश दलितले आफ्नो नामको अगाडि आर्य लेख्न सुरु गरे । गान्धीजीले छुवाछुतलाई पापको दर्जा दिए । तर, उनी पनि जाति व्यवस्था कायमै राख्ने पक्षमा थिए । विवेकानन्दले दलितमाथिको भेदभाव यदि बन्द भएन भने उनीहरू जुन दिन जाग्छन्, त्यतिखेर उनीहरूले सबैलाई नामेट पारिदिन्छन् भन्दै सवर्ण समाजलाई कडा चेतावनी दिए । तर, उनले पनि न त दलित समुदायको शिक्षाका लागि नै कुनै व्यवस्था गरे न शासनसत्तामा सहभागिताका लागि कुनै कदम नै उठाए ।
यसै क्रममा अमेरिका तथा युरोपको कल्याणकारी आन्दोलनबाट प्रभावित भएर समाजवादले समाजमा स्थान बनायो । १९१७ मा रुसमा भएको बोल्सेभिक क्रान्तिको प्रभाव भारतमा पनि पर्यो, जसबाट १९२० मा भारतीय कम्युनिस्ट पार्टीको गठन भयो । यस पार्टीको क्रान्तिकारी विचार आर्थिक जगत्मै सीमित थियो, जब कि दलितको पीडा मुख्यत: सामाजिक तथा धार्मिक पक्षसित जोडिएको थियो । यमन राय, पण्डित राहुल संकृत्यायन, श्रीपाद डाँगे, गंगोदरी पाद, पिसी जोशी, झारखन्डे राय, एके गोपालन, राम मनोहर लोहिया, मोहन धारिया आदि यस धाराका प्रमुख विचारक तथा नेता थिए । यिनीहरूले चाहिँ दलितलाई शासनसत्ता तथा आर्थिक क्षेत्रमा सहभागिता दिनुपर्ने कुरा उठाए ।
कम्युनिस्टले जात–जातिलाई मान्न अस्वीकार गरे । उनीहरूले आर्थिक समानताबाट यस्ता सबै भेदभाव समाप्त हुने दाबी पनि गरे । सामाजिक तथा धार्मिक आधारमा भइरहेको शोषणमा भने यिनीहरूको पनि दृष्टि गएन । चौथो धारा, उनीहरूबाटै सुरु भयो, जसले स्वयं जातिगत शोषण देखे र अनुभव पनि गरे । यस्ता महापुरुषमा महात्मा फुले, नारायण गुरु, साहु महाराज, पेरियार तथा डा. भीमराव अम्बेडकर निकै अगाडि रहे । डा. अम्बेडकरले समाजको विश्लेषण गरेर चेतना पैदा गरे । उनले आर्थिक कारणभन्दा पनि सामाजिक तथा धार्मिक व्यवस्था दलितमाथिको शोषणका लागि मुख्य जिम्मेवार रहेको प्रस्ट पारे । उनको अन्तिम ध्येय जातीय विभेद नष्ट गर्नु थियो । खटिराको पीडा कम गर्न माथिबाट मलमपट्टी पनि लगाउनुपर्छ भने साथमा चिरफार गरेर जमेको पिप पनि निकाल्नैपर्छ । सुरुवाती धाराहरू विनाचिरफार घाउको उपचार गर्न चाहन्थे, जो सम्भव नै थिएन ।
समाजशास्त्र तथा मानव विज्ञानमा पढाइन्छ कि जुन परम्परालाई ठूलो मानिन्छ त्यसले साना परम्परालाई प्रभावित गर्छ । त्यसैले पनि उनीहरूका सारा प्रयास व्यर्थ साबित भए, किनकि जाति व्यवस्था बनाउने जुन ठूलो परम्परा हामीकहाँ कायम छ, त्यसले कुनै पनि सानातिना नयाँ परम्परा सुरु भए पनि केही समयपछि आफूभित्रै समाहित गरिहाल्थ्यो । डा. अम्बेडकरद्वारा गरिएका प्रयास बढी प्रभावकारी साबित भए किनकि उनले दलितको शासन–प्रशासनमा सहभागिता मात्र होइन, शोषण गर्ने परम्परालाई विकल्प पनि दिए । यसैबाट नयाँ, सच्चा र सार्थक सामाजिक परिवर्तन आयो । यसैबाट सच्चा समानता आइरहेको छ ।
(उदित राज भारतीय लोकसभाका सांसद हुन्) दैनिक भास्कर डटकमबाट
No comments:
Post a Comment