केहि हजार ऋण तिर्न नसक्दा घर निकाला,भोकभोकै मन्दिरमा बास

विभेद बिरुद्ध  अभियान  - ४  वैशाख (नरी बडु)- बैतडी- लघु वित्त बैंकबाट लिएको ऋण तिर्न नसक्दा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौंका ईश्वरी लोहार र विमला लोहारको परिवारलाई घर निकाला भएका छन् । लक्ष्मी लघुबित्त बैंकका कर्मचारी र महिला समूहले घरमा ताला लगाएर निकाला गरेको पीडितले गुनासो गरेका छन् । घर निकाला गरिएका परिवारका ११ जना सदस्य बालबच्चासहित भोकभोकै मन्दिरमा बसिरहेको र दुई दिनदेखि गोठमा बन्द रहेका गाईसमेत भोकभोकै थुनिएको पीडितको गुनासो छ ।

घर निकाला भएपछि बिमला लोहार न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सदरमुकाम पुगेपछि जिल्ला प्रशासन कार्यालयको समन्वय र वडा कार्यालयको पहलमा ऋण लगानी गर्ने समूहका महिलाहरूले घरमा लगाएको ताला १५ घण्टापछि बिहीबार बेलुकी ५ बजे खोलिएको पीडित परिवारको भनाइ छ । ऋण तिर्ने सर्तमा ताला खोलिएको विमलाले बताइन् ।

लक्ष्मी लघुबित्त बैंकले देहिमाडौंमा महिलाको समूह गठन गरेर ६० लाख रुपैयाँ ऋण लगानी गरेको छ । मासिक किस्ता तिर्न नसक्दा गत चैत २८ गते दिउँसो पानी परिरहेका बेला लक्ष्मी लुघवित्त बैंकका कर्मचारी र स्थानीय महिला समूह आएर घरमा ताला लगाएर निकाला गरेको बिमला लोहारले बताइन् । “समूहबाट १ लाख २० हजार ऋण लिएका छौं, मेरी जेठानी भागरथी लोहारले पनि १ लाख २० हजार ऋण लिनुभएको छ,” विमलाले भनिन्, “हामी एउटै घरमा बस्छौं, ऋणको पैसा जेठाजुले चलाउनुभएको छ, अहिलेसम्म नियमित ८ हजारका दरले १३ किस्ता ऋण र ब्याज तिरेका छौं ।” चैत महिनाको ब्याज र किस्ता तिर्न बाँकी रहेका बेला बैंकका कर्मचारी र समूहका अध्यक्ष घरमै आएर ताला लगाई निकाला गरेको उनको गुनासो छ ।

घरबाट निकालिएको विषयमा लक्ष्मी लघुबित्त पाटन शाखा प्रमुख महादेव जोशीले देहिमाडौंमा लक्ष्मी महिला केन्द्र नामको महिला समूहले एउटा कोठामा मात्र ताला लगाएको बताए । महिला समूहमार्फत समूह जमानीमा लघु बित्तको ६० लाख रुपियाँ लगानी रहेको र ऋण उठाउन महिलाहरूले आफैंले निर्णय गर्ने उनले बताए । “बिमला लोहार, जानकी महर लोहार र भागरथी लोहारले ऋण तिर्न नसक्दा महिला समूहले के कस्तो निर्णय गरे त्यो थाहा भएन,” उनले भने, “विमलाले अहिलेसम्म १३ किस्ता तिरेको र ११ किस्ता बाँकी रहेको छ ।”

देहीमाडौंमा लक्ष्मी लघु बित्त, डिप्रोस लघु बित्त, निर्धन बैंक, स्वदेश बैंक, किसान माइक्रो फाइनान्स र नेपाल ग्रामीण बैंकले ५ देखि २५ जना महिलाको समूह गठन गरेर लाखौं रुपैयाँ ऋण लगानी गरेका छन् । महिलाहरू चर्को ब्याज र किस्ताबन्दीमा ऋण तिर्न बाध्य भएको र ऋण तिर्न नसक्दा घर निकाला गरिएको परिवारले पीडा सुनाएका छन् । बैंकहरूले यसरी लगानी गरेको ऋणको ब्याज, सेवा शुल्क गरी करिब २५ प्रतिशतभन्दा बढी ब्याज लिने गरेको पीडित परिवारले बताएका छन् ।

यस्तै लघु वित्त बैंकबाट लिएको ऋण तिर्न नसक्दा देहीमाडौंकै पदम लावड र करनराम लोहार परिवारसहित भारत गएको स्थानीय दिनेश लावडले बताए । पदम लावड पाँच जना बालबच्चा र परिवारसहित भागेर भारत गाएका छन् ।

No comments:

Post a Comment