विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Friday, April 27, 2018

 अरबको भुङ्ग्रोमा सेकिएको मन -गोपाल शिवा

विभेद बिरुद्ध अभियान - बैशाख १४ गते -केहि समय अघि हामी बस्ने कम्पनीको बिल्डिंगमा किल्नरको काम गर्न भनेर एक जना सप्तरी तिरका रामेश्वर लेखि भाइलाई कन्ट्रयाक्ट मार्फत लिएर आइएको रहेछ।दश तलाको घरको फोहोर फाल्ने, सफा गर्ने र धुने पखाल्ने भाइको नियमितता थियो । उनले दिनभरिमा हामी बस्ने जस्तै कम्पनीको अन्य ५ ओटा बिल्डिंगमा सोहीअनुसार काम गर्नु पर्थियो । झन्डै ४/५ महिना जति भाइले काम गरे होला ... पसिनाले छ्याप्पै भिजे पनि काम गरिरहेका हुन्थे भाई । जब नेपाली हो भनेर थाहा भयो त्यस पछी धेरै पटक आफ्नो भाग काटेर हामीले भाइ लाइ हाम्रो फ्ल्याट सफा गर्न आएको बेला खाना खुवाइयौ ।खाना खान आएको बेला भाइले परदेशको आफ्नो अनुभव सुनाए ।दिनहु १२ घण्टा सफाईको काम गर्दा कोलोरेक्स र किलिन्गका केमिकलले छालाको पत्रहरु गएको हातहरु देखाए । भोगाइ सहेर भए पनि बस्नु पर्ने आफु अघिको बाध्यताको ठुलो पहाड हामीलाई पनि देखाए ।

नेपालको जनसङ्ख्याको धेरै हिस्सा ओगट्ने निम्न तथा निम्न मध्यमवर्गीय नागरिकहरु जो जीवनमा केही सम्पत्ति आर्जन गरि सुखसँग जीवन गुजारा गर्ने र आफ्ना बालबच्चा, परिवारलाई शिक्षित बनाउने सुन्दर सपना बोकेर खाडी अरबको यात्रामा लम्किन बाध्य भएका छन् । ति मध्ये अपबाद छोडेर जस्तो सुकै भए पनि अरबको भुङ्ग्रोमा सेकिदै काम गर्नु पर्ने बाध्यताको कथाको पात्र बनेका नि यी भाइ जस्तै धेरै पात्रहरु छन ।

कुवेत आउनु अघि सम्म रामेश्वर लेखिको दिनचर्या परिवारसँगै सप्तरीको कल्याणपुरमा चल्दै रहेछ। बिहान बेलुका गाउँकै ट्याक्टरमा लोड अनलोड गरेर छाक मात्रै टर्दै थियो । पैसा बचाउन नसकेका रामेश्वर लेखि भाइ त्यति बेला गाउकै एजेन्टले राम्रो कमाइ हुने आशा देखाएपछि विदेश जाने मानसिकतामा अडिग भएछन । कमाउने सपनाले उनलाई झन्डै एक कठा ऐलानीमा भएको घर समेत उही एजेन्टलाई डेढ लाखमा मन्जुरीनामा लिखितम गराई दिएछन । एजेन्टले काठमाडौं ल्याउने बेलामा जे सुनाएका थिए म्यानपावरका सञ्चालकले पनि तिनै कुरा दोहोर्याए ‘काम सजिलो छ अनि कमाई पनि राम्रो हुन्छ । जीवनमा ठुलो हवाईजहाज चडेर सपनाहरु खोज्न हिडेका सयौ क्याराभानहरुको हुलमा मिसिएर धेरै कमाउने सपना लिएर रामेश्वर लेखि पनि कुवेत आई पुगेका रहेछन ।यता आए पछि पो थाहा पाए... ९० केडी भनेको ठाउमा ७५ केडी , ८ घण्टा भनेको ठाउमा १२ घण्टा काम गर्नु पर्ने पो उनले ।आफ्नै सपनाहरुको खोजि गर्न भनेर घरबारी बन्धक राख्न ल्याप्चे ठोकेका उनका तिनै हातहरुको छालाको पत्र पत्र भएर उप्किन थालेको छ तर आफु भित्रको विश्वासलाई जीवन्त राखेर भन्छन यता आउदा लिएको ऋण सम्झिएर काम गर्छु दाई ।

त्यसो त् आफुलाई नेपालमा भनेको अनुसार तलब र काम गर्नु पर्ने समय नदिएको बारेमा एजेन्टलाइ आएको २ महिना पछी भए नि एक पटक भनेका रहेछन ....पछि राम्रो हुन्छ दु:ख गर भने जवाफ पाएका उनि त्यहि पछिको समयको पर्खाइमा अनुतरित भएछन । हुन् पनि हो खर्च गरेर र अनेक योजना र सपना बनाएर देश छाडेपछि यहा हण्डर खाए पनि हत्तपत्त रित्तो हात फर्किन नसक्नुको पीडा कसले बुझ्ने ? कहिले काहिँ बाध्यताले मानिसका रहरहरुमाथि दमन गरिदिन्छ ।जसले गर्दा लेखि भाइले झैँ लाखौ नेपालीले आज आफ्नो चाहाना र सपना एकापट्टि थन्क्याएर बाध्यताले देखाएको बाटो अंगाल्न बाध्य भएका छन् ।लेखि भाइको जस्तै अरबको भुङ्ग्रोमा लाखौ युवायुवतीको मन सेकिएको छ । नेपालबाट बाहिर कतै नजाउन्जेल विदेशमा त पैसाको रुख फलेको हुन्छ कि जस्तो मानसिकताले हाम्रो टोल-समाज र व्यक्ति स्वयंमा पनि अझै डेरा जमाएको छ । केही समयअघिसम्म यस्तै मानसिकताको डेरा आफु भित्र जमाएका लेखिको मन अहिले अरवको तातो भुङ्ग्रोमा सेकिई रहेको छ ।

कहिलेकाही भेटमा आफना रहर र बाध्यताका सपना खोज्दा खोज्दै जिन्दगीको एक दशक लुटाउछु होला दाई भन्ने यी भाइले आफ्नो सपना र बाध्यताबीचको तादाम्यतालाई मिलाएर जीवनमा रोजगारी र जीविकाको नयाँ मेलो भेट्ने ध्याउन्नमा भनसुन गरेर १६/१८ घण्टा काम गर्ने ठाउमा सार्न भनेको कुरा भन्दै थिए ।६/७ महिना भो उनि गए देखि भेटिएका छैनन् । तर लाखौँको संख्यामा नेपालीलाई विदेश पठाएर रेमिटेन्सको बलमा चलेको देशमा बैदेशिक रोजगारीको नाममा सयौं ठगि, बेथिति र अस्तव्यस्त स्थिति एव बाध्यताको परिवन्दमा जेलिएर कोहि कोहि नेपालीहरु नराम्रोसँग पीडित बनेको ,प्रताडित बनेको सत्य उजागर गरेको छ । वैदेशिक रोजगारीमा जानेले गन्तव्य मुलुकमा पाएको दुःखका कथाहरु असरल्ल छन् है भनेर बुझाएको छ ।

वैदेशिक रोजगारी व्यवस्थित, मर्यादित र पारदर्शी हुन नसकेको वर्षौं भइसकेको छ । स्वदेशमा प्रयाप्त रोजगारीको अवसर उपलब्ध नहुँदा दैनिक हजारौं युवायुवती आफ्ना सपना र बाध्यताको झोली दुइवटै काँधमा बाकेर बिदेश पलाएन भईरहेका छन् । शारीरिक, मानसिक र आर्थिक शोषणमा परेका छन् ।तर पनि श्रमिककै नाम भजाएर स्वदेशमै रोजगारीको लागि अब केहि गर्ने भनेर बिभिन्न राजनीतिक दलले चुनावका बेला र कुर्शीमा बिराज हुन्जेल सम्म कुरा गरेपनि त्यसको कुनै प्रभाब व्यावहारिक रुपमा देखिएको छैन । के रोजगारी र समृद्धिको कुराहरु ब्यबहारिक रुपमा कहिले लागु नहुने नै हो त ?