अन्नमा श्रम साट्दै ‘कथित’ दलित परिवार

विभेद बिरुद्ध अभियान -   बैसाख १  । बिहानको पाँच बजेको हुँदो हो । एउटा हातमा हँसिया, अर्को हातमा कोदालो र टाउकोमा एउटा झोला बोकेको । अलि मैलो अनि थोरै च्यातिएको कपडा लगाएका सभापोखरी गाउँपालिका-३ का रुद्रबहादुर लोहार । यसैगरि छिमकी गाउँमा भेटिन्छन् उनी भन्दा अलि फरक देखिने सुकिलो मुकिलो कोट लगाएर रेडियोको छेउमा बसेका तिनजना राजनीतिक गफ चुटिरहेका हुन्छन् । तर, लोहारलाई गाउँघर, देश, विदेशका समाचारप्रति कुनै चासो छैन । चासो छ त मात्रै उनका आफ्ना सात जना परिवारको साँझ बिहानको खानाको जोहो गर्न । सात जना परिवारको साँझ बिहानको जोहो गर्न उनलाई धौधौ परिरहेको छ ।

उनी एकाबिहानै गाउँ पुग्नुको अर्थ यो हो कि धार लगाउन (अर्जाप्न) लगिएका फलामका सामान गाउँमा पुर्‍याउने र त्यसबापतको अन्न उठाएर ल्याएर छाक टार्ने । यसैगरि उनको दैनिकी चलिरहेको छ । ‘बिहान उठ्नु आरनमा जानु कोइला तताउँदै फलाम पिट्नु अनि हतियार बनाएर आफ्ना विष्ट (जसले फलामका सामानहरू बनाउन तथा कपडा सिलाउन लगेको छ) कोमा पुर्‍याएर ज्याला बापतको केही अन्न ल्याएर छाक टार्नु ।’-यहि हो उनको दैनिकी । पुर्खादेखि गर्दै आएको पेशालाई उनले नत छोड्न सकेका छन् नत वैकल्पिक उपाय नै छ । नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र, दुईदुई पटकको संविधानसभाको निर्वाचनपछि जारी भएको संविधान, त्यस पश्चात गठन भएको स्थानीय, प्रदेश र केन्द्र सरकार जस्तोसुकै परिवर्तन आए पनि अन्न लिएर फलाम पिट्ने र कपडा सिलाउने पेसा जस्ताको तस्तै रहेको छ सङ्खुवासभामा ।

गाउँमा फलाम पिट्ने र कपडा सिलाउने काम न्यूनतम ज्यालाको रूपमा अन्न लिएर काम गर्न जिल्लाका दलित समुदाय अझै बाध्य छन् । अन्य पेसा गरौँ भने पनि नपाउने अवस्थाले आफ्नो र परिवारको पेट पाल्न र आवश्यकता पूरा गर्न अरु कुनै विकल्प नहुँदा मेहनत अनुसार ज्याला नपाए पनि काम गर्नुपर्ने बाध्यता रहेको लोहारले बताए ।

यस्तै समस्या छ खाँदबारी नपा-१० का भगिमान विश्वकर्माको पनि । उनले ०३५ सालदेखि फालाम पिटे बापत ज्याला स्वरुप अन्ननै लिँदै आएका छन् । उनले एक परिवारबाट प्रतिवर्ष ८ पाथी धान पाउँछन् । अन्न लिएर काम गर्दा उनको आर्थिक अवस्था पहिला जस्तो थियो अहिले पनि उस्तै छ । उनले फलाम पिटेर ६ जनाको परिवारको जिविका चलाइरहेका छन् । लोहार र बिक मात्र नभएर खाँदबारी नपा-१० का ५१ वर्षीय टकमान दर्जी पनि उस्तै समस्या भोगिरहेका छन् । उनी ०४६ सालदेखि अन्नमा कपडा सिलाउँदै आइरहेका छन् । उनले पनि एक परिवारबाट प्रतिवर्ष १० पाथी धान पाउँछन् । १० पाथी धानमा एक घरपरिवारमा भएका सम्पूर्ण सदस्यहरूको वर्षभरी नै उनले कपडा सिउनु पर्ने बाध्यता छ । उनले केही वर्ष अघिसम्म ५ पाथीमा काम गरेको सुनाए । त्यही अन्नले उनले सात जनाको परिवार धानिरहेका छन् । उनी भन्छन्-‘मेरो घरजग्गा पनि छैन । अब यति काम पनि गरिनँ भने कसरी परिवार पाल्नु ? हातपाखुरा चलुञ्जेल त खाउँला । नसकेका दिनदेखि भोकै मरिन्छ होला ।’

सङ्खुवासभा जिल्लामा कति घरपरिवार बालीमा आश्रति छन् भन्ने एकीन तथ्याङ्क छैन । जिल्लामा करिब १ हजार ५ सयको हाराहारीमा दलित समुदायको जनसङ्ख्या रहेपनि बालीमा काम गर्ने कति छन् कुनै पनि सरकारी तथा गैरसरकारी निकायमा तथ्याङ्क पाउन सकिएन । कुनै श्रम गरे बापत पाउने अन्नलाई बाली भनिन्छ । बाली लिएपछि जसको लिएको हो उसको वर्ष दिनसम्म काम गरिदिनु पर्छ । जिल्लाका अधिकांश ठाउँमा एक परिवारको कपडा सिलाउने वा फलाम पिटेर हातहतियार बनाउने अथवा पुराना हातहतियार अर्जाप्ने काम गरेबापत वर्षदिनको १० पाथी धान दिने गरिन्छ । दलित अधिकारकर्मी मुकेश मुदेल गरिबीको कारण दलित परिवार कम अन्नमा श्रम गर्न बाध्य भएको बताउँछन् । अन्नमा काम गर्दा उचित ज्याला पाउन नसक्दा अहिलेका युवाहरूले विस्तारै यो काम गर्न छाडेको उनको भनाई छ ।

मकालु गाउँपालिका-५ का पदमबहादुर दर्नालले अन्न लिएर श्रम गर्दा दलितको जीवनस्तर उकास्न गाह्रो भएको हुँदा यो प्रथालाई त्यागेर उनीहरूको पेसालाई आधुनिकीकरण गर्दै लैजानु पर्ने बताउँछन् । यसरी काम गर्दा अन्नबालीको रूपमा न्यूनतम ज्याला लिनुपर्ने बाध्यता त छँदैछ । त्यसमाथि दलितहरूलाई यो प्रथा अनुसार काम गर्दा व्यक्तिगत र सामाजिक रूपमा गरिने अपमान र विभेदपूर्ण बोली र व्यवहारले पनि सम्मानमा चोट पुग्नेगरेको  छ । २१ औँ शताब्दीमा पनि १० पाथी अन्नमा वर्षभर काम गर्ने दलितहरूको अधिकारका लागि हालसम्म कसैले कुरा नउठाएको बालीमा काम गर्ने खाँदबारी-१० का भगिमान बिकले आरोप लगाए । उनले भने-‘एक पटक त मैले पनि यसमा काम गर्दिनँ भनेर बसेँ । तर, रोजी रोटी नै गुम्ने भएपछि फेरि काम सुरू गरेको हुँ ।’ अहिले उनले खाँदबारी १० का ५० घरपरिवारबाट वर्षको ५ सय पाथि अर्थात २५ मुरी धान लिएर काम गर्छन् ।

बाली प्रथामा काम गर्ने व्यक्तिहरूले वार्षिक काम गरेबापत पाउने अन्नबाली थोरै देखिन्छ । अझ ठाउँ अनुसार फरकफरक अन्न दिने/लिने चलन छ । सोही कारण उनीहरूको आम्दानी पनि फरकफरक पाइन्छ । ज्यालाको रूपमा थोरै अन्न पाउने निकै नै छन् । ग्रामीण क्षेत्रमा लुगा सिलाउने तथा फलामको सामान बनाउने व्यक्ति हुन् । दक्ष सीप भएका व्यक्तिले हालको अवस्थामा दैनिक रूपमा आफ्नो खाना खाएर ५ सय रुपियाँ र काम गरेको व्यक्तिको खाना खाएर ४ सय रुपियाँ लिने गरेका छन् । यसले पनि बाली प्रथामा काम गर्ने व्यक्तिहरूको दैनिक ५ सय रुपियाँ पर्ने गरी धान र अन्य अन्न दिनु पर्ने व्यवस्था गरिनु पर्ने र यस विषयलाई नीतिगत रूपमा राज्यले सम्बोधन गर्न पहल गर्नुपर्ने श्रम बापतको पैसा नै लिएर फलामको काम गर्दै आएका खाँदबारीका राजु विश्वकर्माले बताए ।

२०५७ सालमा बाली प्रथा अन्त्यको माग गर्दै काठमाडौँमा सिंहदरबार अघि प्रदर्शन गर्दा आफूले काम गरे अनुसारको रकम पाउँछु भन्ने भगिमान बिकलगायतलाई लागेको थियो । तर, उनीहरूको आशा अहिलेसम्म पूरा हुनसकेको छैन । सरकारले अब बाली प्रथा अन्त्य गर्छौँ भनेर मौखिक प्रतिबद्धता जनाएपनि अहिलेसम्म पूरा गरेको छैन । अहिले त झन स्थानीय, प्रदेश र केन्द्र सरकार आएपछि यस विषयमा कुरै उठ्न छाडेको छ । उनी भन्छन्-‘अब त बाली प्रथा अन्त्य हुन्छ । फलाम पिटेर पनि बाँच्न सकिन्छ भन्ने लागेको थियो तर त्यो पूरा भएन ।’ अहिले उनी फलामको काम छोड्ने या गर्ने दोधारमा परेका खबर बाबुराम बास्तोलाले लेखेका छन् 

No comments:

Post a Comment