दलित समुदायको आत्मसम्मानमा कतिसम्म चोट पुगेको होला ?- खेम बम

विभेद बिरुद्ध अभियान -  २७ चैत - समाज यति निकृष्ट र निर्लज छ भन्ने कुरा बेला–बेलाका घटनाक्रमले देखाइसकेको छ । नेपाललमा दिनप्रतिदिन घटिरहने यस्ता घटनाक्रमले एक प्रश्न उब्जाएको छ, त्यो हो हामी कुन युगतिर लम्किरहेका छौं ? र, कस्तो परिवर्तनको पछाडि दौडिरहेका छौं ?कतै बालिका बलात्कृत हुन्छिन् त कतै बोक्सीको आरोपमा एक महिला निर्घात कुटिन्छिन् र समाज रमिते बन्छ । भन्छ– यसभित्रको बोक्सी निकालिदेउ प्रभु ।

महिला अधिकार, दलितका अधिकार, बालबालिकाका अधिकार र सार्वभौम अधिकारका बिषयमा सधैंजसो उठिरहने सवालका बिषयहरु निरर्थक त बनिरहेका छैनन् ? समाज जति विकसित हुँदैछ, त्यति अराजकताले प्रोत्साहन निम्याउँदै छ, र सो क्रम बढ्दो छ ।गएको मंगलबारमात्रै गैंडाकोट नगरपालिकाको वडा नं ८ का स्थानीय मानबहादुर थापाको घरमा भएको विवाहभोजका क्रममा स्थानीय विकास परियार र अन्य बालबालीकामाथि छुवाछुतजन्य व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

सार्वजनिक भिडियोका बारेमा विरोध हुन थालेपछि सोही नगरपालिकाका मेयर छत्रराज पौडेलले विवाह भएको घरमा पुगी घटनाबारे जानकारी समेत लिनुभयो । मेयर पौडेलले कानुनविपरित जातीय आधारमा छुवाछुत भए कारवाही हुने भन्दै पहिलो पटकमा सम्झाएको बताउनु भएको थियो ।

विवाहको बेला भोज खान आएका स–साना बालबालिका र आफुमाथि छुवाछुतको व्यवहार भएको स्थानीय विकास परियारले बताउनुभयो । नगरपालिका छुवाछुत र विभेदमुक्त भएको भन्दै गैँडाकोट नगरपालिकाले समाजमा विभेदजन्य व्यवहार भएको गुनासो आए तत्काल कारवाही अगाडी बढाउने समेत जनायो तर, व्यावहारमा भने अझै हेर्न बाँकी छ ।

कानुन हरेक क्षेत्रमा बनेका छन् र नागरिक सार्वभौम पनि छन् । तर, व्यवहारमा लागु भने कतै भएको पाईदैन । एकआद घटना मात्रै यस्ता हुन्छन् जब, पब्लिसिटी हुन्छन् तब कारवाहीको घेरामा तानिन्छन् ।गैंडाकोटको त्यो घटना एक प्रतिनिधि मात्रै हो । यस्ता घटनाहरु समाजमा अझै व्याप्त रहेका छन् । बिशेषगरी नेपालको पश्चिमका क्षेत्रहरुमा अझै यसले जरो गाडेको छ ।

विवाह, ब्रतबन्ध र सामाजिक कार्यमा दलितलाई भान्सा छुन नदिइ अलग्गै बस्न लगाइन्छ । भान्सा छुँदा देवता रिसाउने र कुभलो हुने अन्धविश्वस समाजमा अझै रहेको छ । यतिसम्मकी, दलितले भान्सामा जाने आँट आफै समेत गर्न सक्दैनन् ।दशबर्षे जनयुद्धले ल्याएको चेतना र परिवर्तनले केहि हदसम्म मानिसको सोचलाई फराकिलो त बनाएको छ, तैपनि देविदेवता पुँज्ने पश्चिम लगायत पूर्वका विभिन्न पहाडका ग्रमिण क्षेत्रमा अझै छुवाछुतले प्रभाव जमाएको छ ।

दलित अधिकारकर्मीहरुले विभिन्न संगठनका माध्यमबाट छुवाछुत अन्त्यका निम्ति चेतना जगाउने प्रयास गरेतापनि ती संगठन डलर भजाउने माध्यममात्रै बनेको डोटीका रमेश परियारको भनाइ छ ।

परियार भन्नुहुन्छ,‘म विवाहमा दमाहा भएर बाजा लिएर जान्छु, र मलाई मात्र होईन सम्पूर्ण दमाहालाई अलग्गै राखेर खान दिईन्छ ।’ यस्ता घटना ती समाजका निम्ति सामान्य बनेका छन् तर एक व्याक्तिको आत्मसम्मानमा कतिसम्म चोट पुगेको हुन्छ कसैले चाल पाउँदैनन् । किनकी त्यो चलन नै बनिसकेको छ ।

प्रश्न उठ्ला– व्यवस्थित गराउन खोजिएको हो भनेर, तर त्यो होईन । सत्य केहो भने ती दमाहा भान्सामा जान आफै हिच्किचाउँछन् र उपल्लो भनिने जातले तीनिहरु नजिक नआउन् भन्ने चाहान्छन् ।

चेतनाको कमिका कारणपनि यस्तो भइरहेको छ । र बुझेकाले बुझ पचाइदिंदा समेत समस्या निम्तेको छ । छुवाछुत अन्त्यको प्रयास थाल्नका निम्ति केन्द्रिकृत भएर होईन, हरेक प्रदेश र गाँउ–गाँउका कुनाकाप्चामा रहेका दलित समुदायका समस्या बुझ्न जरुरी छ ।

No comments:

Post a Comment