राष्ट्रिय विभूतिमा पनि छुवाछूत ?-रसिलाल दास

विभेद बिरुद्ध अभियान - बैसाख ६ -पछिल्लो समय दलित समुदायका विख्यात अगुवा सलहेस, दीनाभद्री (दीना र भद्री) लाई पनि नेपालका राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आवाज उठिरहेको छ। उनीहरूलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गराउन सामाजिक अभियन्ता, नागरिक समाज तथा विभिन्न संघसंस्थाले चरणबद्ध अभियान चलाउँदै आइरहेका छन्। यसैबीच भोर तथा मिथिला पर्यटन संस्थासँगै अन्य अभियन्ता र नागरिक समाजको अगुवाइमा २०७२ सालदेखि नै राजविराज, जनकपुर र काठमाडौंमा हस्ताक्षर अभियान चलाइएको छ। तर राज्यले भने सलहेस, दीना र भद्रीलाई विभूति घोषणा गर्नेपर्ने मागप्रति कुनै चासो देखाएको छैन।

ऐतिहासिक व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणाका लागि एउटा सिद्धान्त तय गरिएको छ। राष्ट्रका लागि सामाजिक, साहित्य, राजनीतिक, धार्मिक आदि क्षेत्रमा उल्लेखनीय कार्य गर्दै राष्ट्रिय गौरव बढाएका व्यक्तिलाई विभूति घोषणा गर्ने प्रचलन छ। त्यही सिद्धान्त र प्रचनलनलाई आधार मानी ऐतिहासिक व्यक्तिलाई राष्ट्रिय विभूति घोषणा गर्ने गरिन्छ। यद्यपि यस्तो सिद्धान्त पनि विवादरहित भने छैन।

नेपालमा राजा जनक (पहिलो), सीता, गौतमबुद्धदेखि पासाङ ल्हामु शेर्पा, शंखधर शाख्वाः लाई यसरी नै राष्ट्रिय विभूतिको रूपमा घोषणा गरिएको हो। उनीहरूमध्ये कोही सामाजिक सुधारका कारण त कोही कूटनीतिक सम्बन्ध विस्तारका कारण र कोही असल विचार र व्यवहार भएका ऐतिहासिक व्यक्तित्वका रूपमा अमर छन्। उनीहरूजस्तै मधेसको मिथिला सभ्यता भएका क्षेत्रको ऐतिहासिक र पौराणिक पात्र हुन् सलहेस, दीना र भद्री। उनीहरूले समाजमा रहेका सामाजिक अन्याय र विभेदविरुद्ध सुधारका कार्य गरेका थिए।

सलहेस, दीना र भद्रीका सुधार

सलहेस, दीना र भद्री मिथिला तथा पूर्वीतराई मधेसमा देवताको रूपमा पुजिन्छन्। सलहेस दुसाध जातिका कुल देवता पनि मानिन्छन् भने दीनाभद्री मुसहर जातिका। सलहेस, दीना र भद्रीलाई दलितका देवता पनि भन्ने गरिन्छ। वास्तवमा भारतीय इतिहासकार ब्रह्मानन्द ठाकुरका अनुसार ऐतिहासिक व्यक्तित्व हुन् सलहेस। उनको जन्म पूर्वीतराईको महिसौथा गाउँमा भएको थियो। उनी प्राचीन मिथिलाका प्रतापि राजा थिए। उनको राज्य महिसौथागढ चौध कोससम्म फैलिएको थियो। उनी जनतालाई सार्वभौम मान्दथे, जातपात र छुवाछूतका विरोधी थिए।

एक आख्यानअनुसार विराटपुरका राजा बराटकी छोरी सामरवतीसँग राजा सलहेसको प्रेम थियो। सलहेसकी माता मन्दोदरीले उनको विवाह सामरवतीसँग गरिदिन प्रस्ताव राजा बराटकहाँ पठाए। राजा बराट क्षत्री वर्णका थिए भने सलहेस दुसाध। राजा बराटले सहलेसको वर्ण र जात तल भएको निहुँमा विवाहको प्रस्ताव अस्वीकार गरे। राजा सलहेसले जातप्रथाको विरोध गरेपछि सामरवतीको विवाह गराउन राजा बराट तयार भए।

राजा सलहेसले पूर्वमा मोरङसम्म सम्बन्ध सुधार गरेका थिए। जातपातको शासन रहेको बेला सलहेस दुसाध जातिका भइकन पनि प्रतापी राजा भएकाले उनलाई कुल देवताको रूपमा पूजा गरिन्छ। प्रत्येक वर्ष वैशाख १ गते जुड शीतलका दिन सिरहाको सलहेस फूलबारीमा ठूलो मेला लाग्ने गर्दछ। त्यस फूलबारीमा रहेका वृक्षमा त्यही दिन मात्रै फूल फुल्ने हुँदा त्यसमा दैवी शक्ति रहेको विश्वास पनि पाइन्छ। दुसाध जातिका प्रतापि राजा र जातभातका विरोधी अभियन्ता भएकै कारण सलहेस लोक महानायकको रूपमा तराईमा प्रख्यात छन्।

त्यस्तै लोकगाथाका महानायकका रूपमा चिनिन्छन् दीनाभद्री (दीना र भद्री) पनि। ‘द पोलिटिक्स आफ कल्चरल रिसर्च’ का लेखक समाजशास्त्री बद्री नारायणका अनुसार दीना र भद्रीको जन्म सप्तरी जिल्लाको जोगियामा भएको थियो। दीना र भद्रीको बुबा कालु सदा र आमा निरसो सदा थिए। दीना र भद्री दुवै दाजुभाइ पहलवान थिए। दुवै दाजुभाइले गरिखाने मजदुरमाथि कसैले दुव्र्यवहार गर्नेलाई दण्ड दिन्थे। महिलामाथि हुने हिंसाको विरोध गर्दथे। महिलामाथि हिंसा गर्नेलाई मृत्युदण्डसमेत दिएको गाथा पनि सुन्न पाइन्छ।

लोककथनअनुसार कनकसिंह भन्ने जमिनदारले गाउँका सबै मजदुरलाई काम गराई मजदुरी नदिएको दीना र भद्रीलाई थाहा भयो। दीना–भद्रीले उक्त जमिनदारलाई कुटपिट गरी ज्याला दिन लगाए। त्यस्तै भारतको सीमामा कुनौली भन्ने गाउँमा जोहाबर सिंह नाम गरेका राजपुत शासक थिए। उनी त्यस क्षेत्रमा बसोबास गर्ने मानिसलाई शोषण, अत्याचार र दमन गर्दथे। साथै, महिलालाई बलात्कार गर्दथे, उनीहरूको इज्जत र अस्मितासँग खेल्दथे। कतिसम्म भने उनको राज चल्ने सीमा क्षेत्र भएर आउनेजाने नवविवाहित दुलहीले पहिलो रात जोहाबरसिंहसँग बिताउनुपर्दथ्यो। साह्रै असह्य भएपछि एक दिन दीना र भद्री पनि दुलहीजस्तै पालकीमा बसेर जोहाबरसिंहकहाँ पुगे। उनीहरूले पहलमानी खेली उनको हत्या गरेको गाथा पनि सुनिन्छ। यसरी दीना र भद्री सामन्तवादविरुद्ध लड्ने योद्धा एवं महिला अस्मिताको रक्षकका रूपमा प्रख्यात छन्।

राज्यको बेवास्ता ?

सलहेस, दीना र भद्रीजस्ता लोकनायकलाई नेपालको राज्यबाट सम्झने र सम्मान गर्ने काम भएको छैन। उनीहरूजस्ता जनताका अभियन्तालाई राष्ट्रिय विभूति घोषणा नगर्दा आम जनसमुदायबाट र खासगरी मधेसी र दलित समुदायबाट राज्यले विभेद गरेको गुनासो गरिन्छ। प्रश्न के उठेको छ भने उनीहरूलाई कुनै सम्मान नगर्नुमा मधेसप्रति राज्यको पुरानै विभेद नीति पो छ कि ? सलहेस, दीना र भद्री दलित दुसाध र मुसहर समुदायका अगुवा भएकाले सम्मानमा पनि छुवाछूत गरिएको पो हो कि ? मधेसी दलितप्रति राज्यको हेपाहा व्यवहार देखेर यस्ता सवाल खडा भएको हो।

झट्ट हेर्दा राष्ट्रिय विभूति घोषणाको सवालमा राज्यले मधेसप्रति विभेद नगरेको पनि लाग्न सक्छ। राष्ट्रिय विभूति घोषित राजा जनक, सीता र गौतमबुद्ध मधेसकै हुन् भने कसरी मधेसलाई विभेद गरेको भन्न मिल्छ ? अर्काेतिरबाट हेर्दा जनक, सीता र बुद्ध दलित हुन्थे भने उनीहरू पनि सायद राष्ट्रिय विभूति घोषणा हुँदैनथे कि ? तर सलहेस, दीना र भद्रीको लिखित र अलिखित इतिहास हुँदाहुँदै पनि उनीहरू दलित नभएका भए राज्यलाई सायद समस्या हुने थिएन कि ?

यस्ता प्रश्न गरियो भने राज्यले जातिवादी सोचाइकै कारण राष्ट्रिय विभूति घोषणामा पनि विभेद गरेको उत्तर आउन सक्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मारेको नेपाली राज्य अब त जातीय मानसिकताबाट माथि उठनुपर्छ। विभेदको राजनीति छोडी राज्य आफैंमा पनि सम्मानको राजनीतितिर केन्द्रित हुनुपर्छ। सलहेस, दीना र भद्रीलाई राष्ट्रिय विभूति घोषणा गर्दै मधेसका, विशेष गरी मधेसी दलितका अगुवाहरूको सम्मानबाट यसको थालनी गर्न सकिन्छ।-अन्नपुर्ण बाट 

No comments:

Post a Comment