आफूलाई जातीय कमेन्ट गर्ने विरुद्ध शंकर विसीले दिए प्रहरीमा उजुरी

विभेद बिरुद्ध अभियान - चैत्र १९  -म्युजिक भिडियो निर्देशक शंकर विसीले आफूमाथि जातीय कमेन्ट गर्नेहरुलाई साइबर क्राइममा तानेका छन् । उनले महानगरीय प्रहरी परिसर टेकुमा सोमबार जाहेरी दिए ।

विसीले एक यूट्यूव पत्रकारलाई थर्काएको भिडियो केही दिनअघि यूट्यूवमा अपलोड भएको थियो । सो भिडियोमा उनीमाथि नकारात्मक कमेन्टको वषर्ा भएको थियो । सामाजिक सञ्जालमा पनि उनलाई धेरैले आलोचना गरे । तीमध्ये केही कमेन्टमा जातीय कुरा गरिएकाले विसी आहत बनेका थिए । उनले यस्ता जातीय कमेन्ट गर्नेहरुको स्किन सट निकालेर राखेका रहेछन् ।

तीनै स्किन सटको पि्रन्ट बोकेर उनी प्रहरी कार्यालय पुगेका हुन् । तर, उनले देखाएको लिस्टका व्यक्तिहरुले ती स्टाटस र कमेन्टहरु हटाइसकेका रहेछन् । प्रहरीले कम्युटरमा खोज्दा भेटिएन । त्यति नै बेला उनलाई मलेसियामा रहेका एक शुभचिन्तकको सहयोग मिल्यो । ती शुभचिन्तकले उनलाई जातीय कमेन्ट गर्नेहरु ६ जनाको फेसबुक प्रोफाइलको लिंक सुरक्षित राखेका रहेछन् । उनले ती लिंकहरु पठाइदिएपछि प्रहरीलाई सजिलो भयो ।

लिंक खोलेर हेर्दा ६ जनामध्ये ३ जना मलेसियाका, १ सिंगापुरका र दुई जना नेपालका रहेछन् । नेपालमा रहेकाहरुलाई तत्काल पक्राउ गरिने र विदेशमा रहेकाहरुलाई नेपाल आएको बेला पक्राउ गरिने प्रहरीले आश्वासन दिएको छ । यदि साइबर क्राइममा दोषि प्रमाणित भएमा ५ वर्ष जेल वा १ लाख जरीवाना वा दुवै सजाय हुन सक्छ ।

उजुरी दर्तापछि प्रतिक्रिया दिँदै विसीले यस घटनाको भिडियोमा आएका प्रतिक्रियाबाट आफूलाई मानसिक असर परेकाले उजुरी दिन वाध्य भएको बताए । पछिल्ला दिनहरुमा देशभरबाट मानिसहरुले आफूलाई फोन गरेर सहानुभूति दिइरहेको उनले सुनाए ।

आफूले सम्वन्धित पक्षसँग माफी मागिसकेकाले सो घटनाको भिडियो यूट्यूवबाट हटाउनुपर्ने पनि विसीले माग गरेका छन् । यसका लागि उनी म्युजिक भिडियो कलाकार संघका साथीहरु लिएर भोली फेरी प्रहरीमा जाने तयारीमा छन् ।

भृकुटीमण्डपमा राष्ट्रिय दोहोरी गीत प्रतियागिताका उद्घाटनका दिन विसीको एक यूट्यूव पत्रकारसँग लफडा परेको थियो । यूट्यूव पत्रकारले एक कलाकारको अन्तरवार्ता लिएको बेला विसी बीचबाट हिँडिदिएका थिए । त्यसपछि क्यामराम्यानले आफूलाई घुरेर हेरेको भन्दै उनले पिट्ने धम्की दिएका थिए ।

No comments:

Post a Comment