बागलुङको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ ।

बागलुङ सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका-३ धम्जामा दलित र गैरदलितहरू बिचको विभेदले ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने सामाजिक मान्यता समेत गलत सावित हुन पुगेको छ ।

धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय आजभोलि एक अर्काको जन्ती र मलामीसमेत जान छाडेका छन् । केही समय पहिलेसम्म जन्म र मृत्यु संस्कार पर्दा समूहमा जम्मा हुने, विवाह, व्रतबन्ध जस्ता कार्यमासमेत एक अर्कालाई निमन्त्रणा गर्ने गरेकामा आजकल सो परम्पराबाट उनीहरू अलग्गिएका छन् ।

पछिल्लो दुई महिनायता धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय एकआपसमा बोलचाल गर्नसमेत छाड्न थालेको स्थानीय भविलाल बिकले बताए । ‘यो गाउँमा केही महिना पहिलेसम्म कसैको बिहेवारी र मृत्यु शोकमा छिमेकी गाउँसम्म एक साथ जाने चलन थियो । तर, केही समययता बिहेवारी हुँदा एकआपसमा निम्तो पनि नगर्ने र गरिहाले पनि निम्तोमा नजाने प्रवृत्ति सुरू भएको छ ।’-बिकले भने ।

‘गत वैशाख ६ गते मेरी छोरीको बिहे थियो । गाउँका सबैलाई निम्तो पनि गरेको थिएँ । तर, कथित उपल्लो ‘विष्ट’ जातिका कोही पनि आएनन् ।’-बिकले भने-‘दलित समुदायकोमा नजाने भनेर सरसल्लाह नै गरेका रहेछन् । मैले यहाँका अगुवाहरूलाई विशेष अनुरोध गर्दासमेत कोही पनि आएनन् ।’

गाउँघरमा जातीय विभेद विस्तारै कम हुँदै आएको भनिए पनि ठूलो भोजभतेरमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै व्यवस्था गरिँदै आएको छ ।

बिहेवारीमा मात्र होइन, विभेदका घटनाले मान्छे मर्दा मलामी जाने जस्तो विषयमा समेत दुवै समुदाय एकअर्काप्रति कठोर रूपमा प्रस्तुत हुन थालेका छन् । गाउँका छिमेकी रहेका रणबहादुर बिककी को मृत्यु हुँदा घरदेखि सागर जाने असौजेका कुनै पनि गैरदलित सो कार्यमा सहभागी भएनन् । सागर जान भनेर हिँडेका सर्सबहादुर श्रीषलाई पनि स्थानीय गैरदलित समुदायले बिच बाटैबाट फर्काएको दलित समुदायको भनाई छ ।

गाउँघरको एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठूलो खलल आएको स्थानीय अमरबहादुर श्रीषले बताए । ‘पुर्खौँदेखि मिलेर बसेको समाजमा अहिले फेरि गम्भीर फुट आएको छ ।’- उनले भने-‘यो विषय कुनै व्यक्ति विशेष र समुदायको नभएकाले कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । सिङ्गो समुदाय र सम्बद्ध निकाय सबै गम्भीर बन्नुपर्छ ।’

सहर बजारमा जातीय विभेद विरूद्ध चर्का भाषण र कार्यक्रमहरू भइरहेको समयमा यस्ता घटनाले आफूहरूलाई पनि झस्काएको वडाध्यक्ष यामबहादुर श्रीषले बताए । ‘विभेदले समाजमा गहिरोसँग जरा गाडेर बसेको छ । अहिले विभेदको रूप फेरिएर झनै डरलाग्दो परिदृश्य देखिएको छ । यसले हामीलाई गम्भीर बनाएको छ ।’-अध्यक्ष श्रीषले भने-‘यो संविधानमा लेखेर, ऐन कानुन बनाएर मात्र रोकिँदैन । यसका लागि सोच, चिन्तन पनि समयक्रमसँगै बदलिनुपर्छ । स्थानीय स्तरमै नागरिकहरूलाई सचेत बनाउन आवश्यक छ ।’ विभेद अन्त्यका लागि जनप्रतिनिधिका हिसाबले खेल्ने सबैखाले भूमिका आफूले निभाउने उनले प्रतिबद्धता जनाए ।

No comments:

Post a Comment