रोल्पाको थबाङ गाउँपालिकाद्वारा ‘दलित छात्रवृत्ति अक्षय कोष’ स्थापना

विभेद बिरुद्ध  अभियान  - बैसाख २ - रोल्पाको थबाङ गाउँपालिकामा दलित विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘दलित छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ । मगर बाहुल्य रहेको थबाङमा न्यून संख्यामा रहेका दलितलाई शैक्षिक सहयोग गर्ने उद्देश्यले गाउँपालिकाद्वारा दलित छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा अक्षय कोष स्थापना गर्न १५ लाख बजेट विनियोजन गरेको थियो ।

उक्त कोषबाट गाउँपालिकामा रहेका तीन वटा माध्यमिक विद्यालयका दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रबन्ध मिलाइनेछ । ‘दलितको अवस्था सुधार्न तथा उनीहरुको शैक्षिक अवस्थामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।’ थबाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले भन्नुभयो, ‘एसईई उत्तीर्ण गरेका दलित विद्यार्थीलाई उक्त कोषबाट आर्थिक सहयोग दिइनेछ ।’ गाउँपालिकाले तीन विद्यालयमा बेग्ला बेग्लै ५/५ लाखको अक्षय कोष स्थापना गर्न सहयोग गरेको हो ।  तत्कालीन माओवादीले थबाङलाई एक मुख्य आधार मानेर थालेको सशस्त्र द्वन्द्वका क्रममा दलितले समेत महत्वपूर्ण योगदान गरेका थिए । 

उहाँले आगामी आर्थिक वर्षमा दलितलाई आयमूलक व्यवसाय गर्न प्रोत्साहित गरिने योजना ल्याउने समेत बताउनुभयो । छात्रवृत्ति अक्षय कोष मार्फत उच्च शिक्षा अध्ययनमा दलित विद्यार्थीले लाभ पाउने उहाँको भनाई छ ।  गाउँपालिकाले हाल तीन विद्यालयमा करिब २ सय दलित विद्यार्थी अध्ययनरत छन् । गाउँपालिका भित्र रहेका विद्यालयबाट उच्च अंक प्राप्त गरेर एसईई उत्तीर्ण गर्ने दलित विद्यार्थीमध्येबाट छनौट गरेर उक्त अक्षय कोषबाट छात्रवृत्ति प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । अध्यक्ष बीरबहादुर घर्तीमगरले सुदूर उत्तरी रोल्पाको थबाङ गाउँपालिकामा शैक्षिक सुधार गर्न शिक्षासँग सम्बन्धित योजनामा ध्यान दिइएको बताउनुभयो । 

विगतको सशस्त्र द्वन्द्वका कारण पीडित भएकाहरुलाई सहयोग गर्न गाउँपालिकाले विभिन्न प्रकारका सहयोगका कार्यक्रम ल्याएको छ । उक्त सशस्त्र द्वन्द्वका पीडितहरुको स्वास्थ्य बीमा बनाउन गाउँपालिकाले १४ लाख बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा अधिकांश बजेट भौतिक विकासका लागि बिनियोजन गरिएपनि आउँदो वर्षमा सामाजिक विकासका लागि पनि बजेट विनियोजन गर्ने योजना रहेको गाउपालिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । 

पूर्वाधार विकासमा थबाङले ४१ प्रतिशत बजेट विनियोजन गरेको छ ।  जनप्रतिनिधिहरुले थबाङलाई कृषि, पर्यटन, जैविक उत्पादनको अवस्था सुधार गरेर विकासको मूलधारमा ल्याउन पहल थालेका छन् । पशुपालन तथा कृषि क्षेत्रको विकास गर्न गाउँपालिकाले ६८ लाख ५५ हजार बजेट छुट्याएको छ । जिल्लाको उच्च स्थानमा रहेको थबाङ गाउँपालिकामा आलु, लसुन र स्याउ उत्पादनमा पकेट क्षेत्र बनाउने योजना छ । महत्वपूर्ण जडिबुटीको उत्पादन हुने भएकाले पाँच औंले, टिम्मुर लगायतको उत्पादनमा सहयोग गर्ने योजना रहेको छ ।

No comments:

Post a Comment