विभेद बिरुद्ध अभियान - बझाङ, वैशाख ७ – सदरमुकाम समेत रहेको तत्कालिन चैनपुर गाविसकी आशा रसाइली (सुनार) ले स्थानीय बिक थर भएका युवासँग प्रेम विवाह गरिन ।
कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती पक्ष आक्रोशित भए । उनीहरुले आशासँग विवाह गरेका लोकेन्द्र बिकको घर तोडफोड गरे । दोहोरो झडप भयो । लोकेन्द्रका दाजुहरुसहित आशाका माइती पक्षका युवाहरु पनि घाइते भए ।घटना प्रहरीमा पुग्दा अर्कै मोड लियो । ज्यान मार्ने उद्योग गरेको भन्दै दुवै पक्षले मुद्धा दायर गरे । दुवै पक्षका १२ भन्दा बढी पक्राउ परे । लामो समयसम्म मुद्धा चल्यो । विवाह भएको ८ वर्षपछि मात्र गएको दशैंमा आशाका माइती पक्षले यो सम्बन्ध स्विकार गरे । ‘मेरा घरका आमा बुवा भन्दा पनि छिमेकीहरु सबैले तेरो छोरीले जात फाली भनेर उचालेर यस्तो घटना भएको हो’, आशाले भनिन ‘ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा चलाए पनि भित्री कारण भनेको तल्लो जातसँग बिहे गरेको आक्रोशमा यो घटना भएको डिबी विष्टले उज्यालोमा समाचार लेखेका छन् ।’
त्यो घटना ८ वर्ष पुरानो हो । दुई वर्ष अघि बझाङ घर भएर कञ्चनपुरको बंकमा बसोवास गर्दै आएका रबी बादीले बंक जातकै बिक थर भएकी एक युवतीसँग प्रेम विवाह गरे । तल्लो जातले छोरी भगाएको भनेर बिक परिवारले रबीकी आमा, बहिनीलगायतका आफन्तहरुलाई निर्धात कुटपिट गरे ।
घटनाको प्रत्यक्षदर्शी चैनपुर घर भएकी रबीकी दिदी राधा बादीले भनिन् ‘भाइबुहारी भागिसकेका थिए । उनीहरुलाई लुकाएको भनेर हामीलाई धेरै धम्क्याए, कुटपिट गरे । आमाको छातीमा कुल्चिए । कुटाइ त हामी सबैले खायौ । मारिदिने धम्की दिन थाले पछि त्यहाँको घर नै छोडेर भाग्यौं ।’बिक परिवारको डरले बंकबाट रबीको परिवार नै विस्थापित भयो । अहिले उनीहरु कैलाली जिल्लाको अत्तरियामा बसोबास गरिरहेको राधाले बताउनुभयो ।
यी दुई घटना दलितभित्र रहेको छुवाछुतको अवस्था झल्काउने साना उदाहरण मात्र हुन् । सार्वजनिक भएका यी घटनाहरुले मात्र दलित भित्रको रहेको छुवाछुतको समग्र अवस्था व्याख्या गर्न सकिन्न । भुक्तभोगीहरु अहिले पनि दलित भित्रको छुवाछुतको अवस्था अत्यन्तै क्रुर र दयनिय रहेको बताउछन ।
‘कहिले पानी छोएको, कहिले भाँडा छोएको, खानेकुरा छोएको भनेर हाम्रा केटाकेटीहरुले कुटाइ नखाएको दिनै छैन’, सदरमुकाम चैनपुरकी किथ्थी बादी भन्छिन् ‘अबोध बच्चाहरु आँखैं अगाडि कुटपिट हुँदा पनि हामी केही बोल्न सक्दैनौं । बोल्यो भने हामीलाई नै कुटपिट गर्छन । छिमेक मै उनीहरुको घर छ । दिन दिनै बादीहरु तिम्रा छोराछोरी सम्हाल भनेर गाली नखाएको दिन छैन ।’
उनको छिमेकमा सुनार, रसाइली, बिक र दमाई जातीका दलितहरुको बसोवास छ । ‘बरु गैर–दलितहरुले पहिलाको जस्तो छोइछिटो गर्न छोडिसके । दलितहरु सुध्रिएका छैनन’, जानु बादीले भनिन्, ‘उनीहरुमा खाएको भाडा आफैले धुनुपर्छ । धोएर मात्र हुँदैन । भाडा राम्रोसँग सुकेपछि गहुंत वा सुनपानी छरेर मात्र शुद्ध भएको मान्छन । हामीलाई घर भित्र पस्न त के नजिक बस्न पनि दिँदैनन ।’
दलित भित्र पनि जातिगत तह छन । बझाङमा दलित भित्रको सबैभन्दा ठूलो जात सुनार मानिन्छ भने सबैभन्दा तल्लो जात (दलित भित्रको पनि दलित) बादीलाई मान्ने गरिन्छ । दलित भित्रको जातिय तह यतिकैमा टुँङ्गिदैन । च्याम्यां, हुड्के आदी जातहरुलाई पनि बादीकै हाराहारीको स्थान दिइन्छ । बादी, च्याम्यां, हुड्के जातले छोएको पानी अन्य कुनै पनि दलितले खाँदैन ।
बादीभन्दा एक स्थान माथि दमाई जातलाई मान्ने गरिएको छ । दलित भित्रको जातिय बर्गिकरणमा दमाइभन्दा माथि सार्कीलाई राखिएको छ भने सार्कीभन्दा माथिको स्थानमा कामीलाई राख्ने गरिन्छ ।
सुनार, कामी आदी जातलाई सार्की र दमाइले छोएको पानी चल्दैन भने दमाइको हातको पानी सार्कीहरुले पनि खाँदैनन । प्रत्येक जातका मन्दिरहरु पनि अलग–अलग नै छन् । कथित तल्लो जातका लागि माथिल्लो जातको मन्दिरमा पूजाआजा गर्न बन्देज छ ।
जिल्ला भरका दलितहरुमा पनि बादी, दमाइ, सार्की, कामी र सुनार जातका खानेपानीका धारा र कुवा अलग्गै छन । एउटाको धारामा अर्काेले छोए जरिवाना तिराइन्छ । आफूले पनि पटक–पटक दलित भित्रैबाट छुवाछुत र भेदभावको सामना गरेको एक गैरसरकारी संस्थाका कार्यक्रम संयोजक समेत रहेका जयपृथ्वी नगरपालिकाका श्याम नेपाली बताउनुहुन्छ ।
‘दलित र गैरदलितको बीचको छुवाछुतको बढी चर्चा हुने गरेको छ’, नेपाली भन्नुहुन्छ, ‘दलितहरुबाटै दलितलाई भएको विभेद त्यो भन्दा चर्काे छ ।’ उहाँले कतिपय उपल्ला जातका दलित अधिकारकर्मीहरुबाटै समेत तल्लो भनिएका जातमाथि छुवाछुत र विभेद भएको आफ्नै आँखाले देखेको बताउनुभयो ।
कानुनमा दलित गैरदलित भनेर नछुट्याइएको र दलितले पनि दलितलाई भेदभाव गरेमा कारबाही गर्ने व्यवस्था रहेको भए पनि कानुनी उपचार खोज्नका लागि कोही पनि नआउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी क्रृषिराम कँडेलले बताउनुभयो ।
No comments:
Post a Comment