दृश्यले दुखेको मन - डीबी विष्ट

विभेद बिरुद्ध अभियान - चैत्र २५, सरकारले जातीय छुवाछुत मुक्त भनेको वर्षौं भयो । तर विभेद बझाङका ग्रामीण भेगमा अझै उस्तै छ । तस्बिरमा देखिएको यो दृश्यले पनि विभेदको अवस्था बुझिन्छ । जयपृथ्वी नगरपालिका वडा नम्बर-८ मा काम गर्दा गर्दै तिर्खाएका ज्ञानबहादुर ओडले पानी छोइने डरले आफै जर्किन समातेर पानी खान पनि मान्नुभएन । 

गहुँ लगाउने तयारीमा व्यस्त ज्ञानबहादुर खेत खन्दा खन्दै तिर्खाए । नजिकै भएका सबैले पानी खान आग्रह गरेपनि उहाँले आफै जर्किन समातेर पानी खानु भएन । पछि सानो केटाले पानी खन्याइदिएपछि उहाँले खानुभयो । यो दृश्यले छुवाछुतले कसरी भित्रैसम्म बास बनाएको छ भन्ने देखिएको छ । यो यहाँको सधैँको दृश्य हो ।सदरमुकाम चैनपुरलगायत केही बजार क्षेत्रमा दलित र गैरदलितबिच धेरै विभेद नदेखिए पनि जिल्लाका अधिकांश ग्रामीण बस्तीमा भने दलित र गैरदलितबिच छुवाछुत कायमै छ । अहिलेसम्म जिल्लामा दलितहरुले खुलेर गैरदलितहरुको घर भित्र पस्न सकेका छैनन् भने दलित र गैरदलितको हातको पानि समेत चलेको छैन । 

गैरदलित र दलितबिच जातीय विभेद परम्परादेखि रहँदै आए पनि दलित भित्रका जातीमा पनि उत्तिकै छुवाछुत देखिन्छ  । एकै गाउँमा दलित र गैरदलितको बसोबास हँुदासमेत पानीका धारामा छुवाछुत हुने गरेको छ । यसका साथै विवाह ब्रतबन्ध, भोज भतेरजस्ता कार्यक्रम पनि दलित र गैरदलितको सहभागीता एकसाथ हुन सकेको छैन ।  

जयपृथ्वी नगरपालिका–८ घर भएका ५५ वर्षका ज्ञानबहादुर कानुनमा जे जस्तो लेखिएको भएता पनि दलित गैरदलित बिचको जातीय विभेद हट्न अझै धेरै वर्ष लाग्ने बताउनुहुन्छ । ‘हामी दलित पनि गैर दलित सँग पानी चलाउन अप्ठेरो लाग्छ, उनिहरु त झन् मान्ने नै भए’ उहाँले भन्नुभयो, ‘गाँउका दलितहरु अझै परम्परागत पेशा अँगालेर गैरदलितहरुको खलिया हलिया भएर छाक टारीरहेका छन् । दलितलाई अझै तल्लो जात भनेर हेर्ने प्रचलन कायमै छ । यो समस्या हट्न गाह्रो देखिन्छ ।’ 

ज्ञानबहादुरको जस्तै कोटभैरवका मदन ओडको पनि भोगाई छ । ‘जहाँसम्म दलित र गैरदलितहरुको आर्थिक हैसियत समान हँदैन त्यहाँसम्म सामाजिक रुपमा दलितहरु पछाडी नै पर्ने छन्’ उहाँले भन्नुभयो, ‘दलित जातीका बयोवृद्ध मान्छे भए पनि उपल्लो जात भनिने साना बालबालिकालाई रिथिहजुर भन्ने, जौ भनेर ढोग्ने प्रचलन कायम छ ।’ दलित र गैर दलितमा जातीय विभेद भए जस्तै दलित भित्रका सुनार, दमाई, सार्की, लुहार, चदारा, कामी, बादी जातीमा पनि आन्तरिक जातीय विभेद कायमै देखिन्छ  ।

‘यी जातीभित्र पनि उच निचको भेदभाव भएर विवाहबारी हुँदैन भने, कुनै कुनै जातीमा त पानीसमेत चल्दैन । गाउँघरमा दलित र गैरदलितका देवताका मठमन्दिर समेत अलग अलग छन्’ दंगाजीका हर्क दमाईले भन्नुभयो, ‘हामी जातीमा त छुवाछुत छ, यहाँ देवता देवतामा समेत विभेद छ । देवता पनि दलित र गैर दलितका हुन्छन् र ! मठमन्दिर छुएमा गाईको गहुँत छर्केर शुद्ध गर्ने प्रचलन छ ।’ 

‘जातीय छुवाछुतको बझाङमा सामान्य सुधार भए पनि अझै समस्या विकराल छ’ दलित अगुवा ईन्सेक प्रतिनिधि प्रकाश विकले भन्नुभयो, ‘सदरमुकामका होटेलहरुमा समेत दलितलाई छुवाछुत गरेको देखिन्छ ।’ गैरदलित र दलित बिचको जातीय विभेद अझै यथावत हुँदा पनि यसलाई न्युनीकरण र रोकथामका लागि सरकारी तथा गैर सरकारी निकायहरुबाट भने बझाङमा कुनै कार्यक्रम तथा योजना बनाएका देखिँदैन । 

समाजमा पुस्तौँदेखि जरा गाडेको जातीय छुवाछुत विद्यालयका बालबालिकाहरुमा समेत देखिएको हुँदा यो समस्या हट्नु निकै चुनौती रहेको दलित समाजसेवी सुनिल दमाईको बुझाई छ  । 

‘जिल्लामा जातीय छुवाछुत रहेको कुरा सुनिनमा आएको छ’ प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भन्नुभयो, ‘तर यस्ता जातीय छुवाछुतका उजुरी भने आएका छैनन् ।’  जिल्ला विकास समितिको तथ्याङ्कअनुसार बझाङ जिल्लामा झण्डै १२ हजार घर परिवार दलित समुदायका छन् ।

No comments:

Post a Comment