माया प्रेम त फर सि जस्तै रहेछ ...! - गोपाल शिवा


विभेद बिरुद्ध अभियान , बैसाख १ - कोया ....एक जना फिलिपिनी युवतीले उसकै भाषामा मलाइ बोलाई । उसको देशको जस्तो लागेर बोलाएकी ति युवतीलाई म कोया होइन नेपाली हो भने यधपी सब्दको अर्थ मलाई थाहा थियो.... बोर्डिंग पास हराएको रहेछ मैले फेरी लिन मद्दत गरे ....यस क्रममा केहि बेर भलाकुसारी गर्यौ । आफ्नो देश फिलिपिनस फर्किदै गरेकी उसले कुरै कुरामा आफ्नो पेटमा भएको बच्चा आफ्नो नेपालीको भएको सुनाइ। डेलिभरी गरेर बच्चा उतै आफ्नो परिवार संग छोडेर फर्किने योजनाका साथ् जान लागेकी रहेछिन। अनि मैले सोधे बच्चा पनि हुने भै सकेछ अनि नेपाली संग बिहे चै गर्दैनौ र ?  मुन्टो हलाउदै गर्दिन भनि ....अनि समाजले परिवारले केहि भन्दैन मैले आश्चर्य मिश्रित प्रति प्रश्न गरे । अरुले मेरो बारेमा के सोच्छ भन्ने कुराले मनमा चाहिने नचाहिने कुराहरु खेलाउँने मान्छे म होइन र हामी  फिलिपिनीको सस्कार पनि छैन ..हाम्रोमा बच्चाको बाउ को हो भन्ने ठुलो कुरा होइन । के कसैको मायामा पर्नु वा कोही प्रति आर्कषित हुनु त्यो अपराध हो ?  बरु त्यसलाई आफू भित्र गुम्साएर राख्नु चाहिँ एक किसिमको अपराध हो । हामी त मनका कुरा नबाँधेर खुल्ला रुपमा अगाडि आउन दिने हौ ।फिलिपिनी युवतीले छोटै भेटमा आदर्श प्रेमको ढोल पिटेर गई ।

यस्तै केहि साता अघि फर्वानिया स्थित गार्डेनमा थिए ...म भन्दा अघि एउटा नेपालीहरुको झुण्ड ग्रुप बनाएर अघिल्लो कुनामा बसेका थिए । तिन्नै मध्ये एक मित्र माईत गएको कारण झिकेर श्रीमतीलाइ ठुलो स्वरमा थर्काउदै थिए फोनमा शंका अनि उपशंका गरेर आरोप प्रत्यारोप लगाउँदै थिए .....घर सवारी भएको दिन कल गर भन्दै मित्रले फोन काटे । उनको वार्तालाभ सुनेका साथीहरुले कुरा झिकी हाले त चै यता  ‘सात बार, सातै मायालु’ भन्दै गलफ्रेन्ड बनाउने , रमाउने बिचरा भाउजुलाई २ दिन माइत जादा पनि .......! अहिलेसम्म दर्जनौँ केटीसँग अफेयर गरे हुला, आफु त ‘दुई दिनको जिन्दगीमा साथी हो भेटेजति रमाइलो गर्ने हो ।तर यताको लभ त बाहिर बसुन्जेलको रमाइलो मात्र हो जिन्दगि बिताउने त् घरकी संगै हो त्यहि भएर छाडा छोड्नु हुन्न क्या ...चर्ने बानी लाग्छ  ।

अघिल्लो घटना प्रेम र प्रेमिका एव दोस्रो घटना श्रीमान र श्रीमती बीचको नितान्त ब्यक्तिगत घटना भएकाले यसलाई ढोल पिट्नु पर्ने आवश्यकता छैन र ढोल पिट्ने मेरो अभिप्राय पनि होइन । तर यी दुई बिषय बस्तुको साक्षि बने देखि जीवनशैलीका केही सोचनीय पाटाहरुबारे मनमा आएका कुराहरु केलाउन मन लागेको छ ।
 नेपाल हुँदा दु:ख , बाध्यता, अभाव र अवसरबाट बञ्चित भई बेरोजगारीले दिन दिनै आक्रान्त बने पछि जीवनमा पैसा कमाएर आफू र आफ्नो परिवार तथा आफ्नो जीवनको उज्ज्वल भविष्यको सपना बोकेर विदेशिनु हामी नेपालीहरुको दिन चर्या जस्तै भएको छ । फलस्वरूप सुन्दर सपना बोकेर विदेश जाने भनेर बुरुक बुरुक खुट्टा उचालेका दाजुभाई दिदीबहिनीहरु दैनिक १०/१५  सयको हाराहारीमा वैदेशिक रोजगारमा आएका छन ।  सुन्दर सपना बोकेर बिदेशिएर र्फकंदा कति रित्तो हात ,रोग र मानसिक तनाव बोकेर समेत फर्किएका छन् त कति मनमा सजाएका कतिपय सपना पुरा नभएपनि मन बुझाउन बाध्य भएका छन ।

अपवादमा लागु नहोला तर वैदेशिक जीवन सरल र सहज हुदै गए पछी एक्लोपन , यौन कुण्ठाले धेरै प्रदेशीहरुमा छटपटि सुरु हुन्छ  । यहि छटपटि बाट  मुक्ति पाउन कोहि मन मिल्ने, तँन मिल्ने साथी फेला पर्छन् कि भनेर भौतारि रहेको हुन्छ आत्माहरु । जसको विकल्प इन्टरनेटको पहुच ,सामाजिक संजाल मार्फत इच्छाएको ब्यक्तिसँग चाहेको समयमा गर्न मिल्ने भिडियोकल  , आयोजना हुने कार्यक्रमहरु  , भेला , सुपर मार्केट र चिनजानहरु बनिदिन्छ । त्यस पछी चिनजान मानसिक भन्दा धेरै शारीरिक रुपमा आर्कषित हुन् थाल्छ । अनन्त आधुनिकिकरणको बदलिँदो बेगसँगै चिनजान र माया प्रेमको कुराले यसरी जोडिएका भावनालाई नियन्त्रण गर्न नसकिने भइ दिन्छ ।यो मायालाई कति समय सम्म टिकाउन सकिन्छ भनेर तन  मन धन सुम्पिने क्रममा व्यक्ति रित्तो भै सकेको हुन्छ । फलस्वरूप जसरी देशमा श्रीमान श्रीमती छोडेर यता आएर आफ्नो एक्लोपन र यौन कुण्ठाको निकास खोज्न सम्बन्ध बनाउछन त्यसतै गरि एक पछी अर्को सम्बन्ध बनाउने र आफू अनुकूल प्रयोग गर्नु पर्ने बाध्यता संगै खेलाडी भै सकेका हुन्छन । अनि प्रेमका नाममा भेटेजति रमाइलो गर्ने सोच पालेका तिनै नेपाली मित्रले जसरी सात बार, सातै मायालु भन्दै ब्वाइफ्रेन्ड र गलफ्रेन्ड बनाउने एक किसिमको खेल चलिरहन्छ ।

त्यसो त प्रेम निःस्वार्थ हुन्छ भनिन्छ तर प्रेम गर्ने सात बार, सातै मायालु शैली हेर्दा माया प्रेम त फर सि जस्तै लाग्छ ... केहि अघि आदरणीय केपी शर्मा ओलिले सुनाएको फर्सीको कथा जस्तै । कथामा नेपाल घुम्न आएका अमेरिकनले ठुलो फर्शी देखे पछी  के हो यो भनेर सोधेछन  ? बेच्ने मान्छेलाई अमेरिकनको भाषामा पम्पिंकन भने थाहा हुदैन र  फर्सी भंदिन्छन । फर सी आफ्नो देशमा सानो सानो पमकिन देखेका अमेरिकनलाई पनि बडो उत्सुकता लाग्छ र  किनेर अमेरिका लिएर जान्छन । त्त्यस पछी बडा जतनको साथ् हावा नलाग्ने गरि सिसाको फ्रेममा सजाएर राख्छ । अलि पछि बाहिर सम्म निकै दुर्गन्ध आउँन थाल्छ  ...  सिसा खोलेर औलाले यसो छोई हेरेको... भित्र भित्रै कुहेर सवै खत्तम भएको फर्शी सवै फत्तफत्ति कुहेर फताकफुतुक हुन्छ ...अनि उसले बुझछ मलाइ भन्न त् भनेको थियो मैले छोए ...छोए पछी प्वाल पर्यो बिग्रियो त्यसकारण पो उसले फर सि भनेर भनेको रहेछ  । ठिक त्यस्तै माया प्रेम पनि फर सी जस्तै भएको छ। बिबिध कारणले  टाढा भएका प्रेमिलहरुको आस्था र बिस्वासलाइ सिसाको फ्रेममा सजाएर राखेका छन् तर जब त्यसलाइ सत्यको छडीले घोचेर हेर्नु हुन्छ सवै फत्तफत्ति कुहेको पाउनु हुनेछ ।परदेशको मायाको हिसाब मिलाउने ध्याउन्नमा घरदेशको मायामा रहेका धेरै कुराको हिसाबकिताब बिग्रिँदै भित्र भित्रै कुहिदै गएको छ ।

भलै फिलिपिनमा बिना विवाहा पनि कुनै रोकटोक बच्चा जन्माउने र लिएर जाने छुट होला, फिलिपिनी चेलीले भने चै मनका कुरा नबाँधेर खुल्ला रुपमा हिड्ने सस्कार होला तर हाम्रो जस्तो शारीरिक सम्बन्ध पछि केटा मान्छे फुर्किने र केटी मान्छे चाही पश्चतापमा पर्ने सामाजिक बस्तुस्थिति र परिवेश भएको समाजमा मायामा परेको जोडीले शारीरिक सम्बन्धलाई कुन पारामा लैजाने भनेर जहिले पनि सोच्नुपर्छ । माया र चाहनालाई एकै साथ राम्रो सँग लैजान सक्नुपर्छ । कतिले सवै कुरा लाथालिंग भताभुंग पारेर आफ्नै मात्र प्रवाह गरेर स्वार्थी संसारको गोरेटोमा मनमौजी हिडिरहेको नि मैले देखेको छु । १२० केडी  तलब खाने दाजुभाइले ६० केडीमा कोठा लिएर यतै बिहे गरेर बस्ने र  १८ घण्टा घरमा काम गरेर थापेको ९० केडीबाट आफ्ना प्रेमीहरुलाई महंगा घडी र उपहार किनेर नानी भन्दा आची ठूलो ! भने झैँ गरेर आफ्नो मनोभावनाको व्यवस्थापन गर्न नसक्दाको परिणामहरुले भोलिको दिनमा मायाको नाममा जे पनि हुन सक्छ ।

तसर्थ समग्रमा भन्नु पर्दा आज मानवीय सम्बन्धहरु कमजोर हुँदै गैरहेको कुरो कसैले नकार्न सक्दैन । हो हामीलाई केही कुराको चाहना छ भने त्यसलाई दबाएर राख्नुहुदैन । किनकी जीवन चाहनाको भण्डार हो ।  तर,यसरि तँन मन धन सुम्पने आत्माहरुले मोजमस्तीले क्षणिक आनन्द दिए पनि भविष्यमा सकारात्मक प्रभाव पर्छ भन्ने बारेमा इमान्दार भएर सोच्नु पर्छ  किनकि सम्बन्ध भनेको जहिलेपनि दोहोरो हुनुपर्छ । एकले अर्कोलाई सम्मान् गर्ने । नभए सम्बन्ध लड्खडाउँछ । असन्तुलित हुन्छ ।त्यसैले आफ्नो सम्बन्धलाई सुरक्षित बनाउने र राख्न चाहने जिम्मेवारी भनेको म पात्र बाट नै सुरुवात हुनु पर्छ ।

No comments:

Post a Comment