२५ वर्ष भारतमा र ३ वर्ष कतारमा बसेर फर्किएका इन्द्रबहादुरले फेरि आरन थाले

विभेद बिरुद्ध अभियान -   बैसाख १  । २८ वर्ष विदेशमा बसेर फर्किएका म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका इन्द्रबहादुर विकको दैनिकी आरनमा बित्छ । बिहानैदेखि आरन चलाएर घ्वार–घ्वार पार्नु, गोलमा फलाम पगालेर आवश्यकता अनुसार आकारदिनु उहाँको काम हो । 

विदेशबाट फर्किएपछि ७ वर्षदेखि आरनमै उहाँको दिन बित्छ । २५ वर्ष भारतमा र ३ वर्ष कतारमा बसेर इन्द्रबहादुर गाउँ फर्कनुभएको हो । फर्किएपछि उहाँले ‘बालीघरे प्रथा’ आरन थाल्नु भएको हो । आफ्नो बाबुबाजेले गर्दै आएको र आफूले पनि जानेको पेशा भएकाले उहाँले यहि काम थालेका बताउनुभयो । त्यसो त विदेशमा पनि फलामसम्बन्धी नै काम गर्नुहुन्थ्यो इन्द्रबहादुर । 

पुर्खौली पेशालाई उहाँले अहिले दर्ता गर्नु भएको छ । लालीगुराँस ग्रील उद्योग दर्ता गरी आरन पेशा सञ्चालन गर्नु भएको हो । झण्डै तीनलाख रुपैयाँको लगानीमा उद्योग दर्ता गरेर आरन पेशा चलाएको उहाँले बताउनुभयो । 

आरन पेशाबाट वार्षिक रुपमा दुईलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाई छ । आरन पेशाबाट आएको आम्दानी घरखर्च चलाउन, बालबच्चाको पढाइमा खर्च गरेर बचेको रकम गाउँकै सहकारीमा बचत गर्ने गरेको बिक बताउनुहुन्छ ।

लालीगुराँस ग्रील उद्योगमार्फत सञ्चालित विकको आरनमा फलामका सामाग्रिहरु बन्छन् । आरनमा कुटो, कोदालो, टुकटुके, हँसिया, फाली, छिना, खुकुरी, खुँडा, दावे, कृषि औजार, घरेलु हातहतियार लगायत दैनिक रुपमा प्रयोग गरिने सबै किसिमका सामानहरु बनाउनुहुन्छ । उहाँ फलामबाट बन्ने सबै प्रकारका सामान र बनाउन तिनलाई आकार दिन खप्पिस हुनुहुन्छ । खेतीपातीको समयमा त झन् उहाँलाई आरनमा भ्याइनभ्याई हुन्छ । आरन पेशा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ । व्यवसायिक रुपमा आरन पेशा सञ्चालन गरेका विकले सामुदायिक वनजङ्गल तथा व्यक्तिबाट रुख र बुटा खरिद गरेर गोल बनाउने र त्यसको सहायतामा फलामबाट विभिन्न सामान बनाउने गरेको बताउनुभयो । आफू विदेशमा रहँदा पनि फलामकै काम गरेको हुँदा गाउँ फर्किएर आरन पेशा गर्न सहज भएको उहाँको अनुभव छ । 

उद्योग दर्ता गरेका रहेका विकको आरनमा अहिले डडुवा, चिप्लेटी, पूर्णगाउँ, कुहुँ, सिमलचौर, मिठौला, तातोपानी, खानीगाउँ, ढोल्ठान लगायतका ठाउँबाट ग्राहकहरु फलामको काम लिएर आउने गरेका छन् । उहाँले फलामबाट निर्मित विविध प्रकारका सामान नयाँ बनाउनुका साथै पुराना सामान मर्मत गर्ने गरेको बताउनुभयो । विकको आरनमा विद्युतको सहायतामा फलामका सामानको वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने गरेको उहाँको भनाई छ । विद्युतको सहायतामा फलामका विभिन्न किसिमका सामान बनाउन सकिने उहाँले अनुभव सुनाएको प्रताप बानियाँ ले उज्यालो मा खबर लेखेका छन । 

कृषिप्रधान देशमा आरन पेशालाई जोड दिनुपर्ने उहाँको माग छ । अब आउने पुस्ताले पनि आरन पेशा गर्दा राम्रै कमाई हुने भएकाले विदेश नगइकन पनि घरपरिवार चलाउन र आफ्नो जीवन धान्न सकिने इन्द्रबहादुरले बताउनुभयो । ‘विगतमा आरन पेशा गर्न बिजुली र बाटो थिएन, धेरै टाढा पुगेर फलाम बोकेर ल्याउनुपथ्र्यो अनि पाँच सातदिन लगाएर फलाम बोक्नुपथ्र्यो’ उहाँले भन्नुभयो, ‘तर अहिले बाटो आएको छ गाउँमै बिजुली छ आरन पेशा सञ्चालनका लागि कुनै समस्या छैन ।’आधुनिक प्रविधि र नयाँ जमानाका कारणले मानिसले आरन पेशा गर्न छाडेको उहाँको भनाई छ । गाउँघरका धेरै मानिस रोजगारीका लागि विदेश जाँदा आरन पेशा अपनाउने कोही नभएको उहाँले बताउनुभयो ।  

बालीघरे प्रथाको रुपमा रहेको आरन पेशा पछिल्लो समय भने सङ्कटमा पर्दै जान थालेको छ । पुरानो सिप र प्रविधिमा आधारित पेशा पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने खतरा समेत बढेको स्थानीयबासिन्दा बताउँछन् । 

पछिल्लो समय विदेश जाने प्रवृत्ति ह्वात्तै बढेको, बढ्दो आधुनिकताको प्रभाव, पुरानो सिप सिक्ने मानिसमा चाहना नहुनु जस्ता कारणले आरन पेशा लोप हुन थालेको विकले दुःखेसो पोख्नुभयो । बालीघरे प्रथा जोगाउनका लागि सरकारी निकाय र स्थानीयस्तरबाट संरक्षण तथा प्रवद्र्धनको लागि आवश्यक सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । 

No comments:

Post a Comment