चितवनका टोपबहादुर विकलाई फर्काउन झन्डै २१ लाख जुट्यो

विभेद बिरुद्ध अभियान -  २७ चैत -संयुक्त अरब इमिरेट्स  -गैरआवासीय नेपाली संघ, यूएईले ‘ब्लडमनी’ बुझाउन नसकेर स्वदेश फर्कन नपाएका खैरेनी ९, चितवनका टोपबहादुर विक सुनारलाई आर्थिक सहयोग गर्न ७३ हजार दिराम (झन्डै २० लाख ६३ हजार रुपैयाँ) संकलन गरेको छ ।

२ जुन २०१४ मा क्रेन दुर्घटनाबाट दुई थाई नागरिकको ज्यान गएपछि संयुक्त अरब इमिरेट्स (यूएई) को अलऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो ।

एनआरएनए, यूएईले एक महिनादेखि ‘टोपबहादुर सहयोग अभियान’ सञ्चालन गरेको हो । ‘एउटा लेबरले एक लाख दिराम जुटाउन सक्ने अवस्था छैन । फेरि उनी आफैंले कामदारको हत्या गरेको पनि होइन । कार्यस्थलमा दुर्घटना भएको हो,’ एनआरएनए, यूएईका अध्यक्ष रमेश श्रेष्ठले भने, ‘उनी आफैं परिबन्धमा पर्न गए । उनलाई सहयोग गर्न यूएईमा क्रियाशील सबै नेपाली समाज एक भए ।’
श्रेष्ठका अनुसार एक लाखमध्ये २६ हजार दिराम संकलन हुन बाँकी छ । यो रकम एक साताभित्र उठाइसक्ने अपेक्षा गरिएको उनले बताए । टोपबहादुर आफूले क्रेन अपरेटरलाई दिएको संकेत नदेख्दा घटना भएको बताउँछन् । ‘जानेर कसैबाट गल्ती हुँदैन । सचेतता अपनाउँदा अपनाउँदै दुर्घटना हुन गयो,’ उनले भने, ‘दुर्घटनापछि झन्डै ६ महिना जेल बस्नुपर्‍यो ।’ उनी कार्यरत अलऐनस्थित लिमा कन्स्ट्रक्टिङ कम्पनी बन्द भइसकेको छ । एनआरएनकै संरक्षणमा उनी आबुधाबी बस्दै आएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार अपुग २६ हजार दिराम उठाउन अप्रिल १३ तारिख दुबईस्थित नुर अल अहलिय अस्पतालमा विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर राखिएको छ । ‘शिविरकै दिन रकम नेपाली दूतावासलाई हस्तान्तरण गरिनेछ,’ उनले भने, ‘शिविरमा आउने इच्छुक नेपालीले पनि सहयोग गर्न सक्ने व्यवस्था मिलाएका छौं ।’

No comments:

Post a Comment