वडा अध्यक्षले चुनावका बेला भोट नदिएको भन्दै केहि दलित बृद्धहरुको भत्ता रोके

विभेद बिरुद्ध अभियान , बैसाख १० - कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को बण्डकी ७४ वर्षिया किथ्थी लुहारले २०६५ सालबाट समाजिक सुरक्षा भत्ता बुझ्दै आएकी थिईन्। तर स्थानीय तहमा जनप्रतिनिधी निर्वाचीत भएर आएसंगै उनले पछिल्ला दुई चौमासिकको भत्ता पाएकी छैनन्। वडा अध्यक्ष मोहन बस्नेतले चुनावका बेला भोट नदिएको भन्दै बृद्ध भत्ता रोकेको आरोप लागेको छ। वडा अध्यक्ष बस्नेतले कृष्णपुर नगरपालिका १ बण्डका केहि दलित परिवारले चुनावका बेला भोट नदिएको भन्दै बृद्धभत्ता रोकेको आरोप लागेको हो।

७४ वर्षिया किथ्थीले बस्नेत वडा अध्यक्ष भएर आएपछि भत्ता नमिलेको गुनासो गरिन्। उनले २०७४ असार २० गते भत्ता पाएपनि त्यसपछिका २ चौमासिकको ८ हजार रकम नपाएकी हुन्। कित्थी मात्रै होईन सोही ठाँउ बस्ने घुइरे पार्कीले पनि जनप्रतिनिधी आएपछि बृद्धभत्ता पाएका छैनन। घुइरे पार्कीकी श्रीमती कमला पार्कीले चुनावका बेला अध्यक्षले मलाई भोट नदिए श्रीमानको बृद्ध भत्ता दिदैन भनेको बताईन्। बुढाको दुई चौमासिकको ८ हजार भत्ता नपाएको उनले गुनासो गरिन।

सरकारले सामाजिक सुरक्षाका नाममा वितरण गर्ने बृद्धभत्ताको अहिलेसम्मको रकम कृष्णपुरको वडा नम्बर १ को वडा कार्यालयले वितरण गरिसकेको छ। तर केहि दलित समुदायका ज्येष्ठ नागरीकहरुलाई भोट नदिएको भन्दै भत्ता नदिएपछि कृष्णपुर नगरपालिकाका मेयरका उमेद्वार समेत रहेका हरि टमटा लगायतले भत्ता बितरण स्थलमै बिरोध जनाएका थिए। आफुले भत्ता नपाएको बिषयमा सामान्य बिरोध जनाएपछि प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा चलाएको हिरासतमै रहेका टमटाले बताए।

‘अघिल्लो चौमासिकमा पनि दलित समुदायका केही बृद्धबृद्धाले भत्ता नपाएका रहेछन्, यसपालि पनि अरुलाई भत्ता वितरण गरिएछ उनीहरु म कहाँ आए’ दिनेश खबरसँग टमटाले भने, चैत ३० गते सामुदायिक स्वास्थ्य इकाई निगालीमा भत्ता वितरण हुदै थियो, मैले भत्ता दिनुपर्छ किन रोकेको भन्दा प्रहरी बोलाएर उल्टै मलाई हिरासतमा राखेका छन्।’ टमटाले वडा अध्यक्षमाथी हातपात गरेको र सरकारी कागजात च्यात्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिइ सार्वजनीक मुद्धा चलाएको हो।

यता भोट नदिएपछि भत्ता रोकेको आरोप लागेका वडाअध्यक्ष मोहन बस्नेतले भने वडा कार्यालयबाट नगरपालिकामा नाम सिफारिस गरिसकेको दाबि गर्दै विविध कारणले नाम छुटेको बताए। ‘भत्ता नपाएकाहरुका विषयमा छलफल सुरु भइसकेको छ वडा अध्यक्ष बस्नेतले भने’, ‘छुटेकाहरुको भत्ता मिली हाल्छ।’ वडा अध्यक्ष बस्नतेले प्राविधिक त्रुटीका कारण भत्ता रोकिएको बताएपनि ८ महिनासम्म उक्त त्रुटी नसच्चीनु भनेको जनप्रतिनिधिहरुको लापरवाही हो। दुई चौमासिकको बृद्धभत्ता रोकेपछि आक्रोसीत दलित परिवारहरुले बिरोध जनाउदा एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा चलाएपछि विवाद झनै बढेको छ।

No comments:

Post a Comment