दलित समुदायका पत्रकारहरुको समस्या र सुझाव संकलन

बिभेद बिरुद्ध अभियान-  वैशाख १४,काठमाडौँ — कथित दलित समुदायका पत्रकारलाई सञ्चार माध्यममा अर्थपूर्ण सहभागिता बढाउन आवश्यक रहेको दलित पत्रकारहरुले धारणा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको दलित पत्रकार समितिले राजधानीमा शुक्रबार गरेको छलफल कार्यक्रममा यस्तो धारणा आएको हो । समितिले नयाँ वर्ष २०७५ को शुभकामना आदान–प्रदान संगै दलित समुदायका पत्रकारहरुलाई भेला गराई उनीहरुको समस्या र सुझाव संकलन गरेको थियो । जसमा कार्यक्रममा सहभागी पत्रकारले आफ्नो समस्या र चुनौति बताएका थिए । समितिकी संयोजक मधु शाहीले दलित समुदायका पत्रकारको हितमा महासंघ कसरी अगाडि बढ्न सक्छ ? भनेर उपस्थित पत्रकार समक्ष सुझाव लिएकी थिइन् ।

उनले समीतिले पछिल्लो समय तथ्यांक संकलन कार्य सुरु भएको खुलाइन् । त्यस्तै, महासंघका सचिव रेम विश्वकर्माले समाजका अझै पनि विभेद उस्तै भएको दलित समुदायका पत्रकारले काम गर्दा थुपै्र चुनौति खेप्नु परेको सुनाए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य एवं पत्रकार प्रकाशचन्द्र परियारले दलित समुदायका पत्रकारलाई दक्ष बनाउन सिपमुलक तालिम, हौसला प्रदान गर्न पुरस्कार प्रदान र समावेशी मुलक मिडिया बनाउन जोड दिनु पर्ने धारणा राखे ।

पत्रकार एवं अनुसन्धानकर्ता जेवी विश्वकर्माले समावेशीमुलक मिडिया बनाउन महासंघको जोड हुनु पर्ने बताए । बोलीमा मात्रै सीमित भएको भन्दै उनले महासंघद्धारा निगरानी र अनुसन्धान प्रक्रिया जारी राख्न आवश्यक रहेको सुनाए । कार्यक्रममा लक्ष्मी परियार, केशव भुल, श्याम रोक्का, प्रेम नेपाली, मिलन विश्वकर्मा, सुशील दर्नाल, गोमा परियार लगायत पत्रकारले आ–आफ्ना अनुभुति सुनाएका थिए ।

No comments:

Post a Comment