अन्ततः १३ वर्षपछि दर्जी परिवार जग्गा फिर्ता लिन सफल

विभेद बिरुद्ध अभियान -  २७ चैत -नवलपुर । धेरै पैसा कमाएर परिवारलाई सुखीखुसी बनाउने चाहना कसको हुदैन र । त्यही रहरले गर्दा विदेश जान भन्दै राजीनामा पास गरेर दिएको गैँडाकोट नगरपालिकाको २ कठ्ठा जग्गा १३ वर्षपछि फिर्ता भएको छ ।

एजेन्टले पास गरेको लक्ष्मण दर्जीको नाममा रहेको जग्गा सूचना तथा परामर्श केन्द्रको पहलमा गैँडाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यलय कावासोती र जिल्ला समन्वय समिति कावासोतीको सहयोगमा लक्ष्मण दर्जीकी श्रीमती उजेली दर्जीको नाममा फिर्ता भएको हो । गैंडाकोट–५ का दशरथ गिरी गाउँमा एजेन्ट थिए,। उनले युवाहरुलाई विदेश पठाइरहन्थे । मनवीर पनि दशरथको सम्पर्कमा पुगे । गाउँ छिमेककै व्यक्तिले विदेश पठाइदिन्छु भनेपछि मनवीर विदेश जान तयार भए । पैसा टन्न कमाउने सपना बुन्दै घर फर्किए र बुवासँग अनुमति मागे । बुबा लक्ष्मण दर्जीलगायतका घरका अरु सदस्यहरुले पनि स्वीकृति दिए ।

घर परिवारबाट पाएको स्वीकृतिको खुसीसँगै मनवीरलाई अर्को चिन्ता आइलाग्यो, कतार जानका लागि पैसा कसरी जुटाउने ? दशरथले कतार जान ८५ हजार रुपैयाँ बुझाउनुपर्ने भनेका थिए ।

छोराले विदेश गएर कमाइहाल्छ, ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला र ? भन्ने सोचेर लक्ष्मण दर्जीले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गा दशरथका नाममा रजिष्ट्रेशन पास गरिदिने र छोरो मनवीरलाई कतार पठाएर पैसा कमाउने निष्कर्षमा पुगे ।

गाउँका चारजना साक्षी बसे । कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा लक्ष्मणले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीका नाममा पास गरिदिए । तर, जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छाडे ।

गिरीको घरमा जाँदा थाहा भयो, उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैँडाकोटबाट अन्तै गइसकेका रहेछन् । विदेश जाने रंगीन सपना बुनेका दर्जी परिवारका सदस्यहरु छाँगाबाट खसेजस्तै भए ।

दिन बिते, महिना बिते तर मनवीर दर्जीको विदेश जाने दिन आएन । जग्गा पनि गयो, विदेश पठाइदिन्छु भन्ने मान्छे पनि बेपत्ता भयो । दर्जी परिवारमा पीर थपिँदै गयो । अन्ततः छोरालाई विदेश पठाउने सपना अधुरै भयो भने भएको जग्गा पनि अर्काको नाममा रजिष्ट्रेशन पास गरिदिएपछि उनीहरु सुकुमबासी भए । त्यसैको कारण परिवारमा कलहसमेत सुरू भयो । दिनहुँ परिवारमा झगडा हुने स्थितिको सिर्जना भयो । सुखी जीवन जीउने र खुसी तथा सम्पन्न परिवारको रुपमा समुदायमा स्थापित हुने आशा निराशामा परिणत भएपछि लक्ष्मण दर्जीले घरभित्रै आत्महत्या गरे ।

विदेश जान तयारी अवस्थामा बसेका मनवीर दर्जी र उनका दाजुभाइले एजेन्ट खोज्न हर सम्भव प्रयास गरे । कतै एजेन्टको खबर पाएनन् । ज्याला मजदुरीमा पालिएको परिवारले उनलाई खोजिरहने समय पनि थिएन । परिवार पाल्न भन्दै मनवीर भारतमा काम गर्न लागे र समय मिलाएर दाजु भक्तबहादुर दर्जी एजेन्टको खोजी गर्न र आफ्नो जग्गा फिर्ता गर्नका लागि चारैतिर धाउन थाले । न्यायका लागि इलाका प्रहरी, तत्कालीन गाविस कार्यालयसम्म पटकपटक पुगे । तर, उनले न्याय पाउन सकेनन् ।

यसै क्रममा उनी २०७२ सालमा सूचना तथा परामर्श केन्द्रको सम्पर्कमा आए । गैडाकोटमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षा मार्फत सामी परियोजनाको बारेमा जानकारी पाएका दर्जी परिवार न्यायको ठूलो आशा लिएर सूचना केन्द्रमा पुगेको थियो । सूचना केन्द्रले २०७२ सालमा कावासोतीमा पत्रकार सम्मेलन मार्फत दर्जी परिवारको समस्या सार्वजनिक ग¥यो । एजेन्टको खोजीको लागि तत्कालीन इलाका प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा निवेदन दियो । प्रहरी कार्यालयमा निवदेन दिए पनि त्यसबाट केही सफलता हासिल हुन सकेन ।
लामो समयपछि सूचना केन्द्रमा एजेन्टको हालको ठेगाना पत्ता लाग्यो र यही विषय गँैडाकोट नगरपालिकाको समन्वयात्मक बैठकमा पनि उठाइयो । उपमेयरको संयोजकत्वमा बनेको समितिमा केस दर्ताको प्रक्रिया सुरू भयो । यता सूचना केन्द्रले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको सल्लाहमा केस अगाडि बढाइरहेको थियो ।

सोही समयमा एजेन्ट दशरथ गिरी फेसबुक मार्फत सूचना केन्द्रको सम्पर्कमा आए । उनीहरुको जग्गा फर्काउन आफूले ढिलो गरेको भए पनि नदिने नियत आफूहरुको नभएको बताउदै केस अगाडि नबढाउन गिरीले सूचना केन्द्रमा अनुरोध गरे । कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेलले पनि एजेन्ट र उनका परिवारसँग कुराकानी गरि जग्गा फिर्ताको लागि थप सहयोग गरिन् । एजेन्ट जग्गा पास गर्न तयार भयो ।

अन्ततः १३ वर्षपछि दर्जी परिवार जग्गा फिर्ता लिन सफल भए । जग्गा फिर्ता पाएपछि भक्तबहादुर दर्जीले भने अब जग्गा आफ्नो नाममा आउँछ भनेर विश्वास हराइसकेको थियो तर सूचना केन्द्रको पहलमा हामीले पायौं ।
आफ्नो जग्गा भए पनि आफूले फिर्ता पाउन निकै सहयोग गरिदिने सूचना केन्द्र, गैँडाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समिति सबैलाई उनले धन्यवाद दिएका छन् ।

No comments:

Post a Comment