विभेद बिरुद्ध अभियान - बैसाख ६ - काठमाडौं : २०५२ सालको दशकमा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा धेरै युवाहरू होमिए। परिवर्तनका लागि भन्दै धेरै त कलिलै उमेरमा बन्दुक बोक्न तयार भए। शासक वर्गको अत्याचार अन्त्य गर्नका लागि धेरैले आफ्नो बलिदानी पनि दिए। माओवादीको १० वर्षे सशस्त्र युद्धमा धेरै पछाडि पारिएको वर्ग सहभागी थिए। समाजमा शदियौँदेखि विभेद सहेर बस्न बाध्य दलित समुदायका मानिसले पनि उक्त युद्धमा ठूलो सहयोग गरे। अहिलेसम्म युद्ध लडेकामध्ये नेतृत्व तहमा रहेका धेरै माथि पुगेका छन् भने युद्धलाई सफल पार्न लागेका कार्यकर्ताको अवस्था भने ज्यूँका त्यूँ छ। जनयुद्धमा रहेका केही कार्यकर्ताको अवस्था त झनै दर्दनाक छ।
मओवादी युद्धमा होमिएर युद्धका क्रममा घाइते भएका धेरै अहिले मागेरे खाने अवस्थामा पुगेका छन्। पार्टीले सहयोग नगर्दा कतिपयले आत्महत्याको बाटोसम्म रोज्ने गरेको तीतो यथार्थ छ। शान्ति प्रक्रियापछि यस्तै अवस्थामा बाँच्न बाध्य छन्, दैलेख भगवतीमाईका ३६ वर्षीय नरवीर दमाईं (पार्टीको नाम विमर्श)। देशमा परिवर्तन ल्याउन र सबै खालका विभेद हटाउन जनयुद्ध लडेका हुन् उनी। जनयुद्धले देशमा राम्रो परिवर्तन ल्यायो। जनयुद्धकै जगमा दोस्रो जनआन्दोलन भयो। गणतन्त्र आयो। संघीयता आयो। तर नरवीरको जीवन शान्ति प्रक्रियापछि झनै कष्टकर बन्न पुग्यो। उनले आफ्नो जीवनमा कहिल्यै यस्तो हुन्छ भन्ने सोचेका पनि थिएनन् रे! भन्छन्, ‘जनयुद्ध लड्दा त अब परिवर्तन हुन्छ। हामीले विभेद सहनुपर्दैन जस्तो लाग्थ्यो तर अहिले त्यस्तो भएन।’ त्यसताका दलितले धेरै नै विभेद भोग्नुपर्थ्यो। उनलाई त्यो पटक्कै मनपर्दैनथ्यो। तर दलित परिवारमा जन्मिएका कारण जति नै विरोध गरे पनि विभेद सहनै पर्ने बाध्यता थियो।
आफूहरूको कुरा कसैले सुन्दैन थियो। त्यही समयमा माओवादीको लक्ष्य सुनाउँदै माओवादीका नेताहरू गाउँ छिरे। मओवादीको नीति उनलाई साह्रै राम्रो लाग्यो। त्यसैले उनी पनि युद्धमा होमिने निर्णय गरे। उनी पनि २०५५ सालदेखि युद्धमा होमिए। १६ वर्षकै कलिलो उमेरमा उनले बन्दुक समात्ने निर्णय गरे। सुरुवाती समयदेखि नै माओवादीको जनमुक्ति सेनाका रूपमा उनी पार्टीको विचार र युद्धलाई सहयोग गर्नतर्फ लागे। त्यसपछि हुने माओवादीको ठूलाठूला आक्रमणमा पनि उनको सहभागिता भयो। उनी हालका उपराष्ट्रपति नन्दबहादुर पुनको नेतृत्वमा धेरै आक्रमणमा सहभागी भए। उनी साना ठूला गरी २५ बढी भिडन्तमा सहभागी भए। तर २०५९ कार्तिक २७ गते जुम्लाको खलंगामा भएको अाक्रणमा भने उनी आफैँ घाइते भए। यसअघि केही भिडन्तमा गोलीको छर्रा लागेका उनी यस पटकको भिडन्तमा भने जीवनभर गरी खान नसक्ने गरी घाइते भए। दायाँ खुट्टाले कामै गर्न छाड्यो।
अहिलेसम्म उनको दायाँ खुट्टामा सात पटक शल्याक्रिया भइसकेको छ तर अझै गोलीको छर्रा त्यसै छ। ‘हुनत परिवर्ततका लागि जीवन नै बलिदान दिन तयार भएर युद्धमा होमिएको मलाई यो अवस्था आउँछ भन्ने लागेकै थिएन’, नरवीर भन्छन्, ‘जीवनमा ठूलो परिवर्तन आउला भन्ने सोचेको थिएँ। परिवर्तन त आयो तर कहिले नउठ्ने गरी।’ अहिले उनको शरीरका विभिन्न भागमा गोलीको छर्रा छ। युद्धका बेला बम पड्किएकाले कान पनि राम्रो सुन्दैनन्। आँखा, टाउको र शरीरको धेरै भागमा गोलीको छर्रा बकेर उपचारको आशामा कसैले सहयोग गर्छ कि भन्दै उनी काठमाडौं आएका छन्। ‘शरीरभरि फलाम बोकेर हिँडेको छु। दायाँ आँखामा पनि छर्रा छ रे! दायाँ आँखा त देख्दिनँ पनि’, नरवीर भन्छन्, ‘टाउकोमा त अप्रेसन गर्न पनि मिल्दैन रे! औषधि खाइरहेको छु।
एउटा खुट्टा कामै नलाग्ने भयो। सधैँ लठ्ठीको सहारामा हिँड्नुपर्छ। कुनै नेताले सहयोग गर्छन् कि भनेर काठमाडौं आएको छु।’ उपचारको खोजीमा अहिले उनी काठमाडौंमा भौँतारिइरहेका छन्। आफूहरूलाई जनयुद्धमा होमिन ऊर्जा प्रदान गर्ने नेता मन्त्री भए। उनीहरूले केही सहयोग गर्लान् कि भनेर मन्त्रालयको ढोकासम्म उनी पुगिरहेका छन् तर कसैले वास्ता गर्दैन रे! भन्छन्, ‘दैनिकजसो मन्त्रालय धाइसकेँ तर कसैले वास्ता गर्दैन। एक पटक गृहमन्त्री, त्यसबेलाको हाम्रो कमान्डर कमरेड बादललाई भेटेँ। बोलचाल भएन, टाढैबाट हेरेँ।’ माओवादी आन्दोलनले धेरै परिवर्तन गरे पनि आफूहरूको जीवनमा केही परिवर्तन हुन नसकेको उनी बताउँछन्। यति भन्दै गर्दा उनी भक्कानिए। गला अवरुद्ध भए उनका। फेरि सम्हालिँदै भने, ‘परिवर्तनका लागि भन्दै हामी युद्धमा होमियौँ। १० वर्षसम्मको हाम्रो संघर्षले देशमा परिवर्तन पनि आयो। हामीलाई नेतृत्व गर्ने नेताहरू पनि धनी भए तर परिवर्तनका लागि लड्ने हाम्रो जीवन झनै कष्टकर बन्यो।’
परिवार चलाउनै गाह्रो
जनयुद्धमा सहभागी हुनुअघि नै उनले कलिलै उमेरमा विवाह गरे। त्यसपछि उनी जनयुद्धमा होमिए। देशमा परिवर्तन गर्छु भन्दा जनयुद्ध लडेका नरवीरको जीवनले अर्कै मोड लियो। नेताका जीवनमा राम्रै परिवर्तन आयो। तर उनको जीवनमा भने जनयुद्धपछिका दिन सधैँ दुखै दुःखका रहे। खुट्टा कामै नलाग्ने भएपछि उनी केही काम गर्नै सक्दैनन्। सात जनाको परिवार छ। एक छोरी र दुई छोरालाई पढाउनसमेत मुस्किल छ। परिवार सबै श्रीमतीले नै धानेकी छन्। दैलेखमा भएको सबै जग्गा बेचेर उनको उपाचर गरियो तर जनयुद्धको घाउ निको भएन। अहिले बर्दियामा आफन्तले दिएको थोरै जग्गामा सानो घर बनाएर बसेका छन्। भन्छन्, ‘श्रीमतीले धानेकी छन्, अहिलेसम्म बनिबुतो गरेर परिवार पालेकी छन् तर धेरै समस्या छ। म सन्चो भएको भए केही गर्ने थिएँ।’ अहिले श्रीमती पनि बिरामी छन्। उनलाई निकै समस्या छ।
पार्टीले सहयोग गरेन
उपचारका लागि काठमाडौं जाने भनेर नरवीर २२ दिनअघि काठमाडौं आए। घरमा श्रीमतीले जसोतसो जोहो गरेको दुई हजार ५०० रुपैयाँ लिएर उनी राजधानी छिरे। त्यो पैसा गाडी भाडा र बाटोमा खाना खाँदै सकियो। त्यसपछि उनी बालाजुस्थित एक होटलमा बसेका छन्। उनको होटलमा अहिलेसम्म १८ हजार रुपैयाँ हाराहारी बिल पुगेको छ। होटलको साहुले दैनिकजसो उनलाई पैसा मागिरहेको छ तर उनीसँग भने गाडी भाडा तिर्ने पैसासमेत छैन। भन्छन्, ‘साहुले किचकिच गरिरहेको छ। गाडीमा हिँड्दा पनि सहयोग मागेरै हिँडेको छु। गोजीमा एक पैसा पनि छैन।’ पार्टीले कुनै सहयोग नगरेको उनको गुनासो छ। जनयुद्धपछि पनि माओवादी १० वर्षको समयमा धेरै पटक सरकारमा पुगे पनि पार्टीलाई यो स्थानसम्म ल्याउने कार्यकर्तालाई बिर्सिएको बताउँछन् उनी।
उनी घाइते भएपछि पनि २०६२/०६३ को आन्दोलनभन्दा अघिसम्म त उपचार गर्दै थियो पार्टीले तर पछि हेर्नै छाड्यो। ‘शन्ति प्रक्रियापछि पार्टी धेरै पटक सरकारमा गयो। पहिला त काम गर्ने वातावरण थिएन भने अहिले त बहुमतको सरकार छ। तैपनि हाम्रा लागि केही गरेनन्। जनमुक्ति सेना हुँदा त हाम्रो सम्मेलनमा बादल कमरेडको सुरक्षा गर्नेमा त म पनि थिएँ', भन्छन्, 'त्यसबेला हाम्रो ठूलो महत्त्व थियो तर अहिले त हामीलाई चिन्दैनन्।’ उनले माओवादीका धेरै नेतासँग सम्पर्क गरे तर कसैले राम्रोसँग बोल्नसमेत नचाहेको गुनासो गर्छन् उनी। भन्छन्, ‘हाम्रा नेताहरूसँग कुरा गरेँ। मन्त्रीलाई गर भन्छन्। मन्त्रीलाई गर्यो, पार्टीलाई गर भन्छन्।’ काठमाडौं आएपछि पार्टी कार्यालय पनि उनी धेरै पटक गए तर कसैले सहयोग गरेनन्। भन्छन्, ‘धेरै पटक पेरिसडाँडा पुगेँ। पार्टी कार्यालयका एक जना कर्मचारीले निवेदन लेख भने। निवेदन पनि लेखेँ तर कसैले सहयोग गरेनन्।
एक जना कर्मचारीले एक हजार दिए।’ त्यो एक हजार रुपैयाँ पनि उनले मन्त्रालय र संघसंस्था धाउँदै सिध्याए। भन्छन्, ‘यो पैसाले मन्त्रालयमा जाँदै ठीक भयो। मन्त्रालयमा दैनिकजसो गयो, भित्रबाट पास पठाउँदैनन्। पठाए पनि मन्त्रीसँग भेट हुँदैन।’ अहिलेसम्म उनलाई जनयुद्ध लडेकोमा पछुतो भने छैन। भन्छन्, ‘जनयुद्ध त्यसबेलाको आवश्यकता थियो। मेरो जीवनमा त परिवर्तन आएन होला तर सबै नेपालीको जीवनमा परिवर्तन आयो।’ पार्टीको बेवास्ताका कारण आफू जस्तै घाइतेको बिजोग भएको उनी बताउँछन्। भन्छन्, ‘म त काठमाडौं आएर चिनिएँ तर गउँमा धेरै लडाकुको बिजोग छ। युद्धका बेलाको घाउबाट पिप बगिरहेको हुन्छ तैपनि उनीहरू भारी बोकेर जीविका चलाउन बाध्य छन्।’
‘पार्टीले सहयोग गरेन भने पेरिसडाँडा गएर बिष खान्छु’
अझै पनि उनलाई आशाचाहिँ मरेको छैन। अहिले पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने लक्ष्य लिएका छन् उनले। त्यसपछि पार्टीले सहयोग गर्नेमा आशावादी छन्। भन्छन्, ‘अझै पनि आशावादी छु। मेरो उपचार गरेर मात्र घर पर्खन्छु।’ तर पार्टीले सहयोग नगरेमा भने आत्महत्या गर्ने बताउँछन् उनी। भावुक हुँदै भन्छन्, ‘मागेर हिँड्न स्वाभिमानले दिँदैन। कसैले सहयोग नगरेपछि किन दु:ख पालेर बस्ने र? घरमा पनि मेरो कारणले धेरै नै तनाव छ।
अब पनि पार्टीले सहयोग नगरे कसैलाई ५/१० रुपैयाँ सहयोग माग्छु र बिष किनेर पेरिसडाँडा गएर आत्महत्या गर्छु।’ होटलको १८ हजार रुपैयाँ बिल तिर्ने र घर फर्किने पैसा कसैले सहयोग गरेमा आफूलाई केही राहत मिल्ने बताउँछन् उनी। भन्छन्, ‘उपचार त अब यस्तै नै होला तर घर जाने खर्च र होटलमा बसेको तिर्ने पैसा मात्र भए पनि धेरै राहत मिल्ने थियो।’ नरवीर दमाईंलाई सहयोग गर्न चाहनेले उनको फोन नम्बर ९८२२५२५५६५ मा सम्पर्क गर्न सकिनेछ।
थाहाखबर बाट साभार //चिरञ्जिबी घिमिरे
No comments:
Post a Comment