अन्तरजातीय विवाह गरेको आरोपमा गाउँ र घरबाट विस्थापित

विभेद बिरुद्ध अभियान , बैसाख १० ( नरी बडु ) - दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि परिवारले परिवारबाट र गाउँलेले गाँउबाट विस्थापित गराएका छन् । उनीहरू अहिले सदरमुकाममा बस्दै आएका छन् ।

०७३ वैशाख २० गते विवाह गरेका उनीहरूले यस भन्दा अगाडि अन्तरजातीय विवाहको बारेमा परिवारलाई बताएका थिएनन् । राधिकाको नागरिकता बनाउन माइती पक्षको नागरिकता आवश्यक पर्ने भएपछि राधिका दलित भएको परिवारले ‘थाहा’ पाएका थिए ।

परिवारले दलित भनेर थाहा पाएपछि आफूहरू गाँउबाट विस्थापित भएर सदरमुकाममा बस्दै आएको पीडित सुरेस नाथले बताए । ‘पहिला त बताएका थिएनौँ । तर, उनको (पत्नीतिर देखाउँदै) नागरिकता बनाउँदा बुवाको नागरिकता पनि चाहिने भएकाले परिवारले थाहा पाए ।’-नाथले भने ।

विगत १५ दिनदेखि होलमा बस्दा आफूहरूलाई निकै समस्या परेको पीडितको गुनासो छ । अन्तरजातीय विवाह गरेपछि नेपाल सरकारले दिने गरेको प्रोत्साहन रकम समेत आफूहरूले नपाएको उनीहरूको गुनासो छ । परिवारले दलितको छोरी छोड भन्ने दबाव दिइरहेको नाथको गुनासो छ । नाथ दम्पतिकी ५ महिने एक छोरी छिन् ।

No comments:

Post a Comment