खै दर्जीदाई ?

विभेद बिरुद्ध अभियान (लक्ष्मी पौडेल)- बैसाख १८- चितवन शिवनगरका चित्रबहादुर परियार अहिले करिव ६० बर्ष पुग्न थाल्नुभो । उहाँ जान्ने भएदेखी हो गाउँमा कपडा सिलाएर अन्न, पैसा जे आउँछ त्यसैबाट परिवारको गुजारा टार्न थाल्नुभएको । अहिले पनी उहाँले घरमै कपडा सिलाउदै आउनुभएको छ । ५ छोराछोरीका बाउ चित्रबहादुरले कपडा सिलाएरै सबैलाई पाल्नुभयो पढाउनुभयो अनी हात खुट्टा लाग्ने बनाउनुभयो । तर अहिले वहाँका छोराछोरी कसैले पनी यो पेशै गर्दैनन् ।

वहाँलाई आफ्नो पुर्ख्यौली पेशा भएकाले छोड्न मन लाग्दैन तर छोराछोरीले गर्दैनन भनेपनी टेर्दैनन् । चित्रबहादुरका कान्छा छोरा कपडा सिलाउने भिसा मै कतार जानुभएको थियो । चित्र बहादुर भन्नुहुन्छ, "५ बर्ष सम्म छोराले कतारमा गएर यही काम गर्‍यो अहिले फर्केपछी म कपडा सिलाउदिन अर्कै काम गर्छु भनेर दुवई गएको छ ।" परियार थप्नुहुन्छ, " छोराले किन गर्न खोजेन मलाई थाहा भएन तर मेरो छोरो मात्र हैन हिजो आजका केटाकेटीहरुले बाउबाजेले गरेको काम कहाँ गर्छन र ? "

उहाँले छोरालाई यही आफ्नै पेशा गर्नुपर्छ भनेर नसम्झाउनुभएको हैन । उहाँ भन्नुहुन्छ, "बुढाबुढी दुवै सम्झाको हो नानी, हाम्रा कुरा कहाँ चपाउछन र यिनिहरुले अब हात खुट्टा लाग्ने भए आफ्नै बाटो गर्छन् । "

परियारले भनेझै साँच्चै अहिले कपडा सिलाउने काममा पुर्ख्यौली पेशा भएका दर्जीदाईहरु यो पेशाबाटै पलायन भैरहेका छन् । कुनै जमाना थियो गाउँ भरीका कपडाहरु दर्जी दाईकहाँ सिलाउन थुप्रो लाग्थ्यो । गाउमा अली हुने खानेका कपडा सिलाउने दर्जी दाईहरु उनीहरुकै परिवारका मात्र कपडा सिलाउने कर्मचारी जस्तै भएर समेत काम गर्थे । तर अहिले जमाना फेरीएको छ ।

साहुजनकै कपडा सिलाएर जिवन गुजार्ने दर्जी दाईहरु खोजेर पनी पाउन सकिन्न । हिजो आज पुर्ख्यौली पेशा भएका परियार समुदायका मानीसले कपडै सिलाउनु भन्दा अन्य पेशा व्यवसाय गर्ने अथवा विदेश पलायनको बाटो रोज्न थालेका छन् । आखीर किन यस्तो भयो त के परियार समुदायले आफ्नो पुर्ख्यौली पेशा बचाउन पर्ने हैन र सिलाई कटाई व्यवसायी संघ चितवनका अध्यक्ष लालबहादुर परियार भन्नुहुन्छ, " पहिले सुरुमा यो पेशा नेपाली समुदायमा पिडित र हेलित थियो । त्यो कारणले गर्दा त्यो मानसिकता नै हामी परियार समुदायमा परेका कारण अहिले आकर्षण घटेको हो । "

लालबहादुर आफ्नो समुदायले यो पेशा गर्न छाडेको भने स्विकार्नुहुन्न । वहाँ भन्नुहुन्छ, "पछिल्लो समयमा यो पेशा आधुनिकता संगै सम्मानजनक रुपमा पनी विकसित भएको छ । अब यो यथार्थमा बुझेका साथीहरु, नयाँ पिढिहरु यो पेशामा तानीदै पनी छन् । फेरी अरु समुदायका मान्छेले पनी यसमा जुन किसिमको चासो देखाएर पेशा अङ्गालिरहेका छन् । त्यसले गर्दा झन उनीहरुले त गर्छन हाम्रो त पेशै हो भनेर पनी चासो बढेको छ । तर विगतको सामाजीक संरचनाले केही असर त पारेकै हो । यसलाई विस्थापित नै भन्न मिल्दैन ।"

बुढापुरानाले भन्छन् हाम्रो पेशा अरुले नै गर्न थाले त्यसैले पनी होला हाम्रा युवा पुस्ताले आफ्नो पेशा गर्नै खोजेनन ।

"धेरैले यही पेशा गर्न थाले, श्रेष्ठले कपडै सिला'छ, क्षत्रीले कपडै सिला'छ, सिक्ने ठाउँमा पनी अन्य समुदायकै मान्छे गा'छन, काम लगाउनेले पनी अन्य लाई नै ला'छन अनी त्यही भएर पनी हो कि जस्तो लाउँ'छ नानी मलाई त ।" चित्रबहादुरले दुखेसो पोख्नुभयो ।

हुन पनी परियारले भनेझै हिजो आज दर्जी दाईहरु मात्र हैन अन्य जातीका महिला पुरुष सबैले व्यवसायीक रुपमा नै र आधुनीक मेसिनको प्रयोग गरेरै कपडा व्यवसाय सञ्चालन गर्न थालेका छन् । चोक चोक मा छ्याप्प छ्याप्ती भेटीने कपडा सिलाई कटाई पसलमा दर्जि दाई नै कपडा सिलाएको देख्न पाईदैन ।

के साँच्चै अन्य जाती समुदायका मानीसले यो पेशा गर्दा समस्या श्रृजना भएको हो त ? कपडा सिलाई कटाई व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष रामप्रसाद पुडासैनी भन्नुहुन्छ, " यो हुँदै होईन, म तपाईको प्रश्नमा कत्ती पनी सहमत छैन । मेरो विचारमा वास्तविकता यो हो कि । परियार समुदायका दाजुभाईले जती बेला देखी यो पेशा गर्नुहुन्थ्यो त्यतीबेला नेपाली समाज अली रुढीबादीबाट गुज्रीएको थियो । दर्जी भनेपछी जुन हेलाको दृष्टिकोण थियो समाजको त्यो गलत धारणालाई चिर्दै बदलिदो परिवेश अनुसार वहाँहरु अगाडि बढेर आफ्नो पुर्ख्यौली सम्पतीको रक्षा गर्न सक्नुभएन, वहाँहरु परम्परागत व्यवसायलाई आधुनिकतामा ढाल्न सक्नुभएन वहाँहरुमा हिनताबोध भयो र उहाँहरु पेशाबाटै दिग्ग्रमीत हुनुभयो ।"

वहाँ आफु पनी गैरदलित भएर पनी लुगा सिलाउने काम गरेको कुरा यसरी प्रष्ट पार्नुहुन्छ ।, " म पनी ब्राम्हण समुदायको मान्छे हुँ तर म सिलाई कटाई व्यवसायमा मैले राम्रो भविष्य देखे र लागे अहिले म त स्थापित पनी भैसकेको छु ।"

पुडासैनी आफुहरुले यो पेशा गरेर परियार समुदायलाई विस्थापित होईन बरु स्थापित गर्न खोजेको दावि गर्नुहुन्छ ।  "हामी यो चाहन्छौ की वहाँहरु यो पेशालाई जोगाउन र साँच्चै पुर्ख्यौली पेशा हो भनेर दावि गर्न सक्ने अवस्था बनोस हामी वहाँ हरु यो पेशामा स्थापित हुनुहोस भन्ने चाहन्छौ र उहाँहरुलाई साथ पनि दिन तयार छौँ ।" पुडासैनीले भन्नुभयो ।

जसले जे भनेपनी कुनै पनी समुदायको पुर्ख्यौली पेशाले परम्परा र संस्कृतीको समेत जगेर्ना गरेको हुन्छ । अनी परिचय पनी दर्शाएको हुन्छ । आफ्नो अधिकारका निम्ती लड्ने हरेक समुदाय आफ्नो पहिचानका लागी संयमित पनि हुन पनी आवश्यक छ । अनी राम्रो भविष्य देखेर सिलाई कटाईमा आबद्ध अन्य समुदायले पनी यि समुदायसंग सहकार्य गरेर अघि बढे आलोचित हुनु नपर्ला कि ?

No comments:

Post a Comment