पचहत्तर वर्षका भए कालुसिंह नागरी । पञ्चायतकालमा सूदूरपश्चिममा दलित
आन्दोलनका खम्बै मानिन्थे उनी । डोटीको विकट गाउँ खुल्लेखमा जन्मेका नागरी
राणाकालदेखि दलित आन्दोलनमा लागेका हुन् । अझै पनि सक्रिय छन् । पछिल्लोपटक
शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनमा उनको सक्रिय भूमिकाको धेरै प्रशंसा
भएको थियो ।दलित आन्दोलनका जेष्ठ नागरिकमध्ये एक नागरीलाई बुढयौलीले थिच्दै लगे पनि
त्यस्तो कुनै ‘ठूलो’ रोग भने छैन उनलाई । अहिले पनि ठमठमी हिँड्छन् । यी
बयोवृद्ध दलित नेताले भने, ‘गाविसको कामका लागि सिलगढी आइरहन्छु ।’ दलित र
गैरदलितबीच ठूलो खाडल रहे पनि उनलाई गाउँभरिकाले अगुवा मानेका छन् ।
गाउँबाट खानेपानी र सिँचाइ-कुलोको समस्या लिएर साता दिनअघि जिल्ला विकास
समिति आइपुगेका थिए । ‘खडेरीले पानीको मुल सुकेपछि अघिल्लो वर्ष धान रोप्न
पाइएन,’ उनले भने, ‘धारासमेत सुके । गाउँ काकाकुल बनेपछि स्थानीय विकास
अधिकारीसँग कुरा गर्न आएको हुँ ।’
उमेरमा खुब हिँडेकाले शरीर यति स्वस्थ भएको बताउने उनी जातीय
छुवाछूतविरुद्ध दलितलाई जगाउन धेरै गाउँ चहार्थे । ‘कति ठाउँमा त
प्रचार-प्रसार गर्दा कुटाइ खाने डर हुन्थ्यो,’ उनले बताए, ‘अनि, राति-राति
एक्लै हिँड्थेँ ।’
गाउँमा स्कुल नहुँदा पढ्न पाएनन् उनले । तर, सम विकास केन्द्र डोटी
नामको स्थानीय दलित गैरसरकारी संस्थाले ०५७ मा गाउँमा प्रौढ शिक्षाका कक्षा
सञ्चालन गरेपछि अक्षर चिन्ने भएका रहेछन् । अहिले उनी चिठीपत्र र
पत्रपत्रिका पढ्न सक्छन् ।
सिनो खाएकै कारण दलित हेपिएका हुन् भन्ने निष्कर्षमा पुगेका कालुसिंहले
०३० तिरै आफ्नो गाउँमा सिनो बहिष्कार अभियान चलाएका थिए । ‘त्यही वेलादेखि
मैले माछा-मासु खान पनि छाडिदिएँ,’ उनले भने । त्यतिमात्र होइन, उनी
लसुन-प्याज पनि खाँदैनन् ।
०००
भारतको हरिद्वार, काठमाडाँैको पशुपतिनाथलगायत तीर्थस्थलबाट ल्याएका
रुद्राक्षका मालाले गला भरेका छन् उनले । उनका तीनजनै छोरा भारतमा
चौकीदारको काम गर्छन् । छोराहरूको कमाइले उनको ठूलो परिवार जेनतेन पालिएको छ
। एक बित्ता पनि जग्गा-जमिन छैन उनको । सानो तीनकोठे घरमा
छोरा-बुहारी/नाति-नातिनासहित १२ जनाको परिवार बस्दै आएको छ ।
बिहान-बेलुकाको छाक टार्न मुस्किल पर्छ ।
बेलुका चिया पसलमा गाउँलेलाई देश र दुनियाँको खबर बताउने काम पनि गर्छन्
उनी । रेडियोमा सुनेका राजनीतिक कुराका ‘वस्तुनिष्ठ’ विश्लेषण गरिदिन्छन्
उनी । जिल्लाका गतिविधि र देशको हालखबर बताइदिने हुनाले उनलाई गाउँमा
बिबिसी बाजे भनिँदोरहेछ । बहस गर्न असाध्यै रुचाउँछन् उनी । ‘जति बहस
गर्यो, उति शरीर हल्का र स्वस्थ हुन्छ,’ उनले सुनाए ।
०००
डोटीको खातिबाडा गाविसमा पर्ने खुल्लेखमा जन्मे-हुर्केका कालुसिंहले
किशोरावस्थादेखि नै जातीय छुवाछूत र विभेदविरुद्ध सामाजिक जागरणका लागि
आफूलाई समर्पित गरेका हुन् । दलित मुक्ति आन्दोलनमा लागेको ६० वर्ष पुग्यो ।
कडा छुवाछूतका लागि ‘कुख्यात’ छ डोटी जिल्ला । छुवाछूत आज पनि चर्काे छ
त्यहाँ । ‘एकै समाजमा बस्ने सबै मानिसले स-सम्मान बाँच्न पाउनुपर्छ भन्ने
मान्यताले म दलित आन्दोलनमा होमिएको हुँ,’ उनले भने । मान्छे-मान्छे छोइए
छोइछिटो हालेर चोखिने, होटलमा दलितले चिया खाए आगोको कोइला हालेर गिलास
चोखाइने, पसलमा सामान किन्दा दैला अगाडिबाटै पैसा फ्यालेर हात थाप्नुपर्ने
जस्ता विभेद उनले भोगेका छन् । उनका अनुसार यस्ता छुवाछूतबाट मुक्ति पाउने
बाटो भनेको राजनीति नै हो । भन्छन्, ‘जबसम्म राजनीतिमा दलित सशक्त हुँदैन,
तबसम्म उसले थिचोमिचो सहिराख्नुपर्छ ।’
राजनीतिको वकालत गरे पनि उनी भने कुनै पार्टीमा छैनन् । उनलाई कांग्रेस,
एमालेलगायतका जिल्लास्तरीय नेताहरूलेे आफ्नो पार्टीको सदस्य भइदिन अनुरोध
नगरेका पनि होइनन् । तर, उनी स्वतन्त्र राजनीतिका पक्षमा छन् ।
०४६ को जनान्दोलनपछि मदन भण्डारीको भाषण सुनेका थिए उनले सिलगढीमा ।
भण्डारीको धुवाँधार भाषण सुनेपछि एमालेमा प्रवेश गर्ने विचार गरेका थिए
उनले । तर, ०४८ को चुनावमा एमाले प्रचार-प्रसारमा सक्रिय हुन खोज्दा
जिल्लाका नेताहरूले उनलाई एमालेप्रति मोहभंग गराइदिएछन् । ‘ठुल्ठूला कुरा
गर्ने नेताहरूले हाम्रो हातको नखाने भनेपछि म एमालेमा लागिनँ,’ उनले भने,
‘सर्वहारा वर्गको पार्टी भनाउँदो त त्यस्तो छ भने कांग्रेस झन् कस्तो होला
भन्ने ठानेर कांग्रेसी नेताहरूले पार्टीमा आऊ भनेर बोलाउँदा सुन्या नसुन्यै
गरेँ ।’
स्वतन्त्र राजनीतिमा लागेर जिल्लाका दुर्गम गाउँ-गाउँमा छुवाछूतविरुद्ध
ठूलो संघर्ष चलाए उनले । ‘तर, उनी सम्झन्छन्, ‘दलितकै साथ नपाएकाले असफल
भएँ । त्यसपछि म सामाजिक अभियानको बाटो रोज्न बाध्य भएँ ।’ नागरी अहिले
दलित अधिकारसम्बन्धी काम गर्ने स्थानीय संस्थासँग मिलेर आफ्नो अभियानलाई
निरन्तरता दिइरहेका छन् ।
श्रोत: नयाँ पत्रिका
No comments:
Post a Comment