नौमती बाजा महोत्सव तथा लोक दोहोरी गीत एवं नृत्य प्रतियोगिता सुरु

२१ मंसिर, विभेद बिरुद्ध अभियान । गुल्मीको वामी टक्सारमा आइतबारदेखि नौमती बाजा महोत्सव तथा लोक दोहोरी गीत एवं नृत्य प्रतियोगिता सुरु भएको छ । वामीमा भूकम्पले क्षती पुर्‍याएका विद्यालयको पुननिर्माणको लागि रकम संकलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । रोजगार, अध्ययन एवं व्यवसाय सञ्चालनका लागि तेस्रो मुलुक पुगेका वामीवासी संगठित बनेको वामी विश्व सम्पर्क मञ्चद्वारा महोत्सव आयोजना गरिएको हो । ‘लोक संस्कृतिको संरक्षण र सम्बर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित आइतबार र सोमबार गरि दुई दिनसम्म दोहोरी गीत प्रतियोगिता सञ्चालन गरिने वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानहरी सापकोटाले बताउनुभएको छ ।

स्थानीय स्तरमा नौमती बाजाको संरक्षण एवं जगेर्ना गर्ने र त्यसको महत्व दर्साउनका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोजकहरुले गरेका छन् । प्रतियोगितामा वामी, मुसिकोट, बडागाउँ, कुर्घा, आँपचौर, अर्लाङ्गकोट, दगातुम्डाँडा, जलजला लगायतका गाविसहरुवाट   एक दर्जन भन्दा बढी समुहको सहभागिता रहेको छ ।

नौमती बाजा तथा दोहोरी गीत तथा नृत्यमा प्रथम हुने समूहलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । कार्यक्रमका राष्ट्रिय कलाकारहरु बमबहादुर कार्कि, विमाकुमारी दुरा, जीवन शर्मा, बद्री पंगेनी, मञ्जु पौडेल, नविन पौडेल, राजा राजेन्द्र, सन्तु थापा लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले सरकारले गर्ने काम स्थानीय स्तरमा कार्यक्रम आयोजना गरि भूकम्प पीडित विद्यालय पुननिर्माणको लागि सहगोग संकलन गर्नु अत्यन्तै महत्वपूर्ण र नमूना कार्य भएको बताएका थिए ।

No comments:

Post a Comment