नौ वर्ष बिदेशमा पसिना बगाएका सोमबहादुर सार्कीले गाउँमै लाखौ कमाउदै

बागलुङ, -पुस १३,  विभेद बिरुद्ध अभियान - गल्कोट हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक ३ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक ३ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पालेका छन्। आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिप पनि उनको आम्दानीको स्रोत बनेको छ। “उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफैले पिकअप खरिद गरेको हुँ” सार्कीले भने – “तरकारी र बङ्गुरको दाना बोक्न मात्रै हैन यात्रु बोक्न र हटिया बजारसम्म पु¥याउन पनि जिपलाई उपयोगमा ल्याएको छु ।”
तरकारी तथा बङ्गुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी रु तीन लाखको हाराहारीका मासिक आम्दानी हुने गरेको सार्कीले बताए।
 चार वर्ष साउदी र पाँच वर्ष मलेसियामा कमाएको ४ लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारीखेती र बङ्गुर पाल्नुभएका सार्कीले दैनिक १२ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको बताउँछन्। आठ वर्ष अगाडि विदेशबाट फर्किएर बङ्गुर पाल्न सुरु गरेका सार्कीले बङ्गुरको मललाई व्यवस्थापन गर्न तरकारीखेती सुरु गरेको भए पनि अहिले सोही तरकारीखेती मुख्य पेसा बन्न पुगेको छ।
छोराछोरीको ३० रुपैयाँ परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश गएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावनाबाट करन अर्जुन फार्म हाउस सञ्चालनमा ल्याएका छन्। “सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बङ्गुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्दथे, तर अहिले मेरै सिको गर्न थालेका छन्, खुसी लाग्छ,” सार्कीले भने।सार्कीकोमा अहिले ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बङ्गुर र तिनका १६ वटा वर्णशङ्कर प्रजातिका पाठापाठी रहेका छन् । आफूूले उत्पादन गरेको तरकारीको हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउनुहुने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा छन्।

No comments:

Post a Comment