माधव नेपालले लामो समय मेरो घरमा कुचो लगाए ~ रामअवतार पासवान

काठमाडौँ, १८ मंसिर , विभेद विरुद्ध अभियान ।
किशोर अवस्थामै तत्कालीन नेकपा(माले)मा काम गरेका अधिकांश वर्तमान नेकपा (एमाले)का नेताहरुको अन्तरजातीय विवाह भएको छ । एमालेका अध्यक्ष, वरिष्ठ नेता, महासचिवलगायत धेरैले राजधानीका रैथाने नेवारका छोरी बिहे गरेर घरजम बसाएका हुन् ।
तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने यो मामलामा अछुतो छन् । जात, धर्म र वर्गीय विभेदको घेरा तोडेर सुरुदेखि नै कम्युनिष्ट राजनीतिमा होमिए पनि नेता नेपालको विवाह ब्राम्हण परिवारकै आचार्यसँग भयो । पण्डित मंगलकुमार उपाध्यायका सन्तान नेता नेपालले धनुषा जिल्ला मुरिवास्थित दलित बस्तीमा भूमिगतकालमा कम्युनिष्टको संगठन विस्तारमा लामो समय काम गरे ।
त्यो बेला उनी दलित रामअवतार पासवानको घरमा बस्थे र घरभित्र बसेर गर्न मिल्ने र सक्ने सबै काममा पासवान परिवारलाई सघाउँथे । पासवानले नेप्लिज डट ओआरजीसँग माधव नेपालका विगतको बसाइ, भोगाइ, सम्झना र काम गराइबारे लामो व्याख्या गरे । उनले आफ्नो घरमा माधव नेपालले लामो समय कुचो लगाएको समेत बताए । पढौँ माधव नेपालबारे पासवानको बयान:
कम्युनिष्ट नेतालाई भगवान मान्थ्यौँ
धनुषास्थित मुरिया गाउँको दलित बस्तीको एक झुपडीमा हाम्रो पासवान परिवार बस्थ्यो । जहाँ जमिन्दारी प्रथा व्यापक थियो । धनिमानीको चर्को शोषण थियो । मजदुरी गरेर खाने वर्गको आर्थिक अवस्था एकदमै जर्जर थियो ।
दैनिक साहु महाजनको घरमा ज्याला मजदुरी गर्न नगए चुलो बल्दैनथ्यो । अधिकांश जनता गाउँका जमिनदारबाट ज्यादै पीडित थिए । दिनमा ३ शेर काँचो धान ज्यालाबापत पाइन्थ्यो । कोदोको रोटी, खेसरीको दाललगायतका तागत नहुने चिज जति पाइन्छ, त्यति खाएर भोक मेट्नुपथ्र्यो । त्यो बेला रामलखन डिठ्ठा भन्ने एउटा फटाहा जमिनदार थियो । हामी उसकोमा ज्याला मजदुरी गथ्र्यौँ । उसले पुरै गाउँलाई दमन गथ्र्यो ।
त्यही समय भारतबाट आएका एक शिक्षक श्रीनारायण ठाकुर गाउँको स्कुलमा पढाउँथे । उनको नक्सालवादीसँग सम्पर्क रहेछ । उनले गाउँका केही मान्छेहरुसँग गरिब र शोषितबारे कुरा गर्न थाले । उनको उद्देश्य कम्युनिष्ट संगठन कसरी विस्तार गर्ने भन्ने रहेछ । उनसँग घनिष्ठता भएपछि उनले तपार्ईंंहरुबीच एकजना कमरेडलाई ल्याइदिन्छु, तपार्ईंहरु जे खानुहुन्छ, त्यही खुवाउनुहोला, जहाँ बस्नुहुन्छ त्यही बसाउनुहोला भने । हामी राख्न मन्जुर भयौँ । त्यसपछि माधव नेपाल र रामचन्द्र यादव गाउँ आइपुग्नुभयो । हामीले ०३० मा उहाँलाई पहिलोपटक भेट्यौँ ।
त्यतिबेलैको बुझाइको आधारमा कम्युनिष्ट नेताहरु जनताको नजरमा भगवानसरह हुने र खासगरी माधव नेपाल साह्रै असल मान्छे हुन् । त्यतिबेला देखेको माधव नेपालको हाइट त अहिले जस्तै हो । उहाँ एकदम दुब्लो र पातलो हुनुहुन्थ्यो । तर फुर्तिलो लाग्थ्यो । हामीसँग केही लामो कुरा गरेपछि उहाँले जाँचपड्ताल गरेर पत्ता लगाउनु भयो कि ‘राज्यका कोही सिआइडी होइनन्, यिनीहरु निर्दाेष जनता हुन् ।’ त्यतिबेला हामी पार्टीमा लागिसकेका त थिएनौँ तर धनी गरिबको भेदभावबारे गहिरो चेतना राख्ने भइसकेका थियौँ । उहाँहरुलाई घरमा लिएर गइयो । रातमा छलफल भयो । छलफलपछि हामीले टोललाई तीनवटा केन्द्रका रुपमा विकास गरेर आलोपालो ढंगले घुम्ती शैलीले बस्ने प्रबन्ध ग¥यौँ ।
रामचन्द्र यादव फर्कनु भयो भने माधव नेपाल गाउँमै बस्नुभयो । सुरुमा उहाँले गरेको कुरा हाम्रो पढाइलेखाइ कम भएकाले बुझ्न गाह्रो हुन थाल्यो । पछि विस्तारै बुझ्ने भयौँ । उहाँले गाउँमा भएको स्थानीय शोषणलाई केन्द्रित गरेर हामीलाई दिनहुँ प्रशिक्षण गर्न थाल्नुभयो । गरिबलाई धनीले कसरी शोषण गर्छ भन्नेकुरा उहाबाट सैद्धान्तिक ढंगले बुझ्दै गयौं । हाम्रो घरबाट विस्तारै पुरै गाउँभर राजनीति फैलियो । सबै प्रभावित हुन थाले । उहाँ लगातार बस्ने बीच बीतमा बैठकमा अन्यत्र जाने फेरि फर्किएर आउने गर्न थाल्नुभयो ।
खानपान
दिनमा बाहिर निस्कन डर हुन्थ्यो । घरबाट बाहिर बारीसम्म निस्किएर दिशापिसाब गर्दा पनि म पहरा दिन्थेँ । अरुले देख्ला भन्ने डर हुन्थ्यो । दिनमा रातमा त्यसरी गरिन्थो भने रातमा दिशापिसाब लाग्दा थामिन्जेल थाम्नुहुन्थ्यो, खप्नै नसक्ने भएपछि माटोको आरीमा दिशा गरेर फाल्नुहुन्थ्यो । हाम्रो पार्टीका समर्थक, शुभचिन्तक भन्दा अन्य बाहिरी मान्छेले देख्न नपाओस् भन्ने हाम्रो उद्देश्य हुन्थ्यो । जमिनदारहलाई थाहा हुँदा ज्यान खतरा हुने भएकाले बडो सचेतता पूर्वक काम गर्नुपथ्र्यो ।
कुरा गर्न पहिल्यैबाट सिपालु
माधव नेपाल त्यतिबेलैदेखि कुरा गर्न अत्यन्त सिपालु हुनुहुन्थ्यो । मिलाएर, बुझाएर कुरा गर्ने, कसैमा भेदभाव नगर्ने खालको हुनुहुन्थ्यो । हामीहरुले कहिलेकाहिँ त भाँडा नपुगेर एउटै थालमा पनि खाएका छौँ ।
खानका लागि दुःखै थियो । तर पुगे पनि नपुगे पनि हामीहरु सबै बाँडिचुँडी खान्थ्यौँ । त्यसबेला गरिबले दाल खान पाउने कुरै थिएन । कहिलेकाँहि दाल पाइन्थ्यो । नत्र सागसब्जी, भातको माड मिलाएर बनाएको तरकारी, कोदोको रोटीलगायत यस्तै यस्तै खान्थ्यौँ । नेताहरुलाई पनि यही खुवाउथ्यौँ । यसबाहेक सखरखण्ड पनि खाइन्थ्यो । हामीहरु दिउँसो काममा जान्थ्यौँ । दिनभरि नेताहरु घरमा बसिरहने । हामीहरुले ज्याला गरेर ल्याउने । जे पाइन्छ त्यही खुवाउने गथ्र्यौँ ।
त्यसबेलाको उहाँहरुको बानी व्यवहारले जनतालाई धेरै प्रभावित ग¥यो । कार्यकर्ताले कम्युनिष्ट पार्टीको नेतालाई गरिबको मुक्तिदाता र ईश्वर नै ठान्ने गर्थे । नेताले भनको मानेर काम ग¥यो भने गरिबको सरकार हुन्छ । गरिबले सुखसुविधा पाउँछ । त्यसैले हामी सबै पार्टीमा लागौँ भन्ने भावना थियो । उहाँप्रति हाम्रो पनि धेरै विश्वास र हामीप्रति पनि उहाँको धेरै विश्वास थियो । मनमा कुनै आशंका थिएन ।
एक अर्कालाई बडो ख्याल गर्ने बानी थियो । प्यार गर्ने साथसाथै उस्तै मद्दत गर्ने गर्नुहुन्थ्यो । सानो झोला लिएर बाटो हिँड्दा पनि कसले बोक्ने भन्ने हानथाप हुन्थ्यो । मेरो कारणले अरुलाई दुख होला कि भनेर माधव कमरेड अत्यन्त सचेत हुनुहुन्थ्यो । उहाँ दिनभरि पढ्ने वा सुतेर बस्ने गर्नुहुन्थ्यो । कोही साथीभाइ आए गफ गर्ने, कक्षा दिने गर्नुहुन्थ्यो ।
ईश्वर पोखरेल, माधव नेपाल, सीता खड्का, सिपी मैनाली, झलनाथ खनाल, मुकुन्द न्यौपाने, रत्नकुमार वान्तवा, शीतल झालगायत कहिलेकाहिँ जाने गर्थे । उहाँहरुको छलफल हुने, सबैकुरा हामीलाई थाहा नदिने । यी सबैसँग परिचित छु तर सबै भन्दा घनिष्ठता माधव नेपाल र ईश्वर पोखरेलसँग छु । उहाँहरुले पनि कसरी दुःख काटेर हामीलाई घरमा राखेको भनेर कुरा बुझ्नुभएको छ ।
त्यसपछि मुरिवामा त राजनीति फैलियो । माधव कमरेडले रुखको जरो फैलिए । जस्तै राजनीतिलाई फैलाउनुपर्छ भन्ने सोच्नुभयो । त्सपछि गाउँकमिटी बनाइयो । इलाकाभर संगठन विस्तार गर्ने योजना भयो र हामीहरु दिनभर काम गथ्र्यौँ । सचिव फेकन विराजीलाई राखेर म सदस्य भएर ६–७ जनाको गाउँ कमिटी गठन भयो । राति परपरको गाउँमा संगठनमा हिँड्ने मध्यरातमा आएर सुत्ने र फेरि बिहान उठेर जमिन्दारको खेतमा काम गर्न जाने हाम्रो तालिका बन्यो । हामीले संगठन गर्न थालेको जमिन्दाहरुलाई विस्तारै जानकारी भयो । चीनबाट कम्युनिष्ट पार्टीको मान्छे आएर संगठन गरेको भन्दै सबैतिर हल्ला फैलियो ।
मैले परिवारमा आफ्नो बच्चालाई बाबु पानी ल्याउ भनेर आदेश दिउँ भने माधव कमरेड बच्चाले पर्दैन भन्दै आफैँ गएर पानी ल्याइदिनुहुन्थ्यो । त्यतिमात्र होइन । कुचो बढार्न मेरा साथी, श्रीमती लागेका छन् भने उहाँ आफैँ कुचो खोसेर भन्नुहुन्थ्यो कि तपाईं आराम गर्नुस् । थाक्नुभएको छ, म कुचो बढार्छु । उहाँले कयौँपटक हाम्रो हाम्रो घरमा कुचो लगाउनुभयो । भेष बदलेर जनताको बीचमा धान कुटिदिनुभयो । जनताको बीचमा काम सघाइदिँदा नै उहाँलाई आनन्द लाग्थ्यो । ओछ्यान ओसारपसार गर्ने काम पनि गरिदिनुहुन्थ्यो । उहाँ साह्रै सहयोगी मान्छे ।
नेप्लिज डट ओआरजी बाट

No comments:

Post a Comment