विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Friday, December 11, 2015

गन्धर्वले गाउन छुटाएको आफ्नै जातिको कथा

काठमाडौं- मंसिर २४-  विभेद विरुद्ध अभियान : सुख होस् या दुःख मानव जीवनमा संगीतको महत्व उत्तिकै हुन्छ । हरेक मानव संस्कृतिमा सुखदुःखमा बजाइने मौलिक संगीत हुन्छन्। नेपाली समाजको एउटा मौलिक बाजा हो सारंगी। 
धेरैजसो दुःखका धुन बज्ने सारंगीलाई गन्धर्व जातिले व्यवसायका रूपमा प्रयोग गर्दै आएका छन्। दुःखका धुन बजाएर र गीतमार्फत समाचार फैलाउने गन्धर्व जातिले अरूका कथा गाउँदागाउँदै आफ्नै कथा गाउन भुलेका हुन्छन्।
गन्धर्वले गाउन छुटाएको आफ्नै जातिको कथा 'कथा सारंगी गाउँको' नाटकको रूपमा राजधानीको सुन्धारास्थित थिएटर मलमा मञ्चन भइरहेको छ। शिक्षामा पहुँच नभएका दलित समुदायको अवस्था नाटकमा देखाइएको छ । यो नेपाली समाजको यथार्थ हो। 
बिहान बेलुकीको छाक टार्न सारंगीको सहारा लिनुपर्ने बाध्यता जहाँ सारंगी रेट्न नजान्नेको पेटले कुनै दाना भेट्दैन, यस्तै परिस्थिति नाटकमा देखाइएको छ। शिक्षाको सानो झिल्को पनि यो गाउँभित्र पसेको छैन। नाटकमा देखाइएको मनेको परिवार एउटा प्रतिनिधि परिवार हो। 
जहाँ समस्याहरू एकपछि अर्को गर्दै लाइन लागेर आइलाग्छन्। अपांगता भएको छोरा जो सारंगी रेट्न सक्दैन, छोरी मानव तस्करको सिकार बन्छे र श्रीमती पनि छोडेर जान्छे। नाटकको अन्त्यमा अपांगता भएको छोराले शिक्षित बन्ने प्रेरणा पाउँछ।
'कथा सारंगी गाउँको' मा कथावस्तु मार्मिक छ तर नाटकीय प्रस्तुति चाहिँ फितलो देखिन्छ। नाटकमा अपांगता भएको व्यक्तिको रूपमा देखाइएको पात्र हिरालाई चाहिनेभन्दा बढी निरीह रूपमा प्रस्तुत गरिएको छ। नाटकका कथाहरू एकसँग अर्कोको तालमेल जोड्न किशोर अनुराग चुकेका छन्। गाइनेकी श्रीमतीको रूपमा उभ्याइएको पात्र पोक्चीलाई निकै हलुका चरित्र बनाइएको छ। गरिबीको मारमा आफ्ना चाहनालाई चितामा जलाउन नसकेर बाध्य भएर अर्को जीवनसाथी रोज्न पुगेकी पात्रलाई भौतिक सुखको लोभमा दुईचार शब्दको भनाभनमा परिवार छोडेर जाने महिलाको रूपमा प्रस्तुत गरिएको छ। 
यस्तो गहन विषय नाटकमा फितलो छ। पूर्वको गाउँको परिवेश देखाउन खोजिए पनि बोलीचाली र लवजमा गाइने गाउँको शैली नाटकका पात्रले प्रस्तुत गर्न सकेका छैनन्। सारंगीलाई जोगाएर कलमको सहारामा आफ्नो समुदायको उत्थान गर्ने सन्देश दिन खोजेको भए पनि नाटकमा सारंगी र कलमलाई छर्लंग हुने गरी लेखक तथा निर्देशकले जोड्न सकेका छैनन्।
सारंगी रेट्दै कथावाचन गर्ने सुमन विष्टको गायकी नाटकको सबैभन्दा सुन्दर पक्ष हो। जसले दर्शकलाई सांगीतिक माहोलमा मन्त्रमुग्ध बनाइदिन्छ। नाटकमा अशोक शिवाकोटी, रीता थापा, महावीर विश्वकर्मा, आईपी आचार्य, आशीष खत्री, पुर्खाजित राई, सरिता बराइली, राजीव तामाङ, राज थापा र निर्देशक आफैंले अभिनय गरेका छन्। मंसिर ११ गतेदेखि सुरु भएको नाटक मंसिर २६ गतेसम्म मञ्चन हुनेछ।