के बेपत्ता पारिएका तेजमान विश्वकर्मा जस्ता नागरिकहरुले न्याय पाउलान ?- टेकेन्द्र विश्वकर्मा

पौष ९- विभेद बिरुद अभियान ।
पारिवारिक अवस्था
सिन्धुली जिल्लाको बाहुनतिल्पुङ गाविसमा बुबा जगतमान विश्कर्मा र आमा कलिमाया विश्वकर्माको कोखबाट २०२९ सालमा तेजमान विश्वकर्माको जन्म भएको थियो । उहाँ परिवारमा जेठो छोरा हुनुहुन्थ्यो । राज्यबाट २०६० सालमा बेपत्ता हुनुभएका विश्वकर्मा अविवाहित हुनुहुन्थ्यो । उहाँको परिवारमा बुवा, आमा एक दिदी र दुई भाई छन् । उहाँ ‘प्रतिबोध’ द्धमासिक पत्रिकाको प्रकाशक पनि हुनुहुन्थ्यो ।


शैक्षिक अवस्था
तेजमान विश्वकर्माले बाहुनतिल्पुङमा ५ कक्षा सम्म पढनु भयो । उहाँले श्री कमला उच्च माध्यमिक विद्ययालयबाट एस.एल.सी. पास गर्नू भएको थियो । जीवनमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने उहाँ उच्च शिक्षाका लागि २०४९ सालमा काठमाण्डौं प्रवेश गर्नुभएको थियो । विरानो सहर काठमाण्डौमा उहाँ बेसहारा हुनु भयो । उहाँ काठमाण्डौ आएको तीन दिन त बसन्तपुरको काष्ठमण्डप मन्दिरको भुईमा सुत्नु भयो । तर पनि उहाँको आटिलो स्वाभावले गर्दा यसलाई जीवनको नयाँ संघर्षको रुपमा लिनु भयो । बाल्मीकी क्याम्पसबाट आइए पास गरी स्नातक तहको लागि त्रिचन्द्र क्याम्पसमा भर्ना हुनु भएको थियो । उहाँको गिराफतारी त्यसै बेला भएको थियो ।
राजनीतिक सहभागिता
दलित समुदायमा जन्मनुको पीडालाई उहाँले सानै उमेरदेखि भोग्नु भयो । उहाँ स्कूलको विधार्थी हुँदा स्कुल परिसरमा रहेको पानीको भाडोबाट आफैले पानी झिकेर पिउनेक्रममा आफ्नै सहपाठीहरु (जो गैर दलितका थिए) र कथित माथिल्लो जात मानिनेहरुले जातीय अपमान गरेका थिए । ज्ञानको ज्योति फैलाउने विद्यालय जस्तो स्थानमा भएको छुवाछूतको विभेद तथा सामाजिक बहिष्करणले गर्दा उहाँमा त्यही बेलादेखि नै राजनीतिमा लाग्नु पर्छ भन्ने चेतना जागेको थियो ।
त्यसैले उहाँले राजनीतिक संघर्ष विना समाजमा व्यप्त रहेका जातीय विभेद र छुवाछूत, असमानतासाथै विकृति र विसंगतीहरु हटाउन नसकीने रहेछ भनी राजनीतिप्रति प्रभावित हुनु भयो । गलत कुराको डटेर विरोध गर्ने उहाँको निडर स्वाभाव भए पनि समाजमा उहाँलाई साथ दिने कोही पनि भएनन् । उहाँ केही समय निष्क्रीय बस्नु भयो । तत्कालिन समाजले उहाँको जुझारुपनलाई गलत रुपमा अर्थायो । उहाँलाई राम्रो मान्नेहरु विपक्षमा उभिए । त्यसपछि आफ्नो समाजप्रति उहाँको दृष्टिकोण पनि बद्लियो । समाजबाट खासै अपेक्षा राख्नु भएन । यद्यपी गाउँमा बसेको बेलामा गलत राजनीतिक चिन्तन र सस्कृतिका विरुद्ध निरन्तर प्रतिवाद गरिरहनु हुन्थ्यो ।
उहाँ कम्युनिष्ट पार्टीप्रति आकर्षित भए पनि त्यो विचार बोकेका कसैलाई नभेटेको हुँनाले तत्काल सुर्यबहादुर थापाको पार्टीमा सक्रिय हुनुभयो । विस्तारै एस.एल.सी. तहको पढाइ सकिए पछि उहाँ काठमाण्डौं आउनु भयो । त्यस बीचमा जीउनको लागि विभिन्न काम गर्दै आफ्नो पढाइलाई पनि सँगसँगै लैजानु भयो । त्यसै समयमा २०५२ सालमा तत्कालीन माओवादीले जनयुद्धको घोषणा ग¥यो । आफु जस्ता व्यक्ति र समाजको मुक्ति यसै पार्टीबाट हुने उहाँले ठम्याउनु भयो । यद्यपी उहाँ भने त्यसको केही वर्ष पछाडि मात्रै सहभागी हुनु भयो । पार्टीको सम्पर्कमा आएको केही समय पछि उहाँ दलित मुतिm मोर्चाको काठमाण्डौ जिल्ला सदस्यको रुपमा सक्रिय हुनु भयो । २०५७ सालको स्ववियु निर्वाचनमा उहाँले बालमिकी क्याम्पसमा सभापतिमा आफेनो उमेदवारी दिनु भयो । तर झिनो मतले उहाँ पराजीत हुनु भयो ।

त्यसको लगत्तै तानाशाही राज्य सत्ताले अशोक सुनार, बन्धु दाहाल लगाएतका साथीहरुलाई डल्लु स्थित एउटा घरमा पार्टीको वैठक बसीरहेको अवस्थामा गिरफतार ग¥यो । त्यस पछि उहाँ लगायतको टिमलाई जेल चलान ग¥यो । २०५९ सालमा तत्कालीन नेकपा (माओवादी) र सरकार पक्षबीच बार्ता हुने भए पछि १४ महिनाको कठोर जेल जीवन पछि उहाँ रिहा हुन भयो । तर २०६० सालमा वार्ता असफल भए पछि पुन २०६० साल मंशीर ५ गते उहाँ पुनः गिरफतारीमा पर्नु भयो ।
सङ्घर्षमय जीवन
आफन्तको साथ सहयोग विना काठमाण्डौंमा आएसँगै उहाँको जीवनमा दुःखका दिन सुरु भए । यो विरानो सहरमा अरुको साथ हुने कुरा भएन । त्यसैले उहाँले कैयौ रात बसन्तपुर दरवारको खुल्ला आकाशमा विताउनु भयो ।
रात जसरी विते पनि उहाँको दिन कामको खोजिमा वित्यो । केहि समय पछाडि गार्मेन्टमा काम पाउनु भयो । त्यस लगत्तै बसाई पनि परिवर्तन भयो । उहाँमा आफ्नो अध्ययनलाई पनि सँग सँगै अगाडि बढाउने उत्कट चाहना थियो । त्यसै क्रममा त्या चाँजो पाँजो मिल्यो र उहाँ क्याम्पस भर्ना हुनु भयो ।
काठमाण्डौमा बाँच्नको निम्ति उहाँले कुल्ली कामदेखि भृकुटी मण्डपमा टिकट काटने, फुटपाथमा बसेर कपडा बेच्ने जस्ता काम गर्नुभयो । यसैक्रममा उहाँ कान्तिपुर दैनिक पत्रिकाको हकर बन्नु भयो । लामो समयसम्म पत्रिकामा हकरको काम गर्नेक्रममा सञ्चार माध्यमको महत्वलाई नजिकबाट बुझ्ने मौका पाउनु भयो । फलस्वरुप यसैक्रममा दलित समुदायका युवाहरुको समुह बनाएर “प्रतिवोध” नामक द्धमासिक प्रत्रिका प्रकाशन गर्नु भयो । पत्रिकाको पहिलो अंकको प्रकाशक प्रेम विश्वकर्मा थिए । त्यसपछि उहाँ आफै सो पत्रिकाको प्रकाशक भएर पत्रिका निकाल्नु भयो । जसको सम्पादक अर्जुन विश्वकर्मा (नवलपरासी), व्यवस्थापक पूर्ण नेपाली (सुर्खेत) र अन्य युवाहरुमा रेम विश्वकर्मा, सुभाष दर्नाल, नारायणी वि.क. लगाएत थिए । उहाँ पहिलो पटक जेल पर्नु अगाडि सो पत्रिकाको तीन अंक प्रकाशित भएको थियो ।

माओवादी राजनीतिक गतिविधिमा भुमिगत रुपमा सक्रिय भएर काम थाले पनि सो कुरा आफुसँग वस्ने भाइहरुबाट गोप्य राख्नु भयो । डल्लुमा बस्दा पार्टीको कार्यक्रमका निम्ति चन्दा स्वरुप संकलन गरेको चामल, चिउरा, दाल नुन लगाएतका सामानले कोठा भरिपछि हामीलाई बल्ल थाहा भयो । त्यतिबेला सुत्ने ठाउँ नभए पछि साथीको डेरामा गएर सुतेको अझै मानसपटलमा ताजै छ । पार्टीको लागि भनेर जुटाईएका सामानहरु जस्ताको तस्तै बुझाउने उहाँको बानी थियो । त्यतिवेला कोठामा वहाँका धेरै साथीहरु अर्जुन विश्वकर्मा, नारायणी वि.क आइरहनु हुन्थ्यो । त्यस्तै हाल बेपत्ता रहेका अशोक सुनार, अजय शाही, निश्चल नकर्मी आदि पनि आई रहनु हुन्थ्यो ।
२०५७ सालमा डल्लुबाट उहाँ लगायतका साथीहरुलाई गिरफतार गरेपछि नजर बन्द गरेर कोठामा ल्याई छापा मारियो । संयोगवस पार्टीको पर्चा भएको कार्टुन प्रहरीले फेला पारेन । लगत्तै हनुमान ढोकामा लगेर राखियो । हामीले चार पाँच दिन पछिमात्रै भेटन दियो । त्यसपछि खान पु¥याउनु पर्ने रहेछ । आफनो मान्छेलाई म आफैले खान लिएर जान्थे । यद्यपी भेटन भने दिएन ।
उहाँलाई पन्द्र बीस दिन पछि सुन्धारा सेन्टर जेलमा चलान गरेको रहेछ । त्यसको चौध महिना पछि रिहाइ ग¥यो । त्यसपछि उहाँ घर जानु भयो । सवैसँग भेट घाट गर्नु भयो । घरमा हप्ता दिनको बसाई पछि पुुनः काठमाण्डौ आउनु भयो । घर परिवारका सबैले घरमै बस्ने आग्रह गरे पनि उहाँ मान्नु भएन । फेरी क्रान्तिको बाटोमै लाग्न रहेछ । त्यो कुरा म अहिले बुझ्दै छु ।

बेपत्ता नागरिकले के पाए?
मेरो दाजुलाई राज्यले बेपत्ता बनाएको आज बाह्र वर्ष भएछ । यतिन्जेल न सास पाइयो न लास नै पाइयो । आज भोली भन्दा भन्दै आफनो सन्तानको आसमा बसेका कति बेपत्ता नागरिकका आमा, बुबा र आफन्तहरुले स्वयम आफुलाई पनि गुमाइ सके । तर बेपत्ताहरु राज्य मौन छ ।
कतिका छोराछारीहरुले बाबा, आमा, खोइ भन्छन? श्रीमानको पर्खाइमा श्रीमतीले आफुलाई नै भुली सके । कस्लाई पो हँुदैन आफन्त वा सन्तानको माया? आँखा भरी आशुको भेल बोकेर दिन र रातलाई गन्दै बाह्र वर्ष भएछ तर हामीलाई हिजो जस्तै लाग्छ । आज आउला भोली आउला भन्दै अझै पनि आफ्ना सन्तान आउने आसमा कति परिवार बाटो कुरेर बसेका छन । समाज बदल्न राजनीतिलाई सर्वपरी ठानेर हिडने यी मानिसहरु आज कसैको नजरमा परेका छन त?
वेपत्ता नागरीक जनताका निम्ति नै लडेका होइन र? वास्तवमा राजतन्त्र बचाउने र फाल्नेबीच लडाई भएको थियो । राजतन्त्र जोगाउनेले हारे, राजतन्त्र फाल्नेले जिते तर पनि यी बीजयी सत्य मान्छेहरु अझै मरीरहेका छन्, बेपत्ता छन् । यीनै नागरिकका साथ पाउनेहरु यतिबेला उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सभासद जस्ता पदमा आसिन भएका छन । तर बेपत्ता भएका यी नागरीक आज यतिका समय सम्म अत्तो पत्तो छैन ।
राज्यका महत्वपूर्ण निकायहरुमा यिनै नागरिकका अग्रजहरु सत्तासीन छन । खोइ त यी नागरीकलाई कहीले खोज्छ राज्यले? यी नागरीकका परिवार आज रोएर बसेको छन । घरमा खाने रासन छैन, विरामी हुँदो उपचार गर्ने खर्च छैन । छोरा छोरीलाई स्कूल पठाउन सक्दैनन् । बुढेसकालका सहारा गुमाउने सयाँै बाबु आमा आज रोएरका छन् । तड्पीएका छन । यी नागरिकलाई भ¥याङ बनाएर आज धेरै जना सामाजिक रुपमा नेता, आर्थिक रुपमा सम्पन्न र पहँुचमा पुगेका छन् । आखीर के का निम्ति? बेपत्ता नागरिकलाई फगत बलिको बोका बनाइयो । देश बदल्न हिडेकाहरुलाई आतंककारी घोषणा गर्दै तिनका टाउकाको मुल्य तोक्नेहरु आज सत्तासिन छन । बेपत्ता बनाउने व्यत्तिलाई बढुवा नगर भन्दै बेपत्तँ परिवारजन बालुवाटारमा आन्दोलित हुँदा प्रहरीको कुटाइ समेत खानु प¥यो । परिवर्तको आन्दोलनमा होमिएकामध्ये पन्ध्र हजारको हाराहारीमा सहिद भए, त्यत्तिकै संख्यामा घाइते भए भने राज्य पक्षबाट नागरीकहरुलाई बेपत्ता बनाउने काम पनि उस्तै भयो ।
दश बर्षे संघर्ष पञ्चात माओवादी र तत्कालीन सरकारबीच शान्ति सम्झौता हुँदा राज्यद्धारा बेपत्ता पारिएका नागरिकलाई पनि तत्काल सार्वनिक गर्ने भन्ने कुरा भयो । सरकार पक्षबाट सहिद हुनेहरुलाई राज्यले सम्मान गर्ने जस्ता सकारात्मक कुरा भए पनि त्यो सम्झौता आज आएर बिर्सिएको छ । माओवादी पार्टीमा आएको टुट र फुटले त्यो सम्झौता अरु ओझेलमा हुने सम्भावना छ ।

के अब पुर्ण पौड्याल, विपिन भण्डारी, सिएन ढुङगाना, निश्चल नकर्मी, तेजमान विश्वकर्मा लगाएत १०९५ जना ती बेपत्ता नागरिकहरुले न्याय पाउलान?

लेखक : बेपत्ता तेजमान विश्वकर्माकाकान्छा भाई/दलित अन्लाइन बाट

No comments:

Post a Comment