श्रमसीप चल्ने : पानी नचल्ने - गोविन्द नेपाली

पौष १४, विभेद बिरुद्ध अभियान ।  आजको समयअनुसारको नयाँ प्रविधि र समयसापेक्ष ज्ञान सिकाएको भए आज यो अवस्था आउने थिएन । ती बालिकालाई ज्ञानविज्ञानका कुरा सिकाएको भए एक दिन उनी पनि यो देशको मलाला वा आङसाङ सुची हुने थिइन् होला । तर कस्तो विडम्बना । हामी कति दयनीय छौं ?
नेपाली समाज यति डरलाग्दो गरी विकसित भइरहेको छ कि आजभोलि भनेर पनि साध्य छैन । सानोदेखि ठूलासम्म तलदेखि माथिसम्म र उच्चदखि निम्नसम्म हेप्ने चेप्ने र एकले अर्कोलाई कागती निमोठेजस्तै गरी निमोठ्ने चलन व्याप्त हुँदै गएको छ । यी हरफहरू लेखिरहँदा मलाई लागिरहेको छ, हामी कुन संसारमा छौं ? हामी यो के गरिरहेका छौं ? एक चोटी सोच्ने बेला आएको छ । यो कुनै कथा नभई लेखकले भोगेको एक यथार्थ घटना हो ।
यो पङ्क्तिकारले एउटा गैर सरकारी स्ांस्थामा रही सुदूर पश्चिमका जिल्लामा कार्य गर्दै आइरहेको लामो समय बितिसकेको छ । मलगायत सहकर्मी साथीहरू सुकुम्वासीहरूलाई घर बनाउने काममा सक्रिय रहेका छौंं । एकपटक त्यस्तै काममा थियौं, नजिकै एकजना जोशी थरका मानिसको पनि घर थियो । त्यही घरमा केही समयदेखि हाम्रो टोली बस्दै आइरहेको थियो । त्यसै घरकी नाबालिकाले देखाएको व्यवहार यहाँ प्रस्तुत गर्दैछु ।
त्यस दिन दिनको १२ बजेको थियो होला । म साइटबाट आउँदा मलाई तिर्खा लागेको थियो । करिब १२, १३ वर्षकी एक बालिका मात्र थिइन् घरमा । उनका आमाबुबा सबै काममा गएका थिए । मैले भन्ने नानु पिउने पानी देउन । त्यसपछि उनी भित्र गइन् र पानी ल्याएर मेरो हातमा नपारी भुइँमा राखी दिइन् । अनि मलाई शंका लाग्यो । मैले त्यो पानी खाने जति खाएँ र बाँकी पानी फाली दिएँ । फेरि पानी देउन भनेँ । ती बालिकाले पहिलाको भाँडो नलिई भित्र गइन् र फेरि अर्को भाँडोमा पानी ल्याइन् । र मैले अघि नै खाएको अमखरामा पानी राखीदिइन् । त्यो पानी मैले हात धोएर खेर फालँे । मैले फेरि पनि उनीलाई भने पानी फेरि चाहियो । अनि फेरि उनले त्यो भाँडो बाहिर राखेर अर्को भाडोमा पानी लिएर आइन् र मैले प्रयोग गरेको अम्खोरामा हालिन् । फेरि पनि त्यो पानी पनि हात धोएर नै सिध्याएँ । फेरि नानी पानी सिध्धियो ल्याउन भने । यसरी मैले पानी माग्दै गए । पछि उनले गाग्री नै बोकेर ल्याइन् सकिनसकी । मैले पानी मागेको देखेर उनी मबाट तर्किएर पर गइन् । अचम्मको कुरा त के भने, चार पाँचपटक पानी दिँदा पनि उनले मलाई छोइनन् । अनि मनमा अनेकांै कुरा खेलाउँदै आफ्नो कोठाभित्र पसेँ । म भित्र पसेको देखेपछि उनले एउटा कचौरा लिएर गाई भएको ठाउँमा गइन् र गाईको गौंत लिएर आइन् । भाँडोलाई धाराबाट पानी ल्याएर सफा गरिन र गांैत हातमा लिई सबैतिर छर्किन् । त्यसपछि भाँडाहरूलाई घाममा सुकाइन् । त्यो दृश्य मैले भित्रबाटै नियालिरहेको थिएँ । तर ती बालिका भएको कारण केही भन्ने अवस्थामा म थिइन ।
म अच्चम मान्दै बाहिर निस्किएँ । मैले पनि उनको गांैतले चोख्याएको भाँडोलाई पुनः छोइदिएँ । त्यसपछि उनी निक्कै आक्रोशमा आइन् र भनिन् तपाईंले यो भाँडो किन छुनु भएको ? मेले त गौंत्याइसकेको थिएँ । अनि मैले सोधेँ किन यसो गरेकी नानी ? उनको जवाफ थियो ‘मेरो बुबा धामी र पुजारी दुवै हुनुहुन्छ । तपाईं दलित हो, त्यसैले यो कुरा मेरो बुबाले थाहा पाउनुभयो भने मलाई साँझ घरमा बस्न दिनुहुन्न । म कहाँ गएर बस्ने ? अनि मैले फेरि सोधेँ ‘मैले छोएर के भयो त ?’ उनले जवाफ दिइन् ‘देवता रिसाएर हाम्रो घरमा अनिकाल पार्छन् रे । अनि हामीले के खाएर बस्ने त ।’ मैले सोधँे ‘कसरी देवता रिसाएको थाहा पाउँछ्यौ तिमीले ?’
उनले जवाफ फर्काइन् ‘मेरा बुबाले थाहा पाइहाल्नु हुन्छ नि । म नजन्मँदै धामी गर्ने मान्छेले यो कुरा थाहा पाउँदैनन् । हाम्रा घरमा त दलित कोही पनि आउँदैनन् । तपाईं मात्र आउनुभएको छ । मैले सोधेँ ‘म दलित हो भनेर कसरी थाहा पायौ त ? उनले भनिन्, ‘मेरो बुबाले भनेको अस्ति नै, उहाँ सर त दलित हो ।’
यति भलाकुसारी हुँदाहुँदै उनकी आमा घरमा आइपुगिन् । ‘जिया यी मान्ठाले (आमा यस मान्छेले) त मैले धोएको सबै भाँडा छोइदिए । उनको जियाले पनि ‘किन छुन दिएको’ भनेर एक थप्पड हिकाईन् । त्यसरी बालिकालाई हिर्काएको देखेर मैले भनेँे ‘भाउजु किन पिट्नु भएको ? के भयो ? उनले भनिन्, ‘हामी त देवीदेवतामा विश्वास गर्ने मान्छे, दलितहरू घरमा ल्याउँदैनांै । तपाईं मात्र बस्न आउनुभयो । अब साँझमा के पो हुने हो ?’ भनेर उनले कड्केर जवाफ दिइन् ।
उनको कुरा सुनेर म निराश भएँ । उनीलाई नेपालको कानुन सुनाउने इच्छा थियो मलाई । केही जवाफ फर्काऊँ त दुवै नाबालिक र अशिक्षित महिला । बुझाउने मन थियो, तर अन्धविश्वासले जरा गाडेको समाजका व्यक्ति थिए ती । प्रतिवाद गरौं त उल्टै आरोप लाग्ने हो कि भन्ने डर पनि । धैर्य नगरौं आफूहरूले थालेको परियोजना नै डुब्ने खतरा । ज्ञानको कुरा गरौं त सोच्ने मान्छेको नै कमी भएको ठाउँ । साह्रै दैवसंकटमा परे म । खुबै टोलाएँ । तापनि मनले मानेन । बाहिर निस्किएर सहकर्मी साथीहरूसँग यो विषयमा कुरा गरेँ । त्यही बेला एक मित्र आइपुगे र भने के भयो सर ? मैले उनलाई सबै जानकारी गराएँ । उनी पनि धुरुधुरु रोए । आफैंलाई थाम्न सकिन र आपैmं पनि रोएँ एकै छिन । दिन मधुरो हुँदै गयोे । साझँपख उनका श्रीमान् घरमा आइपुगे । उनकी श्रीमतीले सबै कुरा बताइछन् । पछि उनी मेरो कोठामा आई पुगे र सोधे ‘सर दिनमा के भयो ?’ मैले जवाफ दिएँ ‘तपार्इंले यो कुरा कसरी थाहा पाउनुभयो दाजु ?’ उनले भने श्रीमतीले भनिन् ।’ मसँगैका सहकर्मीले भने ‘सरजस्तो मान्छेलाई त यस्तो भयो, यहाँ बस्तै आएका दलितहरूलाई अझै कस्तो होला ? उनले भने ‘यो रीतिरिवाज हो, यसमा कसैले पनि केही गर्न सक्दैनन् ।
काम गर्नै थियो । काम गर्दै गइयो र सिध्याइयो पनि । तर मनमा गढेको खुल्दुली भने मरेन । एकदिन मैले स्थानीय गाउँ विकास समितिका सचिवलाई बोलाएर परियोजनाको कामको सर्वेक्षण गर्न अनुरोध गरेँ । त्यही निहँु पारेर मैले उक्त परिवारबाट भएका घटनाका बेली विस्तार लगाएँ । सचिव लज्जित भए । उनले पनि केही भन्न सकेनन् । भने, ‘सर यताको समाज नै यस्तै छ । दुःख नमान्नु होला ।’
मलाई आत्मग्लानी भयो । हामी एक्काईसौं शताब्दीमा छौं । तर पनि अहिलेको नवीन शिक्षा बालबालिकाहरूलाई दिन सकेका छैनौं । आजको समयअनुसारको नयाँ प्रविधि र समय
सापेक्ष ज्ञान सिकाएको भए आज यो अवस्था आउने थिएन । ती बालिकालाई ज्ञानविज्ञानका कुरा सिकाएको भए एक दिन उनी पनि यो देशको मलाला वा आङसाङ सुची हुने थिइन् होला । तर कस्तो विडम्बना । हामी कति दयनीय छौं ?
यी त मात्र एउटा पात्र हुन् यस्ता । यस्ता लाखौं बालबालिकालाई हामीले धर्मको नाममा परिबन्धनमा बाँधेका छौं । जसका कारण जातीय छुवाछूतको बिरुवा झनै गहिरो गरी रोपिँदै गएको छ । यिनीहरूको खासै दोष देखिँदैन । देखिन्छ त केवल बालबालिकाका आमा, बुबा र अग्रजहरूको दोष नै देखिन्छ । आज ग्लोबल भिलेजको अवधारणा आइसकेको बेला, मानिसले चन्द्रमामा पाइला टेकिसकेको बेलामा पनि हामी पुरातन परम्परालाई अँगालेर बसेका छौं । यो विडम्बना होइन त अरू के हो ? यो अवस्थालाई मनन् गर्दै बालबालिकाहरूलाई, समाजलाई, समयसापेक्ष अगाडि बढाउनु नै सान्दर्भिक होला भन्ने मलाई लाग्छ । विगतमा हाम्रा पुर्खाका दिन यसै गर्दै बिते । आज पनि त्यसैगरी बित्दै गए बालबालिकाको भविष्य के होला ? अचम्म त त्यो पनि छ कि दलितहरूको श्रम चल्ने पानी नचल्ने ? आखिर किन ?

No comments:

Post a Comment