विदेशमा नेपाली दलितहरूका पीडा - गोविन्द विश्वकर्मा

पौष १४, विभेद बिरुद्ध अभियान । सामन्ती मल्ल कालका राजा जयस्थिति मल्लका पालादेखि सुरू भएको छुवाछूत प्रथा आजको सभ्य युगमा पनि यथावत छ । यही जातीय छुवाछूतका कारणले गर्दा दलित भनेर सीमाङ्कन गरिएका जातिहरू योग्य भएर पनि अयोग्य हुन्छन् । जातीयताका कारणले गर्दा आफ्नै देशभित्र रोजगारको अवसरबाट बन्चित हुनु परेको तितो यथार्थ सबैलाई थाहा नै छ । जातीयताका कारणले गर्दा सरकारी काम पाउने कुरा झनै टाढाको कुरा भयो ।
जातीयताकै कारणले गर्दा मान्छेले मान्छेलाई गर्ने पशुवत व्यवहारका कारणले दलितहरू विदेश पलायन हुने क्रम बढेर गएको छ । स्वदेशमाभन्दा स्वतन्त्र भएर हिड्डुल, खानपान, उठबस सबैमा समान हुने हुँदा दलितहरू विदेशमा जान रूचाउँछन् ।
विडम्बनाको कुरा के छ भने एउटै देशमा नागरिक भएर एउटै धर्म मान्ने मान्छेका बीचमा यस्तो असमानता किन गरिन्छ ? यो कस्तो धर्म हो ? अरू धर्ममा हामी सनातन धर्ममा जस्तो भेद भाव छुवाछूत पाइदैन । धर्म गरिब छन् । तर छुवाछुत छैन । मान्छे मान्छेमा भएको पशुवत व्यवहारले गर्दा आज दलितहरूको आयातित व्यापारिक धर्मतिर प्रवेश गर्ने क्रम पनि बढेर गएको छ । रहरले होइन, जातीय पिडाका कारणले नै धर्म परिवर्तन गर्न विवश भएका हुन उनीहरू । विदेशतिर जातीय पीडा खेप्नु पर्दैन भन्ने जुन विचार बनेको छ, दलितहरूमा त्यसका विपरीत त्यही देशबाट आएको कथित उपल्ला जातिका मान्छेहरूबाट विदेशमा पनि अपमानित हुनु परेका थुप्रै घट्नाहरू हाम्रा अगाडि छन् । उदाहरणका लागि एउटा घट्ना समावेश गर्न सकिन्छ ।
अस्ट्रेलियामा पढ्न गएका एक दलित विद्यार्थीमाथि घटेको घट्ना यथार्थ हो । उनी भाडामा कोठा खोज्न जाँदा दलित भएका कारणले गर्दा त्यहाँ बस्दै आएका एक कथित उपल्लो जाति हुँ भन्ने नेपालीबाट कोठा दिइएन । उनी दलित भएका कारणले गर्दा कोठा पाउनबाट बञ्चित भए भने त्यो कथित उपल्लो जातिको मान्छेले आफ्नो धर्म र जातलाई बचाएको घमण्ड सफल भयो । यस्ता हजारौँ घट्नाहरू छन् । तर अप्रत्यक्ष रूपमा छन् ।
मानव भएर मानवलाई मानवीय व्यवहार गर्न नजान्नेले कसरी सारङ्गी धुन जस्तो जस्तो आँशुका नुनिला ढिकका पिएर जीवनयापन गर्ने ? ज्युँदो छउञ्जेल पिठो नपाएकालाई मरेपछि खिर खुवाएर स्वर्ग पठाउने सपना देखाउने सिपालु सनातन धर्मका ठेकेदारहरू भगवानका दूत बनेर समाजमा मान्छेलाई ठगेर स्वर्ग जाने बाटो देखाउन हिडेका यी दुष्टहरूले के स्वर्ग जाने बाटो देखाउलान् त ? यो एउटा मात्र परम्पराले पनि बताउँछ कि दलितहरू स्वदेशमा मात्र होइन, विदेशमा आएर पनि जातीय पीडाका शिकार भएका छन् । जुन देशमा जातभात, छुवाछूत भन्ने कुन चराको नाम हो ? थाहा नै छैन, ती देशहरूमा आएर पनि यी दुष्टहरूको बुद्धिमा घाम किन लाग्दैन ? किन सिक्न सक्दैनन् दुनियाँलाई हेरेर यिनीहरूले ? यिनीहरूमा चेतना छैन ? विवेक छैन ? स्वदेशमा मात्र नभएर विदेशमा सात समुद्रपारीका देशहरूमा पनि विवेक र विचारहीन व्यवहार गर्छन यिनीहरू । के यो समास्यको समाधान छैन ?
समस्याको समाधान छ । तर हामीले अरूले गरिदेला भन्ने आशामा बस्यौँ भने, संविधानमा लेखिएर समस्याको समाधान खोज्यौँ भने त्यो सम्भव छैन । संविधानमा लेखेर समस्याको समाधान हुने भए २०२० सालको संविधानमा छुवाछूत दण्डनीय हुनेछ भनेर लेखिएको थियो । छुवाछूत गर्नेलाई जरिवाना र जेल दुवै सजाय हुन सक्ने उल्लेखित थियो । खै त छुवाछूतको अन्त भएको ? संविधानमा लेख्नु मात्र ठूलो कुरा होइन । व्यवहार ठूलो कुरा हो । व्यवहारमा कुनै कमी आएको छैन । तसर्थ संविधानमा लेखेकै भरमा समस्याको समाधान खोज्नु मुर्खता हुनेछ । न त सनातन धर्मले सिर्जना गरेको संस्कार र संस्कृतिको खोल ओढेर बसेर समस्याको समाधान हुन्छ, न त धर्म परिवर्तन गरेर नै समस्याको समाधान हुन सक्छ । अन्ततः सनातन धर्मले सिर्जना गरेका संस्कार, संस्कृतिविरुद्ध सम्पूर्ण सचेत दलितहरू मोर्चा बनाएर सांस्कृतिक आन्दोलनको आँधीबेहरी सिर्जना गरी यस्ता कुकर्म गर्नेहरूलाई कार्वाही नगर्दासम्म यो जातीय पीडाबाट मुक्ति पाउने वाला छैनन् । तसर्थ सम्पूर्ण दलितहरू एक हौँ । छुवाछूत प्रथाको अन्त्यका लागि सङ्घर्ष गरौँ । समतामुलक समाजको निर्माणको दिशामा अगाडि बढौँ ।

No comments:

Post a Comment