अछामको बिन्दवासिनी गाविसका १७ दलित परिवारलाई खानेपानीको समस्या

भीमदत्तनगर, पुस ७ -विभेद बिरुद्ध अभियान । खानेपानी आयोजना जीर्ण हुनुका साथै मुहानसमेत सुक्न थालेपछि अछामको बिन्दवासिनी गाविस– ५ नगानेस्थित दलित बस्तीमा खानेपानी समस्या भएको छ ।एक दशकअघि निर्माण गरिएको पँधेरीगाँउ खानेपानी योजना जीर्ण बन्नुका साथै पानीको मुहानसमेत सुकेपछि उक्त बस्तीमा पानीको समस्या भएको हो । मुहानमा पानीसमेत आउन छाडेपछि यहाँका १७ दलित परिवारलाई खानेपानीको समस्या भएको स्थानीयवासी चन्द्रबहादुर भुलले बताउनुभयो ।

“पानीको समस्या निकै झेल्नुपरेको छ ।” उहाँले भन्नुभयो–“अन्तैबाट दुःख गरेर प्यास मेटाउनुपर्ने अवस्था छ ।” पिउने पानीका लागि स्थानीयवासी घन्टौँ पैदल हिँडेर पिलगाउँबाट पानी ढुवानी गरेर गुजारा गरिरहेको स्थानीयवासीको भनाइ छ ।

“गाविसलगायत सरोकारवाला निकायले हाम्रो प्यास मेटाउने पहल गरिदिनुप¥यो, अहिलेसम्म कहीँबाट पनि पहल भएको छैन–” स्थानीयवासीको गुनासो छ ।

गाविसस्थित राजनीतिक दलका नेतालगायत सरोकारवालाले गाविसको बजेट पनि पहुँचका आधारमा विनियोजित गर्दा उक्त दलित बस्तीका हरेक समस्या सुनुवाइ हुनबाट वञ्चित हुने गरेको उनीहरूको गुनासो छ । खुला दिसामुक्त क्षेत्र भए तापनि पिउने पानीसम्म नहुँदा सरसफाइको अवस्थासमेत नाजुक बन्दै गएको छ । 

No comments:

Post a Comment