‘घाम झुल्कँदा बाँच्ने आस पलाउँछ’- सीता नेपाली

सिन्धुपाल्चोक, १६ पुस-विभेद बिरुद्ध अभियान  ।  ज्वरोपछि बल्ल तंग्रिँदै गरेको शरीर। पिठ्युँमा बिरामी छोरी। काँधमा औषधि र सामान भरिएको झोला। जलवीर–कात्तिके कच्ची सडकको ढाँडे कटेपछि २६ वर्षीया सीता नेपाली भेटिइन्।
ज्वरोले कमजोर बनाएको शरीरमाथि छोरी र सामानको भारीसँगै हतारिँदै हिँडिरहेकी उनको अनुहार मलिन थियो। भूकम्पमा गाँसबास गुमाएकी उनी थप समस्या र पीडामा छिन्।

‘मुखबाट रगत आउन थालेपछि ओखतीमुलो गर्न यसका बाबु (पिठ्यँुमा रहेकी छोरी देखाउँदै) हिजै मात्र काठमाडौंतिर लागेका छन्,’ पिठ्युँमा नौमहिने छोरी रोजिना बोकेर हिँड्नै हतारिएकी सीताले भनिन्, ‘घरमा बिरामीले थलिएर १० वर्षे छोरो लडिरहेको छ।’ बराम्ची–,९ ध्यादुङकी २६ वर्षीया सीताको दुई लालाबालासहित बस्दै आएको घर भूकम्पले ढालेपछि आपतमा फसेकी उनले विदेशमा रहेका श्रीमान राजकुमारलाई बोलाइन्।
भूकम्पले लडेको घर ठड्याउन र आपतमा सहारा होला भनेर विदेशबाट फर्किएका श्रीमान आफैं ठन्डीको सुरुआतमै अस्पताल शऒ्ढयामा पुगे। स्याँठ नछेक्ने टहरोमा चिसोले गाँज्दै गएपछि राजकुमारको छातीमा समस्या देखिएको छ। भरोसाका मियो नै अस्पताल पुगेपछि सीता बेचैनीमा छिन्।
उनी आफैं पनि एक सातादेखि बिरामी छिन्। तातोपानीले जसोतसो ज्वरो निको पारे पनि हातखुट्टा अझै काँपिरहेका छन्। शीत चुहिने र स्याँठ नछेक्ने जस्ताको अस्थायी टहरोमा चिसोले छोरी रोजिना सिकिस्त भएपछि उनी मंगलबार आफ्नो बिरामी शरीरको पर्वाह नगरी सखारै झन्डै तीन घन्टा पैदल हिँडेर जलवीरेस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्।
‘बच्चीको छाती खराब भइसकेको छ। चिसोबाट जोगाउँदै खुवाउन भनेर डाक्टरले ओखती दिएका छन्,’ उनले भनिन्, ‘नभए कान्ति बाल अस्पताल लैजानुपर्छ रे! यो चिसोमा टहरोभित्र कसरी जोगाउनु?’ चिसोले भेटेसँगै रोजिना सातादेखि बिरामी छिन्। खोकीले रातभरि सुत्न सक्दिनन्। खानामा मन लाउन छोडिन्। बरु बान्ता मात्रै गर्छिन्।’ 

स्रोत : nagariknews

No comments:

Post a Comment