मंसिर २७- विभेद विरुद्ध अभियान ।
तपाईं साहित्यकार आहुति कि राजनीतिकर्मी विश्वभक्त दुलाल ? कुनचाहिँ परिचय बढी ओझिलो लाग्छ ?
साहित्य मेरो रुचिभित्र पर्छ । राजनीति मेरो दायित्वभित्र पर्छ । त्यसकारण अहिलेसम्म मुख्य के हो भन्ने कुरा टुंगिसकेको र टुंग्याउनुपर्ने अवस्था आएको जस्तो लागेको छैन । दुई वटैमा सकेजति काम गरिरहेको हुन्छु ।
आफ्नो एउटा नाम हुँदाहुँदै के कारणले आहुति भनेर चिनिनुभयो ?
नछोपिएका नामबाट रचनाहरू छपाउँदा दमनमा पर्ने अवस्था आउन सक्थ्यो । छोपिएका नामबाट लेख्दा प्रहरीले सिधै मुद्दा चलाउन मिल्दैनथ्यो । एउटा यही कारण होे, अर्को उपनाम लेख्ने फेसन जस्तै थियो, युवा अवस्थामा प्रेरित हुनु स्वाभाविक पनि थियो । भावनात्मक रूपले पनि होला आहुति टाइटल राखें । तेस्रो कुरा सिधा नामबाट राष्ट्रिय स्तरका पत्रिकामा रचनाहरू पठाउने साहस पनि थिएन । हामी जुन समुदायबाट आयौं त्यहाँ लेखनलाई त्यति कदर गर्ने वा लेख्न सक्छन् भन्ने स्थिति थिएन । यी तीन वटा कारणले गर्दा म आहुति भएँ ।
जातीय उत्पीडन र समानताका पक्षमा कलम चलाउन के कस्ता परिघटनाले प्रेरित गरे ?
लेखकले सबभन्दा पहिले आफ्नो जीवनलाई व्यक्त गर्छ, कथा अरूका लेखे पनि अनुभूति आफ्नो लेख्छ । जस्तो परिवेश, सामाजिक बनावट, वर्गीय संरचना,सांस्कृतिक ढाँचाको बीचबाट हामी हुर्किऔं त्यो अन्याय अत्याचारपूर्ण, असमानता र अपमानमा आधारित थियो । त्यसले कुनै न कुनै रूपमा अभिव्यक्त हुनु थियो नै । मलाई लेखनमा रुचि भएकाले लेखनबाट उत्पीडन अभिव्यक्त भए ।
आफैं प्रत्यक्ष उत्पीडनको सिकार हुनुभएको कुनै घटनाको स्मरण छ ?
उत्पीडन एउटा वा दुई वटा भन्ने हुँदैन । यो त निरन्तर प्रक्रिया हो । उत्पीडन, अपमान भनेको जीवनको समग्रता हो । यो हर सामाजिक परिघटनामा, व्यवहारमा, दैनिक जीवनमा घट्ने कुरा हो । यद्यपि त्यसभित्रका खास–खास घटनाले मान्छेलाई अझ बढी पोल्छन् । त्यसता घटना हरेक मान्छेका होलान् ।
साहित्यका प्रकार र प्रकृति कस्ता हुन्छन् ?
कुन आधारमा हेर्ने भन्ने कुरा हो, दार्शनिक ढंगले, सौन्दर्यशास्त्रीय ढंगले हेर्ने हो भने अहिले संसारमा मूलभूत रूपमा दुई वटा सौन्दर्यशास्त्रभित्र साहित्य छन् । एउटा माक्र्सवादी सौन्दर्यशास्त्र जसलाई समाजवादी यथार्थवाद भनिन्छ । अर्को विगतका आदर्शवादका विविध रूपहरू अस्तित्ववादी, शून्यवादी र अहिले नेतृत्वमा रहेको त्यो धाराको उत्तर आधुनिकतावादी यो अलग धारा भयो । दार्शनिक रूपमा यी दुई धाराबीच नै मूल संघर्ष छ र त्यसकै विविध शाखाका आधारमा नै संसारमा साहित्य रचना गरिएका छन् ।
तपाईंहरू बुर्जुवा साहित्य भन्नुहुन्छ, साहित्य पनि प्रगतिशील र प्रतिगामी भन्ने हुन्छ र ?
पहिला साहित्य के हो बुझ्नु जरुरी छ । साहित्यमा मूलभूत रूपमा के व्यक्त हुन्छ ? मूलभूत रूपमा विचार अनि त्यसपछि, सौन्दर्यमूल्य व्यक्त हुन्छ । साहित्यमा मानिसका आकांक्षाहरू व्यक्त हुन्छन् ।
के मानिसका सबै आकांक्षा र विचार मानव कल्याण गर्ने खालका हुन्छन् त ? अवश्य पनि हुँदैनन् । हुँदैनन् भने स्वाभाविक रूपमा जुन साहित्यले मानवजातिको उत्पीडित समुदायको, उत्पीडित वर्गको मुक्तिको आकांक्षालाई संगाल्छ, त्यसको सौन्दर्यलाई अभिव्यक्त गर्छ र त्यसको प्रगतिलाई निश्चित गर्न खोज्दछ भने त्यो प्रगतीवादतिर जान्छ र प्रगतीशील साहित्य बन्दछ । जुन साहित्यले यथास्थितिमा सन्तुष्ट हुन सिकाउँछ र नभएका सौन्दर्यको बारेमा चित्रण गर्छ त्यो स्वाभाविक रूपमा यथास्थितिवादी साहित्य बन्छ । उदाहरणका लागि साहित्यमा महिलासौन्दर्य धेरै लेखिएको छ । महिलालाई प्रगतीवादी दृष्टिकोणले हेर्यो भने मूलभूत रूपमा मोटामोटी ५००० वर्षदेखि पुरुष उत्पीडनबाट उत्पीडित छन् भन्छ र उनीहरूको मुक्तिको कुरा गर्छ । अब अर्को धाराले के कुरा गर्छ भने महिलाहरू शृंगार पटारको लायक छन्, उनीहरूको प्रगति भनेको श्रीमान्, छोरा वा बुबाको आदेशमा चल्नुमा छ । ऊ अर्धाङगिनी हुन्छे ,ऊ स्वतन्त्र मान्छे हुन्न । अब यहाँ कुन साहित्यले महिलाको कल्याण गर्दछ त ?
साहित्य, समाज र सत्ताबीच कस्तो अन्तरसम्बन्ध हुन्छ ?
साहित्यमा मानिसका अनुभूति र आकांक्षा व्यक्त हुन्छन् । राजनीतिले सिधै नारामा काम गर्छ । साहित्य सांस्कृतिक गतिविधि हो । आधारभूत रूपमा यसले राजनीतिलाई तत्काल नभई लामो समयपछि प्रभावित गर्छ । राजतीतिले चाहिँ प्रत्यक्ष सिधा र तुरुन्त प्रभाव पार्छ । कहिलेकाहीँ राजनीतिले साहित्यलाई नेतृत्व गरेको जस्तो देखिन्छ । अधिकांश पुराना सत्ताले त्यही गरे । पञ्चायतकालमा भञ्ज्याङमा राजा, रानी भेटियो भन्ने गीत लेखिन्थ्यो÷लेख्न लगाइन्थ्यो । त्यो भन्या राजनीतिले साहित्यलाई आफ्नो मातहतमा राखेर लग्या हो । साहित्यको स्वतन्त्र अस्तित्व हुन्छ । जसले गलत राजनीति, गलत परिपाटीविरुद्ध बोल्न थाल्छ र नयाँ राजनीतिक जन्म दिन भूमिका खेल्छ । यसरी एक आपसमा यिनीहरू सम्बन्धित पनि छन् र एक आपसमा यिनीहरू स्वायत्त पनि हुन् ।
नयाँ घरलाई तपाईंको आफ्नै कथा भन्नेहरू पनि छन् , के यो साँचो हो ?
होइन, स्वाभाविक रूपमा मैले सबभन्दा अनुभवहीन अवस्थामा लेखेको उपन्यास थियो त्यो । एक प्रकारको प्रगतिवादी सौन्दर्य क्षेत्रमा भइरहेको अल्छीपनको विरुद्धमा एक प्रकारको युवा विद्रोह थियो त्यो । स्वभाविक रूपमा सबभन्दा पहिले लेखेको हुनाले मैले आफू हुर्के परिवेशलाई नै सबभन्दा बढी अभिव्यक्त गर्न सक्ने भएको हुँदा राजधानीको काँठ क्षेत्रलाई बढी चित्रण गर्ने प्रयत्न गरें । कुरा त्यति मात्र हो । त्यसमा स्वाभाविक रूपमा लेखकको अनुभूति सँगसँगै देखेका अनुभूति पनि होलान् । म नै भन्ने कुरा त होइन ।
कुनै समय, ‘नयाँघर’ पढेपछि अझ धेरै माओवादी जन्मिएका हुन् भन्ने हल्ला पनि सुनियो नि ?
मलाई लाग्छ विशेषतः यो युवा पाठकले रक्षा गरेको उपन्यास हो किनकि नेपालका घागडान भनिने समीक्षकहरूले, समालोचकले काम लाग्ने चिज होइन भनेर बेवास्ता गरिएको थियो । तर यसलाई हजारौं युवाले पढेर लगातार अगाडि बढाएपछि यो जीवन्त बन्न पुग्या हो । यो उपन्यासले केही युवालाई कम्युनिस्ट आन्दोलनको पूर्णकालीन यात्रामा लगेकै हो । यो अहिलेको परिवर्तनका निम्ति युवाको एउटा पंक्तिलाई यसले गतिलो उत्साहित गरेकै हो । यही पढेकै कारण सातवर्ष जेल बस्नेहरू पनि छन् । यही उपन्यासले गर्दा धेरै घरमा छापा मारिएका पनि छन् । त्यस समय यसले ठोस भूमिका खेलेकै हो ।
पछिल्लो कवितासंग्रहको नाम गहुँगोरो अफ्रिका कसरी रहन पुुग्यो ?
अफ्रिका भन्ने वित्तिकै गोरो साम्राज्यबाट उत्पिडित कालो माथिको उत्पीडन हो । त्यहाँ जुन खालको रङ्गभेद छ त्यो कालो अफ्रिका हो । नेपाल मात्र नभएर दक्षिण एसियामानै गहुँगोरो प्रकृतिको रंग छ र यहाँ भित्रको अफ्रिका भनेर प्रतिकात्मक रूपमा यहाँको वर्ण व्यवस्थाद्धारा पिंधमा पारीएकाहरू जसलाई पहिला सुद्र, अछुत भनिन्थ्यो अहिले जसले आफूलाई दलितको रूपमा परिचित गराउँछन् , तीनीहरूको जिवनमा परेको असर र उनीहरूले गरिरहेको मुक्तिको चाहना आवाज त्यहाँ अभिव्यक्त गरिएको छ । २० वर्षको समयावधीमा मैले लेखेको २८,२९ वटा कवितामध्ये एउटा कविता हो गहुँगोरो अफ्रिका ।
तपाईंका विचार र लेख भट्किला छन् र जातीय मुद्दालाई बढी उठाउनु हुन्छ भन्नेहरू पनि छन् नी ?
औपचारिक रूपमा त मलाई त्यस्तो आरोप छैन, कतिपयलाई मनमा लाग्या होला । मैले भनेको के हो भने जुन समाजमा जात–जातीहरू छन् र त्यसैको आधारमा जिवन निर्धारित हुन पुग्या छ भने त्यहाँ के को कुरा गर्ने त ? जुन समाजमा लिंगिय समस्या छ भने त्यहाँ लिंगिय समस्याको कुरा नगरे के को कुरा गर्ने त ? भएको कुरा नगरेर अर्को कुरा गर्ने भन्या समस्या समाधान नगर्ने भन्या हो । जातीवाद अर्कै कुरा हो र जातीय कुरा गर्नु अर्कै कुरा हो । जातीवाद भनेको आफ्नो जातीलाई श्रेष्ठ ठानेर अर्को जातीलाई दमन गर्नु र अधिकार नदिने भन्या हो । जातीय कुरा गर्ने भनेको त्यो जातीको सम्मान, त्यसको मुक्ति र त्यसमाथि भएको उत्पीडनको अन्त्यको चाहनाको कुरा हो । त्यो सबै समुदायमा गर्नु पर्छ । माक्र्सवादले त्यो कुराको कहाँ इन्कार गर्छ । माक्र्सले त वेलायतको आयरल्याण्डका आयरिस जातिको मुक्ति विना व्रिटेनका मजदुरको मुक्ति हुँदैन भने ।त्यो भन्या के हो ? यहाँ जातीको मुक्तिको प्रश्न पनि वर्गसंग स्वत गाँसिएको छ भन्या हो । मार्कसवाद जातीय मुक्तिको विरोधी होइन अझ वैज्ञानिक दिशा दिने सिद्धान्त हो । त्यसको आधारमा मैले जाती, जात, समूदायहरूको कुरा ग¥या हो ।
तपाईं साहित्य कत्तिको पढ्नुहुन्छ ?
मेरो त जिवन कुनै नियममा आधारित छैन । म समाजमा स्थापित भएका दिनचर्या वा जिवनका नियममा हिँड्न सक्ने ठाउँको मान्छे पनि होइन । त्यसकारण पढ्ने बारेमा पनि मेरा निम्ति कुनै नियम थिएन र छैन पनि । स्कुल सकेपछि १३ महिना जती मैले नेपाल भारत साँस्कृतिक केन्द्रको पुस्तकालय र त्रि.वि. केन्द्रिय पुस्तकालयमा दिनहुं गएर पढें । यसै समयमा मैले धेरै कुरा सिकें । त्यस बाहेक कुनै नियम छैन । जे पाइन्छ, जुन बेला सम्भव हुन्छ र मिल्छ त्यसै अनुसार गर्ने हो ।
तपाईंलाई मनपर्ने पुस्तकको नाम लिनुपर्दा ?
त्यस्तो त धेरै होेला । मलाई अलि बढी प्रभावित गर्नेमा र संधै उत्प्रेरित गर्ने रचना गोर्कीको बुढी इजरगील भन्ने कथा हो । कहिलेकहीं दिक्क लाग्दा त्यो कथा मलाई फेरिफेरि पढ्न मन लाग्छ । यो कथाले मलाई ताजा बनाउँछ ।
त्यस्तै हावर्ड फास्टको हिन्दीमा समर गाथा भनेर अनुवाद गरिएको छ । अंग्रेजीमा माइ ग्लोरियस ब्रदर्स हो । यो उपन्यासले पनि मलाई बढी नै प्रभावित गरेको छ । यस्ता धेरै छन् । त्यस्तो ठोस कुनै एउटै भन्ने छैन ।
विश्व साहित्य र नेपाली साहित्य बीचको सम्बन्ध ?
नेपाली भाषा भनेर जुन खस नेपाली भाषालाई भनिन्छ यसको इतिहाँस असाध्यै छोटो छ । यो धेरै नयाँ भाषा हो । नेपाली समाजमा लेख्ने पढ्ने जिम्मा भनेको थोरै मानिसलाई मात्र थियो । जसमध्य ब्राहमणहरू अधिकार सम्पन्न थिए । यि मध्य केहि पुरेत्याइँमा व्यस्त हुन्थे, कसैलाई पढ्नै मन लाग्दैनथ्यो, अधिकार दिएर मात्र के हुने हो र । त्यसमध्य केहि डिट्ठा साहेव बन्न हिँड्थे, केहि मात्रै सिर्जनात्मक लेखनमा लागे । यसरी शुरु भएको नेपाली साहित्यिक यात्रा विश्व साहित्यमा असाध्यै कमजोर र नयाँ छ । रुसी भाषामा हजार वर्ष पुराना आधारभूत साहित्यिक ग्रन्थ छन् । चाइनिजमा पनि कलामै काम गरिएका तेह्र चौध सय वर्ष पुराना जिवित साहित्य भेट्न सकिन्छ । मैथिली साहित्य पनि निकै पुरानो छ । नेपाली, हिन्दी भाषा विल्कुल नयाँ भएकै कारण यिनको विरासत अलि कमजोर छ । यद्यपि छोटै समयमा नेपाली भाषा साहित्य विश्वव्यापी बन्दै गइरहेको छ ।
भर्खरै कतारमा एकल कविता वाचन गरेर आउनुभएको छ ? कसरी पुग्नुभयो र कस्तो अनुभव भयो ?
त्यहाँ तीन वटा नेपाली साहित्यिक संस्था छन् । त्यसकै वार्षिक कार्यक्रममा एकल कविता वाचनका लागि निम्तो आएकाले गएको हुँ । खाडी मुलुकलाई सबभन्दा कमजोर श्रमजीवी जाने ठाउँ भनिन्छ । त्यहाँ मासिक रूपमा कवि गोष्ठी चल्छ । जबकी हलको भाडा नेपाली बीस हजार बराबर हुन्छ । अमेरिका जस्ता विकसित मुलुकमा जाने नेपालीका कुरा त बेग्लै भयो । जबकी नेपालमा बस्नेलाई मासिक कार्यक्रम गर्न गाह्रो छ । एउटा फिलिपिनो कत्तार गयो भने उसले त्यहाँ साहित्यिक गतिविधि गर्दैन । तर नेपाली विश्वको जुनसुकै कुनामा गएपनि साहित्यिक संस्था चलाउँछ । यसको मतलव नेपाली सभ्यताले आफूलाई नेपाली भाषा र साहित्य मार्फत विश्वव्यापी बनाउने प्रयत्नमा छ । यो धेरै नै महत्वपूर्ण कुरा हो । यसका संभावनाहरूको धेरै अध्ययन नभएपनि नेपाली जाती थोरै संख्यामा भएर पनि महाँजातीको रूपमा विकासतर्फ गैरहेको छ । यो विचित्रको परिघटना हो ।
धेरै लेखक र साहित्यकारका जिवनमा निराशा र विग्रह देखिन्छ, तपाईंको पनि त्यस्तै हो कि....?
निरासा भन्ने कुरा त होइन । व्यक्तिगत जिवनमा अधिकांश नेपालीहरू दुःखी, गरिब र समस्यामा छौं । म पनि त्यतिकै छु । व्यक्तिगत जिवनमा अप्ठ्याराहरू छैन भन्ने होइन । धोकाधडीमय समाजमा सबैलाई धोका हुन्छ । हामी बाट पनि भए होलान् । तर मुख्य कुरा आफ्नो समयमा लक्ष्यप्रतिको सर्वोत्तम कामगर्न खोज्ने यात्रा जारी राख्नु पर्छ ।
कमान्डर पोस्ट बाट
No comments:
Post a Comment