विवेकशील नेपालीबाट मुसहर बस्तीमा न्यानो कपडा वितरण

पुस ११ ,विभेद बिरुद्ध अभियान –मनहर्वा बारा – शीतलहरसँगै बढ्दो चिसोले यहाँको मुसहरबस्ती हरेक हिउँदमा कष्टकर जीवन बिताउँदै आएको छ । उनीहरूको चिसोयाम सुकुल ओढेको भरमै बित्छ । अघिल्लो वर्षको जाडो यसरी नै कटाएकी बारा मनहर्वा ९ कुसमाडीकी सुखली माझी चिसो बढ्न थालेपछि केही दिनयता चिन्तित थिइन् । मुसहर समुदायकी उनलाई भर्खरै सुरु हुन लागेको चिसोले अघिल्लो वर्षको पीडा सम्झाइरहेको थियो ।
ओड्ने र ओछ्याउने लुगाको अभाव हुँदा परालमाथि बोरा ओछ्याएर सुकुल ओढ्दै अघिल्लो जाडो कटाएको दिन बिर्सन चाहने सुखलीको अनुहारमा यस वर्ष काखमा हुर्किरहेको आठ महिनाको सन्तानको चिन्ता बढी देखिन्थ्यो ।एक्लै हुँदा जसोतसो जाडो कटाए पनि आठ महिनाको छोरालाई कसरी जोगाउने भन्ने चिन्तामा डुबेकी सुखलीले शनिबार भने केही न्यानोपन महसुस गर्न पाइन् ।
अति विपन्न वर्गलाई लक्षित गर्दै विवेकशील नेपाली बाराले कुसमाडीमा रहेको ५७ घरपरिवारका सबै सदस्यलाई न्यानो कपडा वितरण गरिरहँदा सुखली निकै खुसी देखिन्थिन् । काखमा आठ महिनाको छोरा च्यापेर न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएकी उनले आफ्नो चिन्ता केही कम भएको प्रतिक्रिया दिइन् । ‘बच्चालाई बोरामा सुताएर सुकुल ओढाउनु पर्दाको पीडा कस्तो हुन्छ होला ? ’, उनले भनिन्, ‘चिसो बढ्दै जान थालेपछि चिन्ता पनि बढिरहेको थियो । अहिले ओड्ने र लगाउने लुगा पाएकी छु, धेरै खुसी छु ।’
घरका सबै सदस्यका लागि एक जोर न्यानो लुगा र ओढ्नका लागि ब्ल्यांकेट पाएको सुखलीले बताइन् । खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउनु पर्दा निकै समस्या हुने गरेको भन्दै उनले सहयोगका लागि अरूसँग समेत आग्रह गरिन् । ‘खाट बनाउन हामी काठ पाउँदैनौं । किनेर ल्याउनका लागि पैसा हुँदैन’, उनले भनिन्, ‘हाम्रो हरेक वर्ष यसरी नै बित्दै आएको छ । निकै नै कष्ट हुन्छ ।’
सुखलीले आफ्नो पीडा सुनाइरहँदा छेउमै रहेकी शिवरानी माझी पनि परिवारले भोग्नुपरेको कष्ट बताइरहेकी थिइन् । आफ्नो परिवारले पनि सुकुल ओढेर जाडो काट्दै आएको उनले बताइन् । पाँच वर्षअघि एउटा संस्थाले कपडा वितरण गरे पनि त्यसयता न्यानो बाँड्न अरू कोही आएको उनलाई सम्झना छैन । ‘पाँच वर्षअघि जाडोको लुगा पाएका थियौं । त्यसपछिको हाम्रो जाडो निकै कष्टपूर्ण भयो’, शिवरानीले भनिन्, ‘यसरी सबैले सहयोग गरे बोरामा सुतेर सुकुल ओढ्नुपर्ने दिनको अन्त्य हुने थियो ।’
न्यानो कपडा पाउने थाहा पाएपछि काम छोडेर आएका ५० वर्षीय रामदेव माझीले जाडो महिना महिला र बच्चाका लागि निकै पीडादायक हुने बताए । आफूहरू दिनभर काममा भएका बेला जाडोको महसुस त्यति नभए पनि घरमा रहेका महिला, बच्चा र वृद्धवृद्धाले भने निकै सास्ती भोग्नुपर्ने उनको भनाइ छ । ‘हामी दिनभर खोलामा काम गर्छौं । रातको समयमा मात्रै जाडो महसुस हुने गर्छ’, उनले भने, ‘तर घरमा रहेका महिला, बच्चा र वृद्धवृद्धाको भने बिजोगै हुन्छ । घरभित्र घुर बालेर बस्न बाध्य हुन्छन् ।’ खोलामा गिट्टी कुटेर दैनिक दुई सयदेखि तीन सयसम्म कमाइ हुने भए पनि बिहानबेलुकाको छाक टार्नमात्र पुग्ने उनले बताए ।
चिसो बढ्दै जाँदा बच्चाको स्वास्थ्यमा समस्या आए पनि उपचार गराउन नसक्दा निकै पीडा हुने उनको भनाइ थियो । शीतलहरका समयमा बस्तीका अधिकांश मानिसलाई घरबाट बाहिर निस्कन समेत गाह्रो हुने उनले बताए ।
‘बाक्लो हुस्सु र शीतलहरका बेला गाउँको पीडा अरू कसैले देख्दैन । कोही पनि घरबाट बाहिर निस्कँदैनन्’, उनले भने, ‘त्यस्तो बेला न्यानोको खोजीमा हामी छट्पटिन्छौं । त्यसैले यो न्यानो लुगाले हामीलाई निकै राहत मिलेको छ ।’ विवेकशील नेपालीले मुसहर बस्तीमा रहेका ५७ घरपरिवारका दुई सय ५० भन्दा बढीलाई न्यानो कपडा वितरण गरेको थियो ।
विवेकशील नेपाली बाराका अध्यक्ष अर्पणराज घिमिरेले आर्थिक अवस्था कमजोर भएका र जाडोबाट अति नै प्रभावित भएका समुदायलाई लक्षित गर्दै संकलन गरिएको लुगा मुसहर बस्तीमा वितरण गरिएको बताए ।

No comments:

Post a Comment