भूकम्पपीडित दलित परिवार ऋण गरेर घर बनाउँदै

बागलुङ, मङ्सिर १५ गते-विभेद बिरुद्ध अभियान । भूकम्पले मल्म–६ सिरवारेका   पूर्णरुपमा घरबास गुमाएका आधा दर्जन दलित परिवारले अहिले विभिन्न क्षेत्रको सहायता र आफै ऋणधन गरेर घर निर्माण गरेका छन् ।
घरबास पुरै गुमाएका सो गाउँका पातली दर्जी, ददिराम दर्जी, झमबहादुर दर्जी, डिलबहादुर दर्जी, धनबहादुर दर्जी र बलबहादुर दर्जीले घर निर्माण गरेका हुन् । घर भत्किएपछि बारीमा पालमुनि बास कटाएका उनीहरु अहिले नयाँ घरमा सरेका छन् । सरकारले दिएको न्यून आर्थिक सहयोग, विभिन्न संघसंस्था र व्यक्तिको सहयाता र आफ्नै लगानी र प्रयासमा घर पुनः निर्माण गरेको उनीहरु बताउँछन् ।
रु चार लाख खर्चेर घर बनाएको पातली दर्जीले बताउनुभयो । सरकारले दिएको रु १५ हजार, जापानमा रहेका प्रवासीले पठाएको रु १४ हजार र मल्म–७ का प्रदीप थापाबाट रु २० हजार तथा अन्य छिटपुट सहयोग जुटाएर घर बनाएको उहाँको भनाइ छ । “केही रहम सहयोगबाट पनि आयो, बाँकी ऋण काढेर बनाएकी हुँ” उहाँले भन्नुभयो ।
सहकारी, लघुवित्त र व्यक्तिबाट समेत लिएको करिव दुई लाख ऋण भएको उहाँले बताउनुभयो । पूर्णरुपमा घर क्षति भएका भूकम्प पीडितलाई घर निर्माणको लागि सरकारले अनुदान दिने भनेपनि सो पाउने नपाउने बारे आफूहरु अनविज्ञ रहेको पीडितहरुको गुनासो छ । घरबासकै ठेगाना नभएपछि जसरी तसरी घर बनाउनुपर्ने बाध्यता आइलागेको सोही स्थानका ददिराम दर्जीले बताउनुभयो ।
विभिन्न समस्याका बावजुत पनि घर पुनःनिर्माण गरेका पीडितहरु सरकारी सहयोग र अनुदानको भने पखाईमा छन् । नयाँ घर बनाउँदा सबैको काँधमा रु डेढदेखि रु दुई लाखसम्मको ऋणको भार थपिएको दर्जीको भनाइ छ । भिरालो डाँडामा भएको वस्तीका कारण सिरवारेमा भूकम्पले बढी क्षति पु¥याएको थियो । आंशिक र सामान्य क्षति पुगेका कतिपय परिवारले भने अझैसम्म पनि घर मर्मतसम्भार गर्न सकेका छैनन् ।
सोही स्थानका राजकुमार दर्जीको घर बस्नै नमिल्ने गरि क्षति पगेपछि परिवारको अहिलेपनि गोठमा बास छ । “आर्थिक अभावले घर निर्माण गर्न सकिँन” उहाँले भन्नुभयो । सिरवारे दलित वस्ती भएका कारण पनि गैरसरकारी स्तरबाट बढी राहत त्यहाँ पुगेको थियो । घर बनाउँदा लागेको ऋण कसरी तिर्ने भनेर चिन्ता थपिएपनि पालमुनिको बासबाट घरमा फर्कदाँ भूकम्पपीडितको मनमा हर्ष छाएको छ । 

No comments:

Post a Comment