मुसहर, महिला र रन्थनिएको मन - डा अरुणा उप्रेती

पौष ९-सिरहा, बस्तीपुरको स्कुलमा चमार र मुसहरहरू लामो समय पढ्दैन थिए । बालिकाको उपस्थिति त शून्यप्राय: नै हुन्थ्यो । पछिल्ला केही वर्षमा चमार समुदायका राम पासवन स्कुल जान थालेका छन् । डोम त अझै पनि स्कुल जाँदैनन् ।
बस्तीपुरको स्कुल २००४ सालमा खुलेको थियो । त्यहाँ पढ्न भारतबाट पनि आउँथे रे । तर वरिपरि भएका दलितका लागि त्यो स्कुल निषेधित क्षेत्रसरह थियो । अहिले औपचारिक रूपमा स्कुल निषेधित छैन । तर धेरै दलित बालिका स्कुल जाँदैनन् । सानैमा गौना गर्छन् ।
उनीहरूको स्कुल जाने सपनालाई कुनै पनि आन्दोलन गरिरहेका मधेसका नेताले मुद्दा बनाए जस्तो लाग्दैन । कति मुसहर महिलाले नागरिकता नपाएर सरकारले दलितलाई दिएको सुविधा पनि प्राप्त गर्न पाएका छैनन् ।
मधेसमा छोरीलाई नागरिकता दियो भने बाबुको सम्पत्तिमा आफ्नो अधिकार दाबा गर्छन् भन्ने विचार हुन्छ । लोग्नेले पनि विवाह गरेपछि नागरिकता दिन चाहँदैनन्, सम्बन्धविच्छेद भए लोग्नेको सम्पत्ति माग गर्छन् भनेर ।
नागरिकता नभएर धेरै मधेसी महिला अस्तित्वविहीन हुनुपरेको छ । भारतबाट विवाह गरेर आएकी महिलाको नागरिकताको अधिकार माग्ने मधेसी दलले मधेसमा नै नेपाली महिलाले नागरिकता नपाएको चाहिँ कसरी नदेखेको होलान् ?
अंगिकृत नागरिकता पाउने नेपाली महिला पनि नेपालको सर्वाेच्च पदमा पुग्नु पाउनुपर्छ भन्ने माग राख्नेले आफ्ना छोरी र बुहारीलाई चाहिँ घरबाट बाहिर जान पनि बन्देज लगाउँछन् । त्यहाँका नेता भन्छन्, ‘सम्पूर्ण मधेसको मुद्दा उठाइरहेछौं ।’
के मधेसको नेताको विचारमा मुसहर र महिला मधेसभित्र पर्दैनन् ? द्वन्द्व विशेषज्ञ डा. विण्णु उप्रेतीले एक छलफल कार्यक्रममा भन्नुभएको थियो, ‘मधेसी दलले मधेसी मुद्दा उठाएका नै छैनन् । भूमिहीन मुसहर, हलियाको जीवनस्तर अति नराम्रो छ ।
तर मधेसका नेताले भूमिहीन जीवन बदल्न आवाज उठाउँछन् ? उनीहरू मधेसका महिलाप्रति गरिने मानसिक र शारीरिक हिंसाविरुद्ध बोल्दैनन् । दाइजो प्रथा र बोक्सीको नाममा मधेसका महिलाप्रति गरिने अति अमानवीय कार्यको विरुद्धमा कुन मधेसी नेताले आवाज उठाएका छन् र ?’
यो सुनेर मेरो रन्थनिएको मनले प्रश्न गर्छ । आन्दोलनका बेला एक—दुई दिन महिलालाई हातमा लाठी लिएर बाटोमा हिँड्न प्रेरित गर्ने मधेसी नेताले हरेक दिन उनीहरूले ज्ञानको लाठी लिएर गलत सांस्कृतिक मान्यतालाई हटाउन प्रेरित गरेको कहीं देखिएको छ ?
मधेसका नेताले मुसहरको आवाजलाई स्थान दिएका छन् ? मधेसको कुनै पनि आन्दोलनमा डुम चमारलाई सँगै लिएर हिँडेका छन् ? चमारका किशोरी कलिलो उमेरमा आमा बन्ने व्यथाबाट तडपिनु नपरोस् भनेर मधेसी नेताले केही वाक्य बोलेका छन् ?
कुन मधेसको आन्दोलनले मधेसका जिल्ला अस्पताल राम्रो व्यवस्थापन होस् भनेर आवाज उठाएका छन् ? तराईका केही भागको मातृ मृत्युदर कर्णालीको गाउँमा भन्दा नराम्रो छ भन्ने तथ्याङ्क के आन्दोलनमा नेताहरूले हेरेका होलान् ?
मधेस आन्दोलनले कुनचाहिँ यस्तो मुद्दा उठाएको छ, जसले मधेसका महिला र मुसहरलाई मूलप्रवाहमा लान सक्नेछ ? कुनचाहिँ मधेसका नेताले रौतहटमा सामुहिक बलात्कारको सिकार भएकी किशोरीको न्यायको लागि मुद्दा उठाएको छ ? कुनचाहिँ मधेस र थारू आन्दोलनले कैलाली र दाङका पूर्वकम्लरीको जीवनमा परिवर्तन ल्याउन कोसिस गरेको छ ?
घरभित्र शौचालय नभएर रातिमात्र महिला खेतमा जानुपर्ने बाध्यता कम गर्न कुन नेताले ध्यान दिएको छ ? दिउँसो खेत जान नसक्ने भएकोले आधा पेटमात्र खाएर बस्नुपर्ने महिलाको कुपोषण के मधेसी नेताले देखेका छन् ?
नेताका परिवारका आमा, बुबा, दिदी, बहिनीलाई खेतमा जान पर्दैन, मधेसमा रहेका अस्पताल जानु पर्दैन, कुपोषणको सिकार भएर अकालमा मर्नु पर्दैन ।
मधेस आन्दोलन गर्ने दलको नेतृत्व वर्गमा कतिजना महिला छन् ? कुनचाहिँ महिलाले यो आन्दोलनमा नागरिकता पाउनु मेरो अधिकार हो र म १६ वर्ष पुगेपछि नागरिकता पाउन सक्छु, मेरो खातामा मैले कमाएको पैसा राख्न सक्छु भनेर आवाज उठाउनसकेका छन् ?
मैले यहाँ लेखेका कुरा गलत हुन् भन्ने लाग्छ भने मधेसका नेताहरू आउन्, मधेसमै गएर बहस गरौं । मधेसमा अस्पतालमा कस्ता छन्, हेरौं र साँच्ची नै मधेसका जनताले त्यहाँबाट सेवा पाइरहेका छन् कि छैनन्, अनुभव गरौं ?
मधेसका दलितको घरमा गएर उनीहरूको अवस्था के छ हेरौं, उनीहरूको स्वास्थ्यको अवस्था के छ भनेर स्वास्थचौकीमा जाऊँ । महिला र मुसहर कति कुपोषणका सिकार भएका छन् र किन यस्तो भएको होला भनेर विचार र बहस गरौं ।
कति डोमको घरमा शौचालय छ र अहिलेको आन्दोलनले उनीहरूलाई के दिनेर भनेर हेरौं । उनीहरूलाई सोधौं, कसरी उनीहरूको चुलोमा आगो बलेको छ ?
आन्दोलन चलेको ४ महिनाभित्रै कति किशोरी र महिला यौनशोषणका सिकार भएका होलान् भनेर गणना गरौं, कति कम्लरीले पढ्न छोडेर जीवन बचाउन रेस्टुरेन्टमा नाच्ने र गाउने काम गरे होलान् भनेर सोचौं ।
र यो आन्दोलनले मुसहर महिला र कम्लरीलाई मानव भएर बाँच्नका लागि हतियार दिन्छ भने आउनोस्, यस्तो आन्दोलन जताततै गरौं ।

कान्तिपुर दैनिक बाट

No comments:

Post a Comment