समस्याका बाबजुद आरन ब्यबसाय - युक्तलाल बिश्वकर्मा

लेखक बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति
समाजको केन्द्रीय सदस्य हुनुहुन्छ      
पौष २६ - विभेद बिरुद अभियान । दलित समुदाय कठिन श्रम संग जोडिएको समुदाय हो  । जसको श्रम र सिपमा समाज संचालन भइरहेको  छ  । दैनिक जीवनको अत्याबश्यक सामग्री हुन या पेशा र ब्यबसाय संग सम्बन्धित सामग्री हुन जसको सिर्जना उत्पति र संरचना दलित समुदायको बाहुबलद्वारा पूर्ण आकृतिमा परिणत भएको छ  । घरायसी दैनिक जनजीबनका सामाग्रीहरु जसलाई भान्साको अत्याबश्यक सामाग्रीको रुपमा लिइन्छ | जस्तै कसौडी, थाल, कचौरा, डाडु, पन्यु आदि  । यसैगरी मन्दिरको घण्ट ,गजुर, त्रिशुल पनि  ।यी सबै बस्तु सामग्रीमा दलित समुदायको सिप र कला प्रतिबिम्ब भएको छ  । कृषि पेशाका लागि हलोमा राखिने फाली, करुवा पशुपालनमा गाई ,भैसी, बाख्राका लागि घाँस, स्याउला, पत्कर लगायतका बस्तुहरु काट्नका लागि हँसिया, कचिया, खुर्पा आदि पनि दलित समुदायकै श्रम र सीपमा निर्मित सामाग्रीहरु हुन्  । त्यसैगरी कृषि ब्यबसाय अन्तर्गत खेतीपाती गर्न कुटो देखि कोदालो सम्म चादे देखि बन्चरो सम्म अत्याबश्यक सामग्री पनि दलित समुदायकै सिर्जनाका प्रतिक हुन् ।                                                                                
पृथ्बीनारायण शाहले नेपाल एकिकरण गर्ने समयमा अत्याधुनिक स्वचालित हातहतियार थिएनन्  । त्यसताका सिपाहीहरुले भरुवा बन्दुक, तरबार ,खुडा, खुकुरीकै प्रयोग गर्दथे  । यसरी सैन्य सामग्रीको निर्माणकर्ताको रुपमा कालिगडलाई लिइन्थ्यो  । अत यी सामग्रीको निर्माणकर्ता कालिगड दलित समुदायकै थिए । तत्कालिन समयमा दलित समुदायले नेपाल एकिकरणको अभियानमा आफ्नो सिपको उच्चतम प्रयोग गरि अनुपम नमुना प्रस्तुत गरेका थिए  ।बीर गोर्खाली नेपाली योध्दाहरुको प्रिय हतियार अर्थात नेपाल नेपालीको सान राष्ट्रले राष्ट्रिय हतियारको रुपमा सम्मान गरेको खुकुरी पनि दलित समुदायको सिपको सर्बोत्कृष्ट पहिचान थियो  । जसलाई आज पनि सम्पुर्ण नेपालीहरुले गर्वका साथ सम्मान गरिरहेका छन्  ।                                                                                             

नेपाली ग्रामिण समाजमा नापतौलको लागि माना पाथीको चलन थियो | अन्न अनाज माना पाथीकै माध्यम बाट भर्ने र लिनदेन गर्ने चलन रहेको थियो | माना पाथी काठको, तामा, पित्तल जस्ता धातु र फलामको पाताद्वारा पनि बनाइन्थ्यो | दैनिक जीवनलाई सहज बनाउन माना पाथीको प्रमुख भूमिका रहेको थियो | यसरी माना, पाथी, कुरुवा (दुई माना अटाउने ) सामग्रीको निर्माणकर्ता पनि दलित समुदायनै थिए | बिवाह ब्रतबन्ध लगायत शुभ साइतका कार्यहरु होस् या धार्मिक बिधिबिधानमा आधारित पूजा पाठ ,होम होमादी लगायतका कार्यमा होस् त्यहाँ प्रयोग भएका सामाग्रीहरु खड्कुलो, झ्याँगा, दियो, कलस आदिको निर्माता पनि दलित समुदायनै थिए  ।आज पनि दलित समुदायको सिप र कला मानिसको जन्म देखि मृत्युपर्यन्त सम्म जीवनको अभिन्न अंग बनि महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ  ।                           
विभिन्न जात जाति भाषा संस्कृतिका सबैको सामाजिक ,साँस्कृतिक एबम धार्मिक रीतिथिति र परम्परा कुनै न कुनै सामाग्रीहरु दलित समुदायको सिप, कला र सिर्जनाको रुपमा हामी देख्न पाइरहेका छौ | त्यसैले दलित समुदाय श्रम र सिपका खानी हुन् अनि प्राबिधिक क्षेत्रका मुल्यवान शिल्पी हुन् | यो पेशा दलित समुदाय भित्रका बिश्वकर्मा (कामी) ले अंगाल्दै आएको पेशा हो  ।यो ब्यबसाय दैनिक अत्याबश्यक बस्तुहरुको निर्माण र मर्मत सम्भारको लागि बिश्वकर्माहरुले संचालन गरेको परम्परागत र पुरानो ब्यबसाय हो  । व्यवसायलाई समयानुकुल परिमार्जित ढंगबाट वैज्ञानिकीकरण गर्ने र सरल एबम सहज बनाउन तर्फ ध्यान पुगेको देखिदैन । बिगतका समयमा राज्यले पनि व्यवसायलाई ब्यबसायीकरण गर्न र आधुनिकीकरण गर्न कुनै किसिमको पहलकदमी गरेको पाइएन  । जीबन र जगतको महत्वपूर्ण पाटोलाई सहज बनाउन खेलेको भूमिकाको नजरअन्दाज गर्ने काम भयो  ।काम र काम गर्ने श्रमजीवी बर्गलाई विभेद र अपमान गरियो जुन नेपालको इतिहासमा सदैब कलंकको रुपमा चित्रण भईरहने छ  ।                                       
आरनमा फलामको अत्याबश्यक औजारहरु र दैनिक जनजीबन संग प्रत्यक्ष सरोकार राख्ने सामाग्रीहरु निर्माण गरिन्छ  । आरन फलामको सामग्री निर्माण गरिने काम संग सम्बन्धित छ  । फलामलाई अंग्रेजीमा iron भनिन्छ  । यहि iron शब्दबाट अपभ्रंश भई आरन बनेको हो भन्ने मान्यता रही आएको छ  । आरन अंग्रेजी शब्द iron बाट बनेको आगन्तुक शब्द हो  । पछि यो दलित समुदाय भित्रका बिश्वकर्मा (कामी) को पेशा ब्यबसायको रुपमा बिकास भयो  । कामी जात, थर र गोत्र होइन यो त कामको उपमा हो  । काम गर्ने मान्छे कामी हुन्छ त्यो जुन सुकै जातको होस्  ।काम नगर्ने मान्छे बेकामी हुन्छ  । जात थर र गोत्रले कुनै खास फरक पार्दैन त्यसर्थ काम गर्ने कामी र काम नगर्ने बेकामी हो । आरन परम्परागत ढंगबाट संचालन हुदै जसका कारण यो पेशा सरल र सहज हुन सकेन  । कठिन श्रमका कारण अत्यन्तै कष्टप्रद रुपमा अगाडी बढ्दै गयो  । तत्कालिन समयमा फलाम खानीबाट निकालिएको अप्रशोधित फलामलाई निर्माणका लागि योग्य बनाउन आरनमा खलातीको प्रयोग गरि शुध्द फलाम बनाई विभिन्न किसिमका सामग्री अर्थात हातहतियार बनाइन्थ्यो  ।                                                                   
 खलाती चारपाटे आकारको तिन वटा छुट्टाछुट्टै काठको बिचको भागमा प्वाल भएको काठलाई छालाले मोरी तयार पारिएको फलाम तताउने अँगेना हो  ।यसमा छालाको भाग फुक्दा वा खुम्चिदा हावा आवतजावत  भई आगोलाई सल्काउने र फलामलाई तापक्रम प्रदान काम गर्छ   । खलातीलाई खुम्चाउन र फुकाउन अघिल्तिर तान्ने भाग बनाईएको हुन्छ  ।फलामलाई कडा तापक्रम दिन टुंडो द्वारा आगो बालिन्छ र यसै भागमा फलामलाई तताईन्छ  ।आरनमा प्रयोग गरिने सर सामानहरु सनासो, ली ,घन, होत्रो, मैरी लगायतका रहेका हुन्छन्  ।यसैगरी हतियारमा धार लगाउन रेत, कोइला मिलाउन ढनेश पनि प्रयोग भएका हुन्छन् भने फलाम काट्न टुक्रा बनाउन प्वाल पार्न छिनो जस्ता सामानको पनि रहेका हुन्छन्  । यस ब्यबसाय संचालनको ब्यबस्थापकीय र संरचनागत स्थितिलाई हेर्ने हो भने पनि धेरै सामग्रीको आबश्यकता पर्ने र काममा अनिबार्य सहयोगी चाहिने देखिन्छ  ।                                                                                            
आरन ब्यबसायको लागि महत्वपूर्ण अत्यावश्यक बस्तु भनेको कोइला (गोल) हो  । जसलाई जंगलका काठहरु संकलन गरि खाल्डो बनाई बालेर कोइला भई सकेपछि भोर्ला वा सालको पात सहित माटोले छोपिन्छ र भोलि पल्ट तयारी अबस्थाको कोइला ल्याईन्छ  ।यसै द्वारा फलाम तताउने र काम सुचारु गर्ने गरिन्छ  । फलाम सजिलै सहज रुपमा पाउन नसकिने यसका लागि शहर बजारमा जानुपर्ने यातायातको असुविधाका कारण ढुवानीमा समस्या झेल्नु पर्ने जस्ता समस्याले पेशा कठिन बन्दै गईरहेको देखिन्छ  । ग्रामिण दुरदराजका बस्तिहरुमा आरन स्थापना गरिएको वस्तुस्थितिलाई नियाल्दा सामान्य सानो छाप्रो ,धुलो, धुँवा काम गर्दा बसाईको उपयुक्ततामा समस्या देखिन्छ  । आगोको रापिलो ताप कडा मिहिनेत धुलो धुँवाले स्वास्थ्यमा पारेको प्रतिकुल प्रभाबका कारण स्वास्थ्य स्थिति पनि ज्यादै दयनीय बन्दै गईरहेको छ  । यस किसिमको विसम परिस्थितिबाट गुज्रिरहेको आरन ब्यबसाय आज पनि बिबिध खालका समस्याहरुलाई झेल्दै अगाडी बढिरहेको छ  ।प्राबिधिक क्षेत्रको महत्वपूर्ण हिस्सालाई प्रतिनिधित्व गर्ने यो ब्यबसाय प्रति राज्यको दृष्टि पर्न सकेको छैन  ।                                                            
आरन व्यवसायलाई परम्परागत होइन समयानुकुल र बस्तुनिष्ठ ढंगले आधुनिकीकरण गरिनुपर्दछ |यसमा प्रयोग हुने सामाग्रीहरु बैज्ञानिक ढंगको हुनुपर्दछ  । जस्तै खलातीको सट्टा मेसिन, कोइला (गोल) को बिकल्प विधुतीय उपकरण जडान गरिनु पर्दछ  । यो ब्यबसायलाई मात्र संकुचित घेरामा नराखी फराकिलो र बृहत बनाउन उद्योगको रुपमा विकास गरिनु पर्दछ  । तब मात्र दलित समुदायको सम्मान र विकास हुन्छ  ।बिश्वकर्मा (कामी) ले अंगाल्दै आएको यो पेशालाई समयानुकुल एबम परिमार्जित ढङ्गले ब्यबसायीकरण र आधुनिकीकरण गर्न उनीहरु सक्षम छैनन्  । निर्वाहमुखी ब्यबसायको रुपमा मात्र संचालन भईरहेको छ  ।बालीघरे प्रथाका कारण उचित पारिश्रमिक पाउन सकेका छैनन् | व्यबसायका लागि कोइलाको अभाब देखिन्छ यसको प्राप्ति त्यति सहज छैन  । कोइला बनाउन जाँदा अनाबश्यक कानुनी झन्झट सहनु परिरहेको छ ।                                                                                   यो पेशालाई कठिन र जटिल मान्ने कारणले नयाँ पिढीमा हस्तान्तरण हुन सकेको छैन  । काम प्रति हेर्ने हेयको दृष्टिकोण जातीय छुवाछुत र विभेद यसको अर्को कारण हो । नेपालमा प्राबिधिक शिक्षाको विस्तार र प्रबर्धनका लागि प्राबिधिक तथा ब्यबसायिक शिक्षा तालिम परिषद (CTEVT) ले योजना बध्द रुपमा पठन पाठन तालिम गोष्ठीहरु संचालन गरेको देखिन्छ । यसले रोजगार बिकास र सामाजिक शशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो आफैमा सकारात्मक पाटो हो। यसो भनिरहदा बर्षौ देखि श्रमको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने दलित समुदायले अंगाल्दै आएको पेशालाई उन्नत सम्मृध्द र स्तरीकरण गर्ने काममा ध्यान पुग्न सकेको छैन  । त्यसैले राज्यको तर्फबाट पेशालाई प्रबर्ध्दीकरण गर्न योजना निर्माण गरि कार्यान्वयन गर्न ध्यान जानु नितान्त आबश्यक छ  । आज धेरैको संख्यामा उर्जाशील युवाहरु रोजगारको लागि विदेश जान बाध्य छन् । हामीले हाम्रो आरन ब्यबसायलाई उन्नत बनाउने हो भने सक्रिय श्रम शक्ति विदेश जानबाट रोक्न सकिन्छ र देशको आर्थिक विकास सम्भब हुन्छ । कुनै पनि काम सानो या ठूलो हुँदैन काम गर्ने मान्छे पनि सानो या ठूलो हुँदैन । काम प्रति समान दृष्टिकोणको विकास हुनुपर्दछ । कामका अधारमा जातका अधारमा अपमान गर्ने तिरस्कार गर्ने जस्ता कुचलन र कुसंस्कारको अन्त्य हुनुपर्दछ । आरन ब्यबसायलाई देशको गौरब र प्रतिष्ठा संग  जोड्नु आबश्यक छ । साथै यो ब्यबसायको विकास प्रबर्द्धन गर्न राज्य गम्भीर हुनुपर्दछ । बिभिन्न समस्याका बाबजुद पनि आरन व्यवसायलाई निरन्तरता दिनु बिश्वकर्मा (कामी) हरुको महत्वपूर्ण देन रहेको छ  ।

No comments:

Post a Comment