अन्तरजातीय विवाह गरेका कारण गाउँ छोड्न बाध्य

जाजरकोट,१६ माघ , विभेद बिरुद्ध अभियान । – जिल्लाको गर्खाकोट ३ का गणेश चदारा र ज्योति शाहले अन्तरजातीय विवाह गरेका कारण गाउँ छोड्न बाध्य हुनुप¥यो ।विवाह गरेपछि आफ्नो घरमा बस्न नपाएको चार महिना भयो । घरमा बस्नै नपाएपछि उनीहरुको जोडी गत कार्तिक २३ गतेदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन बिताएन बाध्य छ । कार्तिक ९ गते अन्तरजातीय विवाह गरेपछि माइती पक्षबाट आक्रमणको प्रयास भएपछि उनीहरु भागेर खलंगामा विस्थापित भएका हुन् ।
गाउँमा गए ज्यान मार्ने धम्की र आक्रमणका प्रयासहरु हुन थालेपछि आफूहरु गत कार्तिकदेखि सदरमुकाममा विस्थापित जीवन बिताउन बाध्य भएको पीडित गणेश सुनारले बताए । अन्तरजातीय विवाहका कारण गणेश र ज्योति मात्र होइन गणेशका वुवा कमारो चदारा, वहिनी यमुना चदारा, दाइ राजेश चदारा, भाउजु कल्पना चदारा र भतिज निस्चल चदारा पनि गत चार महिनादेखि सदरमुकाममै विस्थापित जीवन बिताइरहेका छन् ।
गाँउमा जान वित्तिकै आफुहरुको ज्यानै जाने खतरा भएपछि सदरमुकाममै बसेर विस्थापित हुनु परेको पिडित गणेशका वुवा कमारो चदाराले बताए । राज्यका निकाय, राजनैतिक दलहरु, मानवअधिकारवादी, पत्रकारहरुसंग जीवन सुरक्षा र घरमा निर्धक्कसंग वस्न पाउने वातावरण वनाइदिन उनले आग्रह गरे । गाउँमा वस्न नपाएका कारण छोरी वुहारीले पढ्नै नपाएको र माइला छोरा राजेशले स्कुलमा गएर पढाउनै नपाएको चदाराले बताए । ८ कक्षामा पढ्दादेखि नै प्रेममा परेर आफूहरुले २०६७ सालमा भागेर विवाह गरेको र ठकुरीकी छोरीले दलितको छोरासंग विहे गरेको भन्दै ज्योतिका वुवा उत्तमकुमार शाहले आफुबाट ज्योतिलाई खोसेर लिएको गणेशले बताए ।
आफुलाइ ज्यान मार्ने धम्की दिदै ज्योतिलाइ गम्भीर रुपमा कुटपिट समेत गरेको बताए । ज्योतिले गणेशवाट खोसेर लिएर वुवाले सुर्खेत छिन्चुका स्थानीय गिरी थरका युवासंग विहे गराइदिएको वताइन् । विहे गरेको केहि समयमै आफुलाइ घरमै राखेर ती युवा विदेश गएपछि ९ महिनापछि फेरि माइती घरमा आएको चार वर्षसम्म त्यहि बसेर पढेको ज्योतिले बताइन् ।
चार वर्षसम्म माइतीमै बसेकी ज्योतिले फेरि गत कार्तिक ९ गते गणेशसंग दोस्रो पटक भागेर विहे गरेको बताइन् । पहिलो पटक गणेशसंग विहे गर्दा निकै शारीरिक यातना पाएकी ज्योति अहिले भने माइती पक्षको सम्पर्कवाट बाहिर बसेकी छन् । मलाई जातभातको कुनै मतलव छैन मेरो सानै देखिको प्रेम हो त्यसैले म कुनै पनि हालतमा गणेसंग छुटिएर वस्न सक्दिन ज्योतिले भनिन् । उनले दुवै परिवार सचेत भएर मिल्ने वातावरण वनाइदिन सवै संग अनुरोध गरिन् । विवाह पछि माइती पक्षले गाउँवाट लखेटेका कारण आफुले कक्षा १२ को पढाइ छोड्न मात्र होइन परीक्षा दिनसमेत नपाउने अवस्था आउन लागेको बताइन् ।
आफ्नो जोडीलाइ निर्धक्कसंग जीउने वातावरण वनाइदिन स्थानीय प्रशासन राजनैतिक दल र पत्रकारहरुलाइ गणेशले आग्रह गरे । गणेश र ज्योतिको विहेका कारण आफुले विद्यालयमा गएर पढाउन नपाएको चार महिना वितिसकेको गणेशका दाजु राजेश चदाराले बताए । स्थानीय मष्टा प्राथमिक विद्यालय तलीघुइलाका प्रधानाध्यापक समेत रहेका राजेशले आफुलाइ विद्यालयमा गएर पढाउने वातावरण बनाइदिन आग्रह गरे ।
ज्योति र गणेशले अन्तरजातिय विवाह गरेपछि गाउँका सवै ठकुरीहरु र उनीहरुका समर्थकहरुले चदारा परिवारलाइ गाउँ निकाला र भौतिक आक्रमणको प्रयास गरिरहेको स्थानीय वीरवहादुर रावतले बताए । स्थानीय माओवादी कार्यकर्ता समेत रहेका रावतले चदारा परिवारलाइ गाउँ निकाला गर्न र आक्रमण गर्नका लागि सवै पार्टीकामा आबद्ध ठकुरीहरु एकै ठाउँमा रहेको बताए ।
उनीहरुको आक्रमणवाट चदारा परिवारको घरमा आगजनी या अन्य आक्रमणको सम्भावना भएपछि गत पुस २४ गते देखि प्रहरीले घरमा पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी दानवहादुर मल्लले बताए । उनले प्रहरीका तर्फवाट विवाद मिलाउन प्रयास गरिएको र समाजका सवै निकायको सहयोग लिएर समस्या समाधानको पहल गरिरहेको बताए । समस्यालाइ कानुनको प्रयोग भन्दा पनि जातिय सदभाव कायम गर्ने गरि सवैले सहयोग गर्नु पर्ने बताए ।

No comments:

Post a Comment