दलित आन्दोलन अब समाजवादी क्रान्तिको अंगको रूपमा विकाश गर्नु पर्छ- आहुति

माघ २, विभेद बिरुद्ध अभियान । अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाका विषयमा जवरजस्त वहश चलिरहेको छ । नेपालको क्रान्ति अब पनि नयाँ जनवादी हो कि समाजवादी हो ? यसको छिनोफानो नगरिकन कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन, त्यसैगरी दलित आन्दोलन पनि अब स्पष्ट रूपमा अगाडि जाँदैन।
कार्यदिशाबारेको यो बहसको मुख्य सरोकार भनेको नेपाली समाज अहिले पनि मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती नै छ कि पूँजीवादी भैसक्यो भन्ने नै हो। नेपाली समाज मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती छ भने अबको क्रान्ति नयाँ जनवादी नै हुनुपर्ने हुन्छ भने समाज मूल रूपमा पूँजीवादी भैसकेको हो भने अबको क्रान्ति स्वतः समाजवादी हुनपुग्दछ।
त्यसैले नेपाली समाजको चरित्र कस्तो हो भन्ने विश्लेषणले निर्णायक महत्व राख्दछ। नेपाली समाजको आजको चरित्रलाई बुझ्न सामन्तवादी र पुँजवादी समाजको आधारभूत चरित्रबारे एकपल्ट घोत्लिनु आवस्यक छ। सामन्तवाद भनेको के हो ? यहाँवाट चर्चा सुरु गरौं।
कुनै पनि राजनीतिक व्यवस्थाको समाज वैज्ञानिक चरणको ३ वटा खुट्टा हुन्छन्, चाहे त्यो दास-मालिक व्यवस्था होस्, सामन्तवादी होस् या पूँजीवादी व्यवस्था । ती तीन खुट्टाहरूमा एउटा अर्थतन्त्र हो, अर्को राजनीति व्यवस्था र तेस्रो सांस्कृतिक अवस्था हो।
यो तीनवटा कुरा मिलेर कुनै पनि वाद स्तरको समाज व्यवस्था बन्छ । सामन्तवादी अर्थव्यवस्था भनेको के हो रु पहिलो कुरा, उत्पादनका साधनहरु, मूलत त्यतिवेला जमिन हुन्छ , त्यसको मुख्य हिस्सा, यसरी बुझौं कि पचास प्रतिसतभन्दा बढी जमिन सामान्तहरुको हातमा हुन्छ, खेत नजोत्नेहरुको हातमा हुन्छ र खेत जोत्नेहरु बहुसख्यक मोही किसानहरु हुन्छन् वा भूदास किसान हुन्छन् ।
दोस्रो कुरा, सामन्तवादको आर्थिक व्यवस्थाको आधारभुत मुख्य अर्को कुरा के हो भने, त्यो समाजको पचास प्रतिशत भन्दा बढी श्रमशक्तिको क्रय विक्रय चाँही ज्याला प्रणालीमा हुँदैन बरू त्यो बाली प्रणालीमा हुन्छ । जे कामको ज्याला पनि नगदमा होइन बालीमैं तिर्ने अवस्था हुन्छ। सामन्तवादको आर्थिक ढाँचाको मूल चरित्र यही हो।
माओ त्से तुङले चीनलाई अर्धसामन्ती समाज अर्थात् आधा सामन्ती समाजको रूपमा किटान गरे। माओको अर्धसामन्ती व्याख्याभन्दा पहिले राजनीतिकशास्त्रमा अर्धसामन्ती भन्ने जस्तो कुनै समाजको व्याख्या नै थिएन, कि सामन्तवाद थियो की पुँजीवाद थियो। माओले उद्योगदन्दा, व्यापार जस्ता पूँजीवादी व्यवस्थाका अङ्गहरू पनि सुरू भई त्यसको प्रभाव पनि समाजमा पर्न थालिसकेको तर सामन्तवादको आधारभूत जग पनि नभत्केको संक्रमणकालीन अवस्थालाई अर्धसामन्ती अवस्था मानेको बुझिन्छ।
सामन्तवादको आधारभूत जग नभत्केकोले क्रान्ति चाहिँ पूँजीवादी नै गर्न नयाँ जनवादी अर्थात् कम्युनिस्टको नेतृत्वमा पूँजीवादी क्रान्ति गर्ने रणनीति अघि सारेको कुरा इतिहाससिद्द छ। त्यही माओको विश्लेषण नेपालमा पुष्पलालले रोप्दै नेपालमा पनि जुट मिललगायत उधोग र व्यापार सुरू भैसकेको तर सामन्तवादी आधार पनि नभत्केको वि स २००६ को अवस्थामा नेपाललाई अर्धसामन्ती समाज पनि चित्रण गरे जुन सही नै थियो। जुन समाज २००६ सालमैं सामन्तवादी होइन, आधा सामन्ती थियो भने के ६५ वर्षपछि पनि जस्ताको त्यस्तै रहेको छ त रु कदापि छैन।
बितेको ६५ वर्षमा २०१६ सालको ‘क’ वर्गको विर्ता उन्मूलन, २०२१ सालको सामन्तहरूलाई जग्गा लुकाउन प्रेरित गर्ने कथित भूमिसुधार, भूमि ऐनका पटक पटकका संशोधन, उत्पादकत्व घट्नेक्रमबाट सामन्तहरूमा जन्मेको निरासा, जनसंख्याको वृद्धिले गरेको खण्डिकरण, लगातारको सामन्तवादविरोधी राजनीतिक आन्दोलन, जमीनबाट नेपालमा क्रमशस् हैकमसाली प्रगतिको संभावना घट्दै जानु र त्यसको सट्टा दलाल तथा नौकरशाही पुँजीको दवदवा बढ्दै जाने सिलसिलाले नेपालको जमीनसँग जोडिएको सामन्तवादी सम्बन्ध ध्वस्त हुन पुगेको छ।
अहिले नेपालमा आर्थिक सम्वन्ध कस्तो छ त भनेर हेर्‍यो भने, नेपालमा दर्ता भएका र दर्ता नभएका मोही किसानहरुको करिव ३ लाख परिवार छन् जबकि नेपालमा ५५ लाखभन्दा बढी परिवार छन् । ५५ लाखभन्दा बढी परिवारमध्ये जम्मा ३ लाख परिवार मात्र मोही भएको देश सामन्तवादको अवशेष भएको त मान्नुपर्छ तर त्यो मूल रूपमा सामन्तवादी वा अर्धसामन्तीअर्थ व्यवस्था भएको देश हुन्छ कि हुँदैन रु अर्को कुरा अहिले वाली प्रथा कहाँ कहाँ वाँकी छ भन्यो भने,करिब ३५ प्रतिशतको हाराहारीमा दलितबीच वाँकी छ ।
दलितमध्ये पनि ६५ प्रतिशतभन्दा बढी ज्याला प्रणालीमा गइसके जुन नगदको ज्याला प्रणाली पुँजीवाद हो सामन्तवाद होइन। यसरी जुन समाजमा श्रमशक्तिको क्रय विक्रयमा १० प्रतिशत पनि मानिसहरु बालिप्रथामा छैनन् । त्यो समाजको अर्थतन्त्र कसरी सामन्तवादी हुन्छ । कि त सामान्तवादको परिभाषा नै हामीले उल्ट्याइदिनुपर्यो हैन भने नेपालको अर्थतन्त्र मुल रुपमा सामान्तवादी छ भन्न अब मिल्दैन । त्यसैले आजको नेपालको अर्थतन्त्र पूँजीवादी नै हो भन्ने प्रष्ट छ। यो पुँजीवाद राष्ट्रीय र प्रगतिशील छैन, सत्य कुरा हो । यो दलाल पुँजीवाद हो। तर जस्तो भए नि पुँजीवाद हो, सामन्तवादचाहिँ होइन। राजनीतिक व्यवस्थामा सामन्तवाद भनेको के हो ? राजनीतिक व्यवस्थामा सामन्तवाद भनेको राज्यका मुलभुत राजनीतिक अंगहरुमा जनताले आफ्ना प्रतिनिधी चुनेर पठाउन नपाउने व्यवस्थालाई सामन्तवाद भनिन्छ ।
राजपरिवारमा जन्मेपछि स्वतः राजा हुने , चुन्न नपाइने नपर्ने। गाउँमा मुखिया तोकिदिएपछि हुने, चुन्न नपाइने । जन्मने वित्तिकै वा शाषनले व्वयस्था गरे अनुसार नै पोष्टहरुमा पुग्ने मुल परिपाटी जहाँ हुन्छ त्यसलाई नै सामन्तवादी राजनीतिक प्रणाली भनिन्छ । अहिले नेपालमा कुन त्यस्तो पद छ जहाँ नियमपुर्वक वा नचुनिकन स्थापित गरिन्छ रु ती नियम र निर्वाचन जतिसुकै देखावटी वा औपचारिक किन नहुन् तर ती सामन्तवादीचाहिँ कदापि होइनन्। तथ्यमा आधारित कुरा गर्नुपर्‍यो, त्यत्तिकै भनेर त भएन । हिजोको सुव्वालाई, सुव्वा मान्नुपर्दैन ।
राईलाई, राई मान्नुपर्दैन । मिजारलाई मान्नुपर्दैन । अव झुक्किएर भनौं वा जे भनौं गुरूङ पनि सेनापति भइसक्यो । जे जे गरेर भए नि नियमअनुसार नै भएको हो । पद्धतिमै भएको हो, सैनिक ऐन अनुसार नै भएको हो । राष्ट्रपति पनि, अरु जो जो पनि चुनिएर भएको हो । औपचारिक लोकतन्त्र अनुसार भएका हुन् ।औपचारिक पुँजीवादी लोकतन्त्रअन्तर्गत भाका हुन् । त्यसकारण यो राजनीतिक परिपाटी सामन्तवादी होइन, पूँजीवादी हो। यो पुँजीवाद नै हो । त्यसो त मूल राजनीतिक व्यवस्था पूँजीवादी भैसक्दा पनि अवशेषहरू सामन्तवादी रहन सक्दछन्। जस्तै युरोपेली देसहरूका राजतन्त्र, ती सामन्तवादका अवशेष हुन्, पुँजीवादका अङ्ग होइनन्। समाज व्यवस्थाको तेस्रो खुट्टा संस्कृतिबारे कुरा गरौं । नेपालमा संस्कृतिमा सामन्तवाद अलि बढी नै बाँकी छ । नेपालको सामन्तवाद हिन्दू वर्णव्यवस्थामा आधारित हो जुन सामान्तवाद आर्थिक प्रणाली सम्बन्धमा भन्दा सांस्कृतिक सम्बन्धमा झन् बलसाली हो ।
कसरी हो भन्दाखेरी एउटा थकाली धनी छ भने पनि आफूभन्दा गरिव ब्राम्हणलाई थकालीले नमस्कार गर्नुपर्थ्यो । हाम्रो विशिष्ट सामान्तवाद यस्तो हो। अन्तको सामन्तवाद त्यस्तो होइन, अन्त केवल धनीलाई नमस्कार गर्ने हो, जातलाई होइन । यहाँ गरिव नै छ भने पनि ठकुरी वावुसाहेव हुने हो । एउटा सुनार धनी नै छ भने पनि उसले ठकुरीलाई नमस्कार गर्नै पर्छ । सम्पत्तिले मात्रै काम चल्दैन । नेपाली समाजमा सामन्तवाद विशिष्ट प्रकारको वलशाली सांस्कृतिक पछ्यसहितको हो । अहिले पनि कयौ सांस्कृतिक क्षेत्रमा सामन्तवादको जवरजस्त प्रभाव छ तर सामन्तवादी संस्कृति नै अब मूल र निर्णायक प्रवृत्ति छ भन्न सकिंदैन। विवाह प्रथाको कुराबाट छलफल सुरु गरौं । यो विषय अलि रोचक पनि होला। नेपालमा विवाह सामन्तवादी प्रथामा दुई प्रकारको थियो। एउटा मागी विवाह ।
अर्को जनजाति समुदायमा मागी र लुटी विवाह । विवाहको यो मूल सामन्ती प्रवृत्तिबाहेक रोजी वा प्रेम विवाह पनि थियो तर त्यो बिद्रोही काम थियो, आम प्रवृत्ति थिएन। विस्तारै मान्छेहरु वनारस गएर पढ्न थाले अन्तराष्ट्रिय सम्पर्कमा हुन थाले, हिन्दी सिनेमाहरु हेर्न थाले, पढेको केटाले ‘ठिक छ विवाह आफ्नै जातमा गर्ने तर एकपटक हेर्न पाउनुपर्छ’ भन्न थाले । त्यो पुँजीवादको विवाह मामलामा ‘दस्तक’ थियो । संस्कृतिको क्षेत्रमा पुँजीवाद र सामन्तवादको आधारभुत अन्तर के हो भने, सामन्तवादमा संस्कृतिको छेत्रमा छनौटको स्वतंत्रता हुँदैन । पुँजीवादमा छनोटको स्वतन्त्रता हुन्छ । छनौटको स्वतत्त्रता भएको संस्कृति सामन्ती होइन,पुँजीवादी हो । अनि केटीले केटा पनि हेर्ने भन्ने कुरा आयो । हेरेर मात्र पुगेन एकछिन कुरा गरौं भन्ने हुन थाल्यो । त्यसपछि दाई, भाउजु ,फुपु, मामा लगायत ढोकामा पाले बसेर १०, १५ मिनेट कुरा गर्न दिन थालियो । हुँदाहुँदाहँ अहिले पुर्वदेखी पश्चिमसम्म तपाईलाई कुन विवाह ठिक लाग्छ भनी सोध्दा मन परेरै गरेको ठिक भन्ने ठाउँमा पुग्यो । यो पुँजीवाद हो , सामन्तवाद हैन । तपाईलाई पहिला कुनै कुरा छनौट गर्न सम्भव थिएन ।
तपाई रोदी गाउने परम्पराको हुनुहुन्थ्यो भने, रोदी नै गाउनुपर्थ्यो । तपाईले कुनै अर्को गीत गाउँछु भन्ने सम्भव थिएन । संस्कृतिको कुनै पनि चिजमा तपाईलाई स्वतन्त्रताको छनौट थिएन । तर अहिले संस्कृतिको स्वतन्त्रताको छनौट नयाँ ठाउँमा गयो । एउटै टेलिभिजनमा पाँच सेकेन्ड दृष्य मन परेन भने तपाई अर्को च्यानल फेरिहाल्नुहुनेछ, कसैले रोक्न सक्दैन। अव हामी छनौटको स्वतन्त्रताको व्यापकतामा पुगिसक्यौं । अब संस्कृति मूलत सामन्ती छ भन्न मिल्दैन । सामन्तवादी संस्कृतिका अवशेषहरु जवरजस्त छन् , कहाँ कहाँ छन् , भन्दाखेरी दलितहरुको उत्पिडनमा सामन्तवादी संस्कृति नै छ तर त्यो पनि क्रमश घट्दो छ । दोस्रो मधेसमा , हिन्दु महिला र मुस्लिम महिलामाथी साँस्कृतिक उत्पीडन गम्भीर छ ।
त्यसपछि सल्यान जिल्ला काटेर भेरी नदी काटेर गएपछि दार्चुलासम्मको पहाडी भेगमा दलित र महिलालाई पुरुष सरहको उच्च जाति सरहको मान्छेसम्म मान्दैनन् । त्यहाँ छ संस्कृतिमा सामन्तवाद। अव हामीले तथ्यमा आधारित कुरा गर्नुपर्छ । ३ लाख करिव हलिया प्रथामा मान्छे थिए, हलियाप्रथाबाट अन्यायपूर्ण ढंगले हलियालाई मुक्त गरियो, त्यहाँ हलियालाई पटक्कै न्याय भएन तर त्यसले सामन्तवादी बन्धन त कम्तीमा तोडिदियो । कमैया र कम्लरी प्रथाको प्रसंग पनि मूलतः यस्तै नै हो। त्यसकारण नेपालमा सामन्तवाद छ भन्ने कुरा तथ्य र तथ्याङ्कको आधारमा भन्नुपर्यो ।
मैले भनेको हो त्यसकारण ठिक भन्न मिल्दैन । पुष्टि हुने कुरा गर्नुपर्छ, आजको युवा युनिभसिर्टी जाने युवा हो । जुन वेला सामन्तवाद थियो, महेश रेग्मी सामन्तवादको अध्ययन गर्दैथिए, त्यतिबेला महेश रेग्मी नपढ्ने अनि आज जुन वेला सामन्तवाद छैन तब महेश रेग्मीले भन्दा बढी भूमिको कुरा गर्न खोजेर कुरा मिल्दैन। अब वर्ग विश्लेषणको कुरा गर्दाखेरी सामन्त कस्लाई भन्ने भन्दा आज पनि भन्न खोजिन्छ कि दस विघा हद राखौं अर्थात् दश विघाभन्दा माथी जग्गा भएकालाई सामन्त भनौं । यस्तो चेतनाको स्रोत के हो रु नेपालमा तिहुन खाने पहाडिया समुदाय छ । तिउन भनेको तरकारी पर्याप्त खान नपाउनेहरुको खाना रहेछ । मज्जाले तरकारी खान पाउने समुदायले तिउन खाँदैन । तरकारी पनि छैन, दाल पनि छै भने जे जे पाइन्छ नुन हालेर उमालेपछि त्यो तिउन भयो, त्यसमा मुछेर खाने, पहाडिया समुदाय छ नेपालमा ।
उसको जग्गा कम छ, भीरपाखा छ, त्यो तिउन खाने समुदाय जव तराईमा जाँदो रहेछ, त्यसले सबैलाई सामन्त देख्छ । यस्तो मनोविज्ञान तिउनबाट सुरु भएको छ । तराईमा हेर्दाखेरी त आँखाले नभ्याउने जमिन देख्छ त्यसले, अनि ओहो भन्छ ! दश विघा जमिन हुने मान्छेले, दुई सिजन गरेर धान र गहुँको राम्रो फलेको वेला आज सालाखाला पाँच लाख आम्दानी हुन्छ । घटेको वर्ष त्यो साढे तिन लाख, पौने चार लाख मात्र आम्दानी हुन्छ ।
पाँच लाख पैसाले त्यसको परिवारले के खान्छ र त्यसले अरु किसानलाई उत्पीडन गर्नेगरी के गर्न सक्छ रु पाँच लाख त वर्षमा आज मावि टिचरले कमाउँछ । मावि टिचर र सामन्तको हैसियत वरावर हुन्छ भने त्यो सामन्त कसरी हुन्छरु १० विघा जमिन भएका सामन्त हो भने त्यसले राज्य व्यवस्थामा प्रभाव कसरी जमाउँछ रु हैट१ यो त हास्यास्पद कुरा हो । पञ्चायतकालको मध्य समय विशेषत नगेन्द्रप्रसादको रिजाल प्रधानमन्त्री भएको काल २०३१/०३२ सालसम्म तराईमा केही हात्ती पाल्ने सामन्त थिए ।
तर आज त्यो स्थिति छैन। अहिले मधेस( तराईको आन्दोलन जुन छ, त्यसलाई जमिन्दारको आन्दोलन पनि कतिपयले भन्छन् । यो तिउन मानसिकताद्वारा गरिएको फन्टुस प्रशिक्षणको परिणाम हो । वास्तवमा मधेसमा जति पनि ठूला सामन्त थिए सबैभन्दा बढी जमिन कुम्लाएका त राजा महेन्द्रले नियुक्त गरेका पहाडका शाषकहरु थिए । मधेसी समुदायका सामन्त वास्तवमा पहाडिया पञ्चायती वर्चस्वमुनि कमजोर हँदै जाने क्रम त्यतिबेलै तीब्र भैसकेको थियो। पञ्चायती पहाडिया हिन्दू उच्च जातीय आर्यखस अहंकारवादमा आधारित समग्र राज्यको नीतिले मधेसी-थारू समुदायका सामन्तहरू स्थानीय रूपमा जतिसुकै हैकमसाली भए पनि राष्ट्रियस्तरमा पहाडिया सामन्तको हैकममुनि पारिसकिएको तथ्य नै सत्य हो। मैले यो बोलेको गलत लाग्छ भने तथ्याङ अध्ययन गर्न म सुझाव गर्न चाहन्छु, अरू केही भन्न जरूरी ठान्दिन।
यथार्थमा आज व्यक्ति सामन्त नै नभएको देस हो नेपाल। भूमिमा सामन्तवादी सम्बन्ध अब केवल दुई सन्दर्भमा बाँकी छ। एक, मन्दिर गुठीको नाममा रहेको जमिन र तिनका जोताहा मोहीबीच। दुई, पुस्तैनी रूपमा बन्न पुगेका जग्गा धनी जो सामन्त होइनन् र जोताहा मोही।
यस यथार्थलाई गंभीर रूपमा आत्मसात गर्दा आधारभूत रूपमा ‘जसको जोत उसको पोत’ भन्ने क्रान्तिकारी भूमिसुधारको परम्परागत नाराको औचित्य नेपालमा समात्त भैसक्यो, भूमिसुधारका अन्य पछ्यको मात्र सान्दर्भिकता बाँकी छ।
तसर्थ, नेपाली क्रान्तिको अबको रणनीति वा कार्यदिशा भनेको समाजवादी क्रान्ति स्वतः बन्न पुगेको छ, सामन्तवादका जति अवशेष बाँकी छन् तिनका विरुद्धको संघर्ष पनि समाजवादी क्रान्तिको रणनीतिअन्तरगत राखेर गरिनुपर्ने हुन्छ। अबको नेपाली दलित आन्दोलन पनि अब समाजवादी क्रान्तिको अंगको रूपमा विकाश हुन्छ र गरिनुपर्दछ।


दलित अनलाइन बाट 

No comments:

Post a Comment